कांग्रेस महाधिवेशन : देउवाविरुद्ध हुन सकेन इतर पक्षको मोर्चाबन्दी

मुलुकको ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसले १४ औं सभापति केही दिनपछि पाउँदै छ । महाधिवेशन भने आजदेखि सुरु भएको छ । 

निर्वाचन समितिका अनुसार  महाधिवेशनमा निर्वाचन भएर सभापति चयन हुन कम्तीमा पाँच दिन लाग्नेछ ।

हाल १४ औं सभापति हुन चाहनेहरू थुप्रै छन् । वर्तमान सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, केन्द्रीय सदस्य कल्याणकुमार गुरुङलगायत छन् । 

देउवानिकट नेता भीष्मराज आङदेम्बेले संस्थापन पक्षबाट देउवा सभापति पदका एक्ला उम्मेदवार भएको बताए । पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि आकाङ्क्षी थिए । तर, देउवा जसरी पनि फेरि सभापति हुन चाहेपछि उनी पछि हटेका छन् ।

यसरी संस्थापन पक्षबाट देउवा एक्ला उम्मेदवार बन्न निश्चित हुँदा इतर पक्ष तितरबितरको स्थितिमा छ । वरिष्ठ नेता पौडेलको जोड देउवालाई सभापति हुन रोक्न इतर पक्षबाट साझा उम्मेदवार तयार गर्नुमा केन्द्रित थियो । साझा उम्मेदवारी भए आफैं नभए शेखर र प्रकाशमानमध्ये एकलाई बनाउने उनको चाहना थियो । 

तर, न उनको पक्षमा सहमति जुट्यो न शेखर र प्रकाशमानकै नाममा । चाक्सीबारी तीन दिने छलफल साझा उम्मेदवार तयार गर्ने सवालमा परिणामविहीन भयो । इतर पक्षका जिल्ला सभापति, प्रदेश सभापतिदेखि केन्द्रीय सदस्यसम्मको राय, सल्लाह र सुझाव दिएका थिए ।



नेता प्रकाशमान एक्लै भए पनि सभापतिमा उठ्ने पक्षमा रहे । पटकपटक त्याग गरेको भन्दै यसपटक नगर्ने उनी बताउँदै आएका छन् । उनले सभापतिमा प्रचारप्रसार पनि गरिरहेका छन् ।

शेखर पनि चार वर्षदेखि सभापतिको तयारीमा लागेकाले पछि नहट्ने अडानमा अडिग रहे । ञएकपटक, यसैपटकझ सभापति भन्दै प्रचार थालेका छन् । 



बिहीबार नै बोहराटार पुगेर नेता रामचन्द्र पौडेललाई पनि सहयोग गर्न आग्रह गरिसकेका छन् । तर, पौडेलले अझै साझा उम्मेदवार तयार गर्न सकिने बताएका थिए । 

बिहिवार साँझदेखि भने महामन्त्री शशांकले पनि सभापतिका लागि अघि संकेत गरेका छन् । तर, के गर्छन् भन्ने टुंगो लागेको छैन । 

पौडेलले नेतृत्व गर्न नसकेको इतर पक्ष

१८ भदौमा वडा तहको अधिवेशन सुरु हुनुभन्दा अघिल्लो दिन पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर साझा उम्मेदवार तयार गर्ने भनेका नेता पौडेलले अन्तत: सकेनन् । नसकेपछि नेताहरू सभापतिमा देउवासँग एक्लाएक्लै भिड्ने भएका छन् । 

जबकि, जिल्ला र प्रदेश अधिवेशनदेखि देउवा झन् शक्तिशाली बनेका छन् । उनलाई सभापति हुनबाट रोक्न मुस्किल पर्ने देखिएको छ । 

यससँगै इतर पक्षबाट साझा उम्मेदवार तयार गर्न हालसम्म नसक्नुलाई पौडेलको अभिभावकत्वप्रति प्रश्न उठेको छ । अर्कोतिर, देउवासँग असन्तुष्टी जनाउँदै उपसभापति विमलेन्द्र निधि अलग भएका छन् । उनको उम्मेदवारी सभापति पदमा घोषणा भइसकेको छ ।

नेता कल्याणकुमार गुरुङ पनि सभापति लड्ने तरखरमा छन् । सभापति पदमा सबैभन्दा पहिले उनको उम्मेदवारी घोषणा भएको हो । सभापतिमा निर्वाचित हुने गरिको तयारी रहेको उनी बताउँछन् । उनको राजनीतिक प्रस्ताव बुधबार सार्वजनिक भएको छ । यी दुवै नेता संस्थापन र इतर पक्ष दुवैमा छैनन् । 

सिटौलाले निर्णय लिन बाँकी 

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कांग्रेसमा तेस्रो धारका नेता भनेर चिनिन्छ । उनी प्यानलसहित जान्छन् कि जाँदैनन् भन्ने टुंगो लाग्न बाँकी छ । यसअघि प्रदेश र जिल्ला तहको अधिवेशनमा भने उनको पक्ष र संस्थापन पक्षबीच गठबन्धन भएको थियो ।  

१३ औं महाधिवेशनमा र भने सिटौला सभापति पदमा निर्वाचन लडेका थिए । पहिलो चरणको निर्वाचनमा उनी तेस्रो भएका थिए  । दोस्रो चरणमा भने उनले देउवालाई समर्थन गरेका थिए । त्यसपछि देउवा सभापति भएका हुन् । यसपटक पनि उनको समर्थन देउवालाई हुने ठानिएको छ । 

  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार ९:१५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया