महिला क्रिकेटरको तिहार विदेशमा
तस्बिर : क्यान

नेपालमा वैदिक सनातन हिन्दू धर्मावलम्बीको दोस्रो महान् चाड तिहार चलिरहेको छ । दसैंलगत्तै सुरु हुने अर्काे ठूलो चाडलाई तिहार तथा यम पञ्चक भनिन्छ । 

घर परिवारमा देउसीभैली खेल्दै र विभिन्न तरिकाले घर रँगाउँदै सुरु भएको छ- तिहार । तिहारमा आफ्ना दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाउने प्रचलन छ।  

दसैं तथा तिहार लगायत अन्य पर्वबाट नेपाली खेलकुद अछुतो रहने कुरै भएन । विभिन्न धर्म मान्दै आएका अझ भनौं हिन्दूधर्मका खेलाडीका लागि दसैं/तिहार सधैं विशेष रहन्छ । 

तर, यस्तै पर्वका समय खेलाडीलाई प्रतियोगिता पर्दा भने एक प्रकारको तनाव सिर्जना हुन्छ । चाडपर्व आइरहन्छ, राष्ट्रको लागि खेल्नु सौभाग्य भन्दै खेलाडी प्रतियोगितामा होमिन बाध्य हुन्छन् । 

हो, यस्तै भएको छ अहिले महिला टोलीलाई । आइसिसी वुमन्स टि-ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरिसकेकाे छ । त्यसअघि तिहारकै समय नेपाली टोलीको बंगलादेशमा एक साताको प्रशिक्षण समय तय भएको छ । नेपाली टोली त्यसका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरिसकेको छ । 

नेपाली टोली बंगलोदशमै रहँदा खेलाडीले तिहार मनाउने छन् । नेपालले यसै समयमा बंगलादेशको एक स्थानीय एकेडेमीसँग मैत्रीपूर्ण खेल खेल्ने तालिकासमेत तय भएको छ । 



नेपालले बंगलादेशमा ४ देखि १४ नोभेम्बरसम्म तयारी गर्नेछ । त्यसपछि नेपाली टोली सिधै युएई प्रस्थान गर्नेछ । 

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि-ट्वान्टी विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । 



नेपालले हङकङविरुद्ध खेल्दै अर्काे महिना प्रतियोगिताको सुरुवात गर्नेछ । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ राष्ट्रले सहभागिता  जनाउनेछन् । 

‘राउन्ड रोबिन लिग’ प्रणालीमा हुने प्रतियोगिताको शीर्ष टोलीले ‘ग्लोबल क्वालिफायर’मा स्थान बनाउनेछन् । ग्लोबल क्वालिफायर प्रतियोगिताबाट शीर्ष दुईले २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि स्थान पक्का गर्नेछन् । 

नेपाल हालसम्म ग्लोबल छनोटमा स्थान बनाउन सकेको छैन । 

प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान)ले कात्तिक १० गते रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा गरेको थियो ।

नेपालको खेल तालिका :

२२ नोभेम्बर– हङकङविरुद्ध नेपाल
२३ नोभेम्बर – भुटानविरुद्ध नेपाल
२५ नोभेम्बर  – कुवेतविरुद्ध नेपाल
२६ नोभेम्बर – मलेसियाविरुद्ध नेपाल 
२८ नोभेम्बर – युएईविरुद्ध नेपाल

नेपाली टोली :

रुविना क्षेत्री (कप्तान), डली भट्ट, सीता रानामगर, करुणा भण्डारी, इन्दु वर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सवनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगिता राई 

-न्युज कारखाना

  • प्रकाशित मिति : कात्तिक १९, २०७८ शुक्रबार ८:३५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया