logo-img

शकुन्तलाको औँठी : नाटकभित्र अर्को नाटक

महाभारतका पात्र दुष्यन्तकी पत्नी शकुन्तलाको कथा लिएर कालिदासले ‘शाकुन्तलम्’ लेखे । अहिलेका चर्चित भारतीय लेखक सुरेन्द्र बर्माले कालिदासको नाटक शाकुन्तललाई पुनव्र्याख्या गर्दै लेखे, ‘शकुन्तलाकी अंगुठी’ । नाटकले निकै चर्चा कमायो । 

घुम्दैफिर्दै नाटक नेपाली रंगमञ्चमा आइपुगेको छ । 

रंगमञ्चबाहिर थिएटरकै प्रांगणमा केही मान्छे सेटको तयारीमा जुटेका छन् । शिल्पी थिएटरको रंगमञ्चमा कलाकारहरू नाटकको रिहर्सलमा व्यस्त छन् । निर्देशक सुरज मल्ल कलाकारलाई निर्देशन दिँदै छन् । उनी आफैँ पनि नाटक खेल्दै छन् । 



अनुप बराल नजिकै बसेर उनलाई नियालिरहेछन् । वेलावेलामा ‘यस्तो होइन, त्यस्तो गर’ भन्दै निर्देशन पनि गर्छन् । सुरज पनि उनीसँग सल्लाह मागिरहन्छन् ।

रंगमञ्चको देब्रे भागमा टेबल राखिएको छ । ‘टेबलमा चियाका गिलास एकमाथि अर्को राख्नु है’ भनिरहेछन्, कलाकारहरू एकअर्कालाई । रंगमञ्चअगाडि दर्शकको सिटमा बसेर कसले के गर्ने लेख्दै छन्, एक कलाकार । कोही सेटको फोटो खिच्दै छन् । 

कलाकारहरू अघि राखेको टेबल उठाएर अर्को दृश्यमा चाहिने सेटको निर्माणमा जुट्छन् । टेबललाई मिलाएर खाट बनाउँछन् । कलकारलाई आ–आफ्नो ठाउँमा ‘यसरी बस्ने’ भन्दै निर्देश गर्छन्, सुरज । 



शिल्पीमा भइरहेको नाटकको रिहर्सलभित्र अर्को नाटकको रिहर्सल चलिरहेछ । अर्थात्, नाटकमा अर्को नाटकको तयारी हुँदै छ ।

नाटकभित्रको नाटकको रिहर्सलमा सबै कलाकार उपस्थित छैनन् । अनुपस्थितिलाई पूरा गर्न अन्यले ती भूमिकामा अभिनय थाल्छन् ।



रिहर्सल सुरु हुन्छ । रिहर्सलभित्र अर्को रिहर्सल भइरहेको देखिन्छ । एक कलाकार अर्कोलाई भन्छिन्, ‘ह्या मेरो डायलग नै सकिएको थिएन ।’ उनीहरू नाटकको अभ्यासमा छन् । अभ्यासभित्रको अभ्यासमा अनुप समय–समयमा उनीहरूलाई सल्लाह दिइरहेका देखिन्छन् ।

प्रकाश बन्द हुँदा र खुल्दा कसले के गर्ने भन्ने सल्लाह भइरहेको देखिन्छ । दिया मास्के, जो नाटकमा कनक र नाटकभित्रको नाटकमा शकुन्लताको भूमिका निभाउँदै छिन्, नाटकको दृश्यलाई ‘यसरी गरौँ’ भनिरहेकी देखिन्छिन् । संगीतसँगै दृश्यको अन्त्य हुन्छ ।

अर्को दृश्यमा देखिन्छन्, कुमार र कनक, अर्थात् सुरज र दिया । कुमार कनकलाई कफी दिन्छन् । सामान्य संवाद चल्छ । कनक आफू शकुन्लताबारे सोचिरहेको बताउँछिन् । उसको सोझोपनको कुरा गर्छिन् । दृष्यन्त र शकुन्तलाको सम्बन्धबारे कुरा गर्छिन् । कुमार उनलाई ‘गडफादर’ पुस्तक दिँदै ‘पढेकी छौ ?’ भनी सोध्छन् । शकुन्तला र दृष्यन्तको सम्बन्धबारे उनीहरू आ–आफ्ना तर्क प्रस्तुत गर्छन् ।

संवादकै दौरान नाटकको रिहर्सलमा अप्ठ्यारो लागेको बताउँछिन्, कनक । कुमार कोठामै अभ्यास गर्ने प्रस्ताव गर्छन् । दुवै मिलेर अभ्यास थाल्छन् । कुमार र कनक आ–आफ्ना अभिनय र संवाद प्रस्तुत गर्न थाल्छन् । कुमार कनकको हातमा केही बाँधिदिन्छन् ।

संवादमा केही मिले/नमिलेको हेरिरहेका अनुप उनीहरूलाई ‘यसरी गर’ भन्दै निर्देशन दिन्छन् । फेरि अभ्यासमा जुट्छन्, सुरज र दिया ।

दृश्यमा कनक आफ्नो आँखामा केही परेको भन्छिन् । अनुमति लिएर कुमार उनको आँखामा फुक्छन् । कुमार कनकको आँखाको बयानमा बोल्छन् । उनको यौवनको बयान गर्छन् । प्रकाश बन्द हुनुअघिसम्म नाटकको अभ्यास हुन्छ । नाटकभित्रको नाटकको अभ्यासमा शकुन्तला बनेकी कनक कुमारको अँगालोमा बाँधिन्छिन् । प्रकाश मधुरो हुन्छ । पाश्र्वमा संगीत बज्न थाल्छ । प्रकाश पूर्ण बन्द हुन्छ ।

प्रकाश कति वेला बन्द गर्ने भन्ने सुरज र दिया नै निर्देश गर्छन् । 

नाटकभित्रको नाटकमा शकुन्तला गर्भवती हुन्छिन् । यता, शकुन्तलाको भूमिका निभाइरहेकी कनक पनि गर्भवती हुन्छिन् । कथाले मोड लिन्छ । दृश्य बदलिन्छ । संवादमा फरकपन आउँछ ।

‘शकुन्तलाको औँठी’ नाटकको रिहर्सलको एउटा दृश्य हो यो । सोखले नाटक गर्ने रंगकर्मीलाई भेला पारेर शास्त्रीय नाटक ‘अभिज्ञान शाकुन्तलम्’ माथि नाटक गर्ने तयारीमा रहेका ‘नेपथ्य समूह’का रंगकर्मीको कथा हो, नाटक ‘शकुन्तलाको औँठी’ । ‘शकुन्तलाको औँठी’ आफैँमा एउटा नाटक हो, जसभित्र अर्को नाटक भइरहेको हुन्छ । तर, नाटकभित्र भएको नाटकको अन्त्य नभई मूल नाटक टुंगिने निर्देशक सुरज बताउँछन् ।

रंगमञ्चमा लाग्ने ‘प्यासोनेट’ कलाकारको कथा बोकेको छ यो नाटकले । लेखक सेरेन्द्र बर्माले रंगकर्मीको रंगमञ्चको जीवन र रंगमञ्चबाहिरको जीवन नाटकमा दर्शाएका छन् । यो नाटकलाई नेपाली दर्शकमाझ ल्याउन उचित ठाने सुरजले ।

उनी आफैँ पनि रंगकर्ममा लागेको लामो समय भयो । उनी भन्छन्, ‘रंगकर्मीको रंगमञ्चको जीवनको बारेमा छ नाटक । रंगकर्मीको रंगमञ्च र रंगमञ्चबाहिरको व्यक्तिगत जीवनको कथा बोकेको छ यसले ।’

‘पहिलोपटक नाटक पढ्दा नै नाटकले छोयो । सन्तुष्ट भएँ,’ सुरज भन्छन्, ‘त्यसैले, नाटकलाई प्रस्तुत गर्ने सोच बनाएँ । नेपालीमा अनुवाद गरेँ । निर्देशन गर्नुअघि अनुपसँग सल्लाह गरेँ ।’ ‘शकुन्तलाको औँठी’ सुरजको पहिलो निर्देशन हो ।

नाटकमा १४ वटा दृश्य छन् । पूरा नाटक प्रस्तुत गर्न लगभग ३ घण्टा लाग्छ । त्यसैले, सुरजले केही दृश्य हटाएका छन् र केहीलाई ‘मर्ज’ गरेका छन् । केही पात्रको नाम नेपाली रंगकर्मीका नामबाट राखेका छन् । रंगमञ्चका मान्छेको परिचयलाई नाटकमा प्रयोग गरेको सुरज बताउँछन् ।

नाटक आउँदो मंसिर ७ गतेदेखि बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुँदै छ । नाटकमा उत्सव बुढाथोकीको संगीत संयोजन छ । दिया मास्के, सुरज मल्लसँगै नाटकमा ‘एक्टर्स स्टुडियो’का कलाकारहरूको अभिनय देख्न पाइनेछ ।

  • प्रकाशित मिति : मंसिर ३, २०७५ साेमबार २०:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया