logo-img

पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई अनर्गल प्रचार गरियो : कार्यकारी निर्देशक पौडेल

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् । 

बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा कार्यकारी उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा नेपालमा पनि मूल्य वृद्धि हुनु स्वभाविक भएको पाैडेलको भनाइ छ ।

नेपालमा तेलको मूल्य वृद्धि भएको विषयलाई अनर्गल प्रचार गरिरहेको बताउँदै उनले राजनीतिक दल र तिनका भातृ संगठनहरूले यसलाई राजनीतिक विषय बनाएको आरोप लगाए । अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर ७ रुपैयाँ तेलको मूल्य बढ्दा नेपालमा ३ रुपैयाँ मात्र बढाइएको बताउँदै कार्यकारी निर्देशक पौडेलले यसले जनतालाई मार नपार्ने बताए । 

पौडेलले विश्व राजनीतिमा उतारचढाव हुँदा तेलको मूल्य बढिरहेको भन्दै अबको दुई वर्ष तेलको मूल्य स्थिर हुन नसक्ने बताए । 

‘यो सरकारी संस्था हो, अस्वभाविक हुँदैन, सबै चिज पारदर्शी नै हुन्छ, अस्वभाविक भनेर हामीले सोच्नु नै सरकार, निगमप्रति पूर्वाग्रही ढंगले सोचिएको हो । यो १०० प्रतिशत स्वभाविक हो, यो स्वभाविक हुनलाई धेरै तथ्य, तथ्यांक भन्नै पर्दैन, बजारमा लिक्वीडिडी अभावको स्थिति हेर्नुहोस्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा डलरको गिरावट हेर्नुहोस्, अन्तर्राष्ट्रिय मुद्राको मौज्दातको, घाटको स्थिति हेर्नुहोस्, एक वर्षअघि कति मूल्य थियो आज कति छ हेर्नुहोस्, डबल मूल्य बढि सकेको छ, बैंकमा लिक्वीडिडीको अवस्था हेर्नुहोस्, यी सबै चिजले यसलाई अस्वभाविक कसरी भन्ने? यो विषय उपभोक्ता मारमा पर्ने भन्ने विषय नै होइन ।’

कार्यकारी निर्देशक पौडेलले आयल निगम गत वर्षको जनवरीदेखि नै घाटामा रहेको पनि सुनाए । उनले मूल्य बढेपछि अहिलेसम्म ३३ रुपैयाँसम्म मूल्य समायोजन भइसकेको बताउँदै पछिल्लो २ वर्षमा १७/१८ रुपैयाँ घटाएको बताए । 



पौडेलले निगमले अहिलेसम्म तथ्यांक नलुकाएको दाबी गर्दै निगमलाई तथानाम गाली गलौज गर्नु अर्थतन्त्र सिध्याउने काम मात्र भएको पनि बताए । 

‘निगम अघिल्लो वर्षको जनवरीदेखि घाटामा छ, हामीले मूल्य समायोजन नगरेको होइन, ३३ रुपैयाँ जतिको मूल्य समायोजन गरेका थियौँ, २ वर्षमा १७/१८ रुपैयाँ पैसा घटाएका छौँ,’ उनले भने, ‘अहिले स्याल अघिअघि सिकारी पछिपछि भइदियो, मूल्य अघिअघि बढ्छ, हाम्रो मूल्य समायोजन पछिपछि भयो, अझ एलिजीमा त हामीले समायोजन गर्नै हुँदैन, नोक्सानमै बेच्नुपर्छ भन्नेमै गइयो, अहिलेसम्म हामी सफल पनि थियौँ, जिम्मेवार मिडियामा आएका र निगमले भनेका कुरामा विश्वास गर्दिनुस् ।’  



पौडेलले अहिले निगम डिजेलमा प्रतिलिटर १५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र एलपी ग्याँसमा ७२० रुपैयाँ नोक्सानमा रहेको पनि बताए ।

उनले यस आर्थिक वर्षमा निगमले जति नै मूल्य बढाए पनि २० अर्ब नोक्सानमा जाने दाबी गरे । पौडेलले यस वर्षमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १४० रुपैयाँ पुग्ने बताउँदै यसमा अन्यथा मान्नु नहुने पनि बताए । 

  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १४:१४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया