कांग्रेस महाधिवेशनमा ‘राजतन्त्र’लाई लिएर चर्काचर्कीः लिङ्देन भर्सेस ओली, प्रचण्ड र नेपाल

आज नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा ‘राजतन्त्र’ मुद्दालाई लिएर बिभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरुबीच चर्काचर्की पर्यो । 

कार्यक्रममा राजतन्त्र मुद्दालाई न कुनै छलफलको एजेण्डामा राखियो थियो न राख्ने तयारी नै । तर एकाएक राजतन्त्र मुद्दा प्रवेश गर्यो, नेताहरुबीच चर्काचर्की भयो । 

चर्काचर्की गर्ने नेतामा थिए राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । 

चर्काचर्की गर्दा एकातर्फ थिए लिङ्देन भने अर्कोतर्फ थिए नेपाल, प्रचण्ड र ओली । राजतन्त्रको पक्षमा उभिएका थिए लिङ्देन, राजतन्त्रको विरुद्धमा उभिएको थिए नेपाल, प्रचण्ड र ओली । बहस पूर्वपञ्चहरुको पार्टी भर्सेस कम्युनिस्ट नेताबीच जस्तो भएको थियो । 

बहसमा उत्रेका तीन जना कम्युनिस्ट नेतामा दुई जना प्रचण्ड र ओली दुई–दुई पटक  र नेपाल एक पटक देशको प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । 

कार्यक्रममा राजतन्त्रको मुद्दा छिराएका थिए राप्रपा अध्यक्ष लिङ्देनले । उनले उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा वर्तमान राजनीतिप्रति जनता निराश बनेको जनाउँदै राजतन्त्र पुनःस्थापना गर्नुपर्ने धारणा राखेका थिए । 



‘अब हामी हाम्रा कमी कमजोरी सुधारेर अघि बढ्नुपर्छ । राजतन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सांसद मन्त्री हुन नपाउने नयाँ व्यवस्था गरेर अघि बढौं,’ उनले प्रस्ताव गरेका थिए । 

देशमा अहिले कुनै निकायले सहि ढंगले काम नगरेको टिप्पणी समेत उनले गरेका थिए । 



‘देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिगबाट बाहिर गएको देखिन्छ । सरकार सरकार जस्तो छैन । संसद संसद जस्तो छैन । अदालत अदालत जस्तो छैन । यो सबै ठिक लगाउने कस्ले त ? त्यो गर्ने राजनीतिले हो । तर राजनीति पनि ठिक छैन । राजनीति ठिक लगाउने कस्ले त ? राजनीति ठिक लगाउने नेताले हो । तर आज नेताहरुले पूर्ण रुपमा विश्वास गुमाएको अवस्था छ,’ लिङ्देनले भने । 

उनले सम्बोधनको क्रममा राजनीति दल र वर्तमान व्यवस्थाप्रति जनताको वितृष्णा बढेको जनाउँदै उदाहरण दिए, ‘नेता आएको देखे भने जनताले ‘उ चोर आयो’ भन्छन् ।’ 

कांग्रेसले महाधिवेशनलाई नेतृत्व चयन गर्ने अवसरका रुपमा मात्र प्रयोग नगरेर नेताको बिग्रेको छवि सुधार्न पनि प्रयोग गर्न उनले आग्रह गरेका थिए । 

त्यसपछि सम्बोधन गर्न मञ्चमा आएका थिए लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव । उनीहरुले लिङ्देनको भनाईको कुनै प्रतिवाद गरेनन् । 

ठाकुर र यादवपछि सम्बोधन गर्न बोलाइएको थियो नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाललाई । उनी सुरुमै आक्रोशित रुपमा प्रस्तुत भए । उनले लिङ्देनलाई चेतावनीको शैलीमा शिर ठाडो नगर्न भने । 

‘नेपाली राजनीतिका प्रतिगामी तत्वहरूलाई भन्छु– फेरी शिर उठाउने दुस्साहस नगर्नुहोस् । नदीको प्रवाह अघि बढिसकेको छ । पछाडि फर्कँदैन। त्यसैले नेपालमा राजतन्त्रको कुनै भविष्य छैन,’ अध्यक्ष नेपालले लिङ्देनलाई भने । 

राजतन्त्रको मुद्दा उठाउनेहरू विरुद्ध जनता मेचीदेखि महाकालीसम्म ज्वालामुखी झै विस्फोट हुने दाबी उनले गरे । नेपालले आक्रोशित मुद्रामा भने, ‘राम्रो के हुन्छ भने राजाले पनि एउटा नया पार्टी खोले हुन्छ । होइन भने एउटा व्यापार खोलेर बसे हुन्छ ।’ 

१६ वर्षअघि राजतन्त्र कि गणतन्त्र भन्ने एजेन्डा भए पनि गणतन्त्रको एजेन्डामा देश अगाडि बढिसकेको तर्क उनको थियो । 

नेपालपछि सम्बोधन गर्न आएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड पनि लिङ्देन माथि खनिए । उनले राजनीति दल र तीनका नेताहरुलाई बदनाम गराएर निरंकुशता निम्त्याउन खोजिएको आरोप लगाए । 

‘अघि एक जना नेता (राजेन्द्र लिङ्देन)ले भन्नुभयो– नेता आयो भने चोर आयो भन्छन्’, अध्यक्ष प्रचण्डले भने, राजनीतिक दल र तिनका नेतालाई बदनाम गराएर निरंकुश निम्त्याउन खोजिँदै छ ।’ 

त्यसपछि पालो आएको थियो नेकपा एमाले अध्यक्ष ओलीको । ओलीले त लिङ्देनलाई ‘बाच्छो’ को संज्ञा दिए । 

‘नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ– यस्ता कुरा बोकेर हिंड्ने । भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरुलाई । भर्खर भर्खरको बाच्छो हिड्न जान्दैन अलि बढि कुद्छ । नयाँ नयाँ सभापति भएको अलिकति रापताप होला,’ अध्यक्ष ओलीले लिङ्देनलाई भने । 

  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १७:४९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया