[अन्तर्वार्ता] भारतले नजिते पनि टिम निकै मजबुत बनेको छः रवि शास्त्री

बिहान भएको निकैबेर भइसकेको थियो । रवि शास्त्रीलाई एकपछि अर्को मेसेज आइरहेको थियो । तीमध्ये कतिपयको त उनले राति अबेरसम्म पनि जवाफ दिइरहेका थिए । तर फोनमा भने उनी निकै सहज देखिएका थिए । पूरै आनन्दमा थिए उनी, साथै सन्तुष्ट पनि । भारतीय टोलीको प्रशिक्षकबाट बाहिरिएपछिको पहिलो अन्तर्वार्तामा शास्त्रीले नवभारत टाइम्सका बोरिया मजुमदारसँग खुलेर कुरा गरे । उनले अस्ट्रेलियामा दुई शृंखला जित, आइसिसीमा हार, आफ्नो उत्तराधिकारी राहुल द्रविडका साथै अन्य मुद्दामा पनि कुरा गरे ।

भारतीय क्रिकेट टोलीमा कोचका रुपमा आफ्नो कार्यकालसँग तपाईं सन्तुष्ट हुनुहुन्छ ?

निश्चित रुपमा । मैले सोचेको भन्दा राम्रो । हो, मेरो आलमारीमा अरु थप ट्रफी हुँदो हो त गज्जब हुन्थ्यो । तर म यहाँ चाँदीको ट्रफीका लागि भन्दा पनि स्टिलका निम्ति आएको थिएँ । मैले यो टिमलाई यस्तै बनाउन चाहन्थेँ । यो टिमको क्रिकेट खेल्ने सर्वश्रेष्ठ टिममा गन्ती हुनेछ ।

म केबल भारतीय क्रिकेट टिमको कुरा गरिरहेका छैन, क्रिकेट खेल्ने संसारकै टिमको सन्दर्भमा भनिरहेको छु । अर्थात्, यो टिम सर्वकालिक श्रेष्ठ टिममा गनिने छ । तपाईं कुनै पनि ढंगमा हेर्नुस्, यो निकै राम्रो क्रिकेट टिम हो । एक कोचका रुपमा योभन्दा सुन्दर अनुभव अर्को केही हुनै सक्दैन ।

टेस्ट क्रिकेटमा टिमको प्रदर्शनबारे खुबै चर्चा हुन्छ । अस्ट्रेलियामा दुई शृंखला जित र इङ्ल्यान्ड शृंखलामा टिमको प्रदर्शनबारे तपाईं के भन्नुहुन्छ ?

म कुनै पनि ट्रफीका लागि अस्ट्रेलिया शृंखलाको जितलाई परिवर्तन गर्न चाहन्न । कोच हुनुको नाताले म भन्न सक्छु– ती दुई शृंखला मेरा लागि सबथोक हुन् । कयौं अहम् खेलाडी घाइते थिए, तर पनि हाम्रो टिमले आफू केबाट बनेको हो भन्ने प्रमाणित गरेर देखाइदियो । आखिर भारतीय क्रिकेट के हो ? स्टिल...र म भन्न चाहन्छु– केटाहरुले मेरो अपेक्षाभन्दा राम्रो प्रदर्शन गरे ।



इङ्ल्यान्डमा हामीले पुनः शानदार क्रिकेट खेल्यौं । लडर््समा भएको जितको उदाहरण लिऊँ, हामीले प्रतिद्वन्द्वी टिमलाई ५० ओभरमा अलआउट गरेर देखाइदियौं । तपाईंले बुझिहाल्नुहुन्छ, म कुन सन्दर्भमा कुरा गरिरहेको छु ।

के एक टिमका हिसाबमा आइसिसी ट्रफी जित्न नसक्दा तपाईंलाई दुःख लाग्छ ?



निश्चित रुपमा । हो, म जित्न चाहन्थेँ । तर यो त टिम बनाउने कुरा हो, टेस्ट शृंखला जित्ने कुरा हो, एउटा बलियो टिम बनाउने कुरा हो । र, म त्यही कारण त्यहाँ गएको थिएँ । अब दुःखमनाउ किन गर्नु !

तपाईं आफ्ना साझेदार भरत अरुण (बलिङ कोच) र आर. श्रीधर (फिल्डिङ कोच)का बारेमा के भन्न चाहनुहुन्छ ?

भरत मेरा मित्र हुन्, भाइ पनि र अरु धेरैथोक पनि । उनले यो टिमका लागि जेजति गरे, त्यसको तुलना हुन सक्दैन । खेलाडीसँग उनको तालमेल मेरोभन्दा राम्रो छ । किनकि, उनी अन्डर–१९ देखि नै उनीहरुसँग छन्, जतिखेर नेसनल क्रिकेट एकेडेमीमा थिए । खेल, स्पोर्ट्स साइन्स र बायोमेट्रिक्सबारे उनको बुझाइ अब्बल छ । भारतीय टिमलाई भरतभन्दा स्तरीय गुरु अर्को कोही छैन ।

म संसारमा जति पनि कोचहरुसँग भेट्छु, श्रीधरजस्तो स्तरीय फिल्डिङ कोच अरुलाई देख्दिनँ । चाहे हामी ३६ मा अलआउट बनौं या ४५० रन बनाउँ, श्रीधरको उत्साह कम हुँदैन । जसरी उनले टिम तयार गरेका छन्, त्यो अतुलनीय छ । उनले जे गर्छन्, जहाँ जान्छन्, उनको भविष्य उज्ज्वल छ ।

विराट कोहलीले भारतको टी२० को टिम कप्तानी छाडे । तपाईंहरुबीच राम्रो सम्बन्ध थियो ?

विराट खेलको निकै राम्रा दूत हुन् । विगत पाँच वर्षमा टेस्ट क्रिकेटका लागि सबैभन्दा बढी आवाज उठाउने खेलाडी हुन् उनी । उनी एक शानदार ब्याट्म्यान र खेलाडी हुन् । उनीसँग यति लामो समय काम गर्नु र टिम तयार पार्नु गर्वको कुरा हो । म उनलाई सुन्दर भविष्यको शुभकामना दिन्छु ।

भावी कप्तान रोहित शर्मालाई तपाईं कसरी हेर्नुहुन्छ ?

रोहित एक शानदार कप्तान हुन् । हेर्नुस् त, उनले जति पनि टिमको कप्तानी सम्हालेका छन्, त्यसको प्रदर्शन कस्तो छ ? उनी महान् कप्तान साबित हुनेमा मलाई कुनै शंका छैन । सीमित ओभरको क्रिकेटमा उनी सर्वकालिक महान् ब्याट्सम्यानमध्ये एक हुन् । अहिले टेस्ट क्रिकेटमा पनि उनले आफ्नो रङ हासिल गरिसकेका छन् । रोहित शर्माले टेस्ट क्रिकेटमा सफलता हासिल गरेको हेर्ने मेरो लामो समयदेखिको आकांक्षा थियो । 

तपाईं एक स्तरीय टिम तयार गरेर बाहिरिँदै हुनुहुन्छ । टिमको जब मजबुत छ, यसले राहुल द्रविडलाई पर्याप्त मद्दत होला नि ?

म राहुललाई धेरै शुभकामना दिन्छु । उनी भारतका महान् ब्याट्सम्यानमध्येका एक हुन् । उनी एउटा यस्तो टिमको कमान सम्हाल्दै छन्, जुन युद्धका लागि तयार छ । उनलाई थाहा हुनेछ कि, उनीसँग केही शानदार खेलाडी छन् । मलाई विश्वास छ कि, उनले टिमको स्तरलाई अझै अगाडि लैजाने छन् र भारतीय क्रिकेटमा केही शानदार चिज हासिल गर्ने छन् । वास्तवमै उनीजस्ता उचाइका व्यक्तिबाटै यस्तो अपेक्षा गर्न सकिन्छ ।

अनि अब रवि शास्त्री के गर्छ– कमेन्ट्री या पुनः आइपिएल, तपाईंको योजना के छ ?

अहिले त कुनै योजना छैन । हातका पाँच औंलाजस्तै मेरासामू पनि पाँच फरकफरक मौका छन् । कमेन्ट्री त केबल एउटा हो । हेरौं, म कुन काममा लाग्ने छु ।
(नवभारत टाइम्सबाट)
 

  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १३:५४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया