दक्षिण एसियाकै ठूलो स्याउ फार्ममा राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकन  गरेकी  छन् । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ स्याउ फार्मको अवलोकन गरेकी हुन् ।

मनाङ ङिस्याङ गाउँपालिका–१ भ्रताङमा रहेको एग्रो मनाङ प्रालिको स्याउबारी दक्षिण एसियाकै ठूलो हो । ७३५ रोपनी क्षेत्रफलमा स्याउखेती गरिएको छ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ । 

राष्ट्रपति भण्डारीलाई एग्रो मनाङ प्रालिका अध्यक्ष समराज गुरुङ र प्रबन्ध निर्देशक युवराज गुरुङले स्याउ फार्मकाबारेमा जानकारी गराएका थिए । अवलोकनपछि राष्ट्रपति भण्डारीले नेपालको दुर्गम जिल्लामा उन्नत र व्यावसायिक कृषि खेती गरेर नेपालको अर्थतन्त्रमा थप सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरिन् ।

मनाङको हाइ अल्टिच्युडमा रहेको यस एग्रो मनाङ फार्ममा देशको पहिलो महिला राष्ट्रपतिलाई स्वागत गर्न पाउँदा सम्पूर्ण मनाङका बासिन्दाहरू खुसी भएको प्रतिनिधिसभा सांसद पाल्देन छोपाङ गुरुङले बताए । 



भ्रमणका क्रममा सांसद पाल्देन छोपाङ गुरुङ र मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङ जिल्ला र पालिकाको सुन्दरता र समस्याकाबारेमा धारणा राखेका थिए । उक्त फार्ममा गत आर्थिक वर्षमा ४५० टन स्याउ उत्पादन भएको थियो । 



  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १४:१०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया