logo-img

विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीबीच छलफल

१२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाबीच छलफल भएको छ । मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर शिक्षामन्त्री पौडेलले स्वास्थ्यमन्त्री खतिवडासँग छलफल गरेका हुन् ।

मन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीसँग आग्रह गरेका छन् । विद्यालय खुलेसकेका छन्,’ मन्त्री पौडेलले भने, ‘१८ वर्षमाथि उमेरसमूहका धेरैले खोप लगाइसकेका छन्, त्यसमुनिका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर तुरुन्त खोपको व्यवस्थापन हुनुपर्यो ।’

शिक्षामन्त्रीले बालबालिकालाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिएका थिए । ‘प्रत्येक विद्यालयमा पुगेर एकहप्ते कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरौँ । ‘शिक्षा मन्त्रालयले त्यसको समन्वय गर्छ, खोपको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गरिदिनुपर्यो ।’

स्वास्थ्यमन्त्री खतिवडाले १८ वर्षमुनिका बालबालिकाको लागि १ करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिए । ‘बालबालिकाको लागि १ करोड डोज खोप अमेरिकाबाट आउने भएको छ, मन्त्री खतिवडाले भने, ‘आउनेबित्तिकै विद्यार्थीेले खोप पाउँछन् ।’

मन्त्री खतिवडाले ३ करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको जानकारी पनि दिए । 
 
१२ वर्षभन्दा मुनिका बालबालिकालाई भने डब्लूएचओले कोरोनाविरुद्धको खोप लगाउन स्वीकृति दिएको छैन । 

१२ वर्षमाथिका विद्यार्थीका लागि १ लाख डोज खोप आएकाले लगाउने काम भइरहेको मन्त्री खतिवडाले बताए ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलका अनुसार कक्षा १२ सम्म ६७ लाख  ५१ हजार ४ सय ४९ जना विद्यार्थी छन् । जसमा ५ देखि ९ वर्ष उमेर समूहका ३१ लाख ९ हजार १ सय ७५, ९ देखिमाथि उमेरसमूहका ३६ लाख ४२ हजार २ सय ७४ जना छन् । 
 





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १८:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया