निर्मला कुर्मी प्रकरण : धर्ना बसेकाहरू छेउ भएर कुद्छन् मन्त्री, न्याय माग्दा सुन्दैन सिंहदरबार

भिआइपी तथा भिभिआइपीको ओहोरदोहोर गर्ने क्षेत्र हो– माइतीघर । नेतादेखि मन्त्री दिनहुँ त्यही बाटोबाट हुइकन्छन् । उनीहरूलाई सडक जाम होस् या सडकमा कसैको नाराबाजी होस् त्योसँग कुनै मतलब हुँदैन । 

साइरन गराउनेबित्तिकै सुरक्षाकर्मीले भिड हटाइहाल्छ र सुरक्षा डफ्फासहित उनीहरू हुइकिहाल्छन् । त्यही माइतीघरमा १९ दिनदेखि एक समूह धर्नामा बसेको छ । बाँकेको नेपालगञ्जबाट आएका अधिकारकर्मी रुबी खानसहित १६ जनाको समूह माइतीघरमा धर्नामा बसेको हो । 

उनीहरूको माग न सरकारले समाधान गर्न चासो देखाएको नत उनीहरूले कसैसँग केही कुराको बार्गेनिङ गरेका छन् । उनीहरू त केवल एक महिलाको न्यायका लागि त्यहाँ जम्मा भएर खबरदारी गरिरहेका छन् । तर, उनीहरूको पुकार न राज्यले सुनेको छ नत सामाजिक अभियान्ता भन्नेहरूले । 

मंसिर ९ गतेदेखि अपहरणपछि बेपत्ता पारिएकी नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि उनीहरू माइतीघर मण्डलामा धर्नामा बसिरहेका हुन् । निर्मलाको अवस्था सार्वजनिक गर्दै उनको अपहरण गरी बेपत्ता पार्नेमाथि कारबाही गर्नुको साटो सरकार भने मुख दर्शक बनेर बसिरहेको छ । 

यसमा अझ रोचक कुरा के छ भने जो माथि आरोप लागेको छ त्यही व्यक्ति गृहमन्त्री, प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग हिमचिम बढाइरहेका छन् । गृहमन्त्री बालकृष्ण खाँणसँग कुरा गर्न खोज्दा उनी ‘अगुल्टोले हानेको कुकुर बिजुली देखेर तर्सिन्छ’ भनेको जस्तै तर्किन्छन् । 

निर्मलाको न्यायका लागि भन्दै उनीहरू दोस्रोपटक माइतीघर मण्डलामा आन्दोलन गरिरहेका हुन् । यसअघि पनि उनीहरू २० दिन हिँडेर काठमाडौं आएर माइतीघर मण्डलामै १२ दिन आमरण अनसनमा बसेका थिए । अनसनमा बसेपछि सरकारले उनीहरूको माग सम्बोधन गर्ने आश्वासन दियो । गृह मन्त्रालयले उक्त घटनाबारे छानविन गर्न सह–सचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले बाँके पुगेर छानविन गर्दै एक प्रतिवेदन गृहमन्त्री खाँणलाई बुझायो । 



छानविनको क्रममा निर्मला वेपत्ता भएको घटनाको पुनः छानविन गर्नुपर्ने र घटनामा मुछिएका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने सुझाव दियो । यति मात्र नभएर समितिले बाँकेका प्रहरी प्रमुखले छानविनमा कमजोरी देखाएको भन्दै उनीमाथि पनि विभागीय कारवाही गर्न सरकारलाई सुझाव दियो । छानविन समितिले प्रतिवेदनमा थप के कुरा उल्लेख गरेको थियो त्यो गोप्य राखिएको छ । 

छानविन समितिको प्रतिवेदनपछि आरोपितहरूमध्ये आठजनाले प्रहरी समक्ष नै आत्मसमर्पण गरे । तीमध्ये एकजना वृद्ध भएकाले तारेखमा छोडिए । बाँकी सातजनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान अगाडि बढायो । तर, उनीहरू सबैजना पनि तारेखमा रिहा भइसकेका छन । प्रहरीका अनुसार घटनामा उनीहरूको संलग्नता रहेको पुष्टि हुने प्रमाण फेला नपरेको भन्दै उनीहरू तारेखमा रिहा भएका हुन् । 



न नेता आउँछन्, न सरकारी अधिकारी 

माइतीघर मण्डलामा धर्ना दिन थालेको १९ दिन बितिसकेको छ । चिसो मौसममा पनि उनीहरू निर्मलाको न्यायका लागि धर्नामा बसिरहेका हुन् । उनीहरू धर्ना बसेको स्थलबाट केन्द्र बनाएर नेतादेखि सरकारी अधिकारीसम्म आवतजावत गर्छन् । आन्दोलनको अगुवाइ गर्दै आएकी अधिकारकर्मी रुबी खान अहिलेसम्म धर्नामा बस्दा पनि सरकारी अधिकारीदेखि नेताहरूसम्मले बेवास्ता गर्दा दुःख लागेको बताउँछिन् । उनीहरूले त बेवास्ता गरे नै आफूलाई मानवअधिकारवादी भन्नेहरूले समेत चासो नदिँदा झन् निरास भएको रबि गुनासो गर्छिन् ।

उनीहरूको धर्नास्थलभन्दा पाँच मिनेटको दूरीमा छ, राष्ट्रिय महिला आयोग । महिलाहरूकै हकहितका लागि वकालत गर्ने सरकारी निकाय हो महिला आयोग । तर, नजिकै एकजना महिलाको न्यायका लागि धर्नामा बसिरहेको भने आयोग देख्दैन र उसको नजर त्यहाँसम्म पर्दैन । 

यतिसम्म कि राष्ट्रिय मानवअधिकार आयोग समेत मौन जस्तै बसेको छ । ‘हामीले प्रधानमन्त्री, गृहमन्त्रीले त बेवास्ता गरे । मानवअधिकार र महिलाको अधिकारको क्षेत्रमा काम गर्ने निकायले समेत हेरेनन्,’ रुबीले दुःखेसो गरिन् ।

गृह मन्त्रालय पनि यो विषयमा मौन जस्तै बसेको छ । धर्नामा बसेका अधिकारकर्मीको कुरा आउँदा गृहका अधिकारी तर्किन्छन् । या कुनै बहाना बनाएर टार्न खोज्छन्, यात थप गृहकार्य गरिरहेका छौं भन्दै पन्छिन खोज्छन् । 

भृकुटीमण्डपको महाधिवेशन नियाल्दा 

निर्मलाको न्यायका लागि धर्नामा बसिरहँदा उनीहरूले नजिकै रहेको भृकुटीमण्डपमा दुई राजनीतिक दलको महाधिवेशन देखिसके । उनीहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कांग्रेसको महाधिवेशन त्यहि माइतीघर मण्डलाबाट नियालिरहन्छन् । 

राप्रपा महामन्त्रीमा विजयी भएका धवल शम्शेर राणा निर्मलाकै नगरपालिकाका प्रमुख हुन् । उनले जिल्ला हुँदा पनि उक्त घटनाको बेवस्था गरे, काठमाडौं आएर पनि महाधिवेशनस्थलबाट माइतीघर मण्डलातर्फ समेत उनले टाउको फर्काउन सकेनन् । 

‘आफ्नै जिल्लाका नेता छन् भनेर के आश गर्नु । यहाँ त सबै नेताहरू मिलेका छन् । नेताहरूले पनि गलतका पछि लाग्नुहुन्न भनेर कहिले बुझ्छन् होला?,’ रुबीले प्रश्न गरिन् । 

अहिले चलिरहेको कांग्रेस महाधिवेशनमा जिल्लाबाट आएका कोही नेताहरूसमेत धर्नास्थल पुग्न सकेका छैनन् । नेताहरू उनीहरूलाई भेट्न कसरी आउन् । निर्मलाको जग्गा हडपेर उनलाई बेपत्ता पार्ने आरोप लागेका मुख्य आरोपी बादशाह कुर्मी कांग्रेसकै नेता हुन् । उनी त अहिले यतिसम्म भन्छन्, ‘कांग्रेसमा देउवा दाई हुँदासम्म मलाई कसैले केही गर्न सक्दैन ।’ 

भूमिसुधार मन्त्रालयमा पठाएको पत्र गायब 

गृह मन्त्रालयले भूमिसुधार मन्त्रालयमा एक पत्र पठाएको थियो । तर, त्यो पत्र अहिलेसम्म भूमिसुधार मन्त्रालयमा पुगेको छैन । निर्मलाको जग्गा हिनामिना भएको विषयमा छानविन गर्नका लागि गृहले भूमिसुधार मन्त्रालयलाई पत्र पठाएको थियो । तर, त्यो पत्र अहिलेसम्म पनि आफूहरू कहाँ नपुगेको भूमिसुधार मन्त्रालयका अधिकारीहरू बताउँछन् । 

गृह मन्त्रालयले पठाएको पत्रमाथि कारबाही कहाँसम्म पुग्यो भन्ने जानकारी लिन अधिकारकर्मी भूमिसुधारमन्त्रीलाई भेट्न पुगेका थिए । तर, मन्त्रीले अहिलेसम्म आफूले पत्र नपाएको बताए । भूमिसुधारबाट पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको रुबीको भनाइ छ । ‘गृह मन्त्रालयबाट पठाएको पत्र नजिकै रहेको भूमिसुधार मन्त्रालयमा आजसम्म पुन नपुग्नु भनेको बिडम्बनाको कुरा हो,’ उनले भनिन् । 

स्थानीय प्रहरीदेखि मन्त्रालयसम्म यो घटनामा छानविन गर्न नचाहिरहेको भन्दै उनले भनिन्, ‘यहि कुराले पुष्टि भइसकेको छ । उनीहरू त जसरी पनि हुन्छ समय लम्ब्याउँदै लैजाने मनसायमा छन् । तर, यतिकै हार मान्नेवाला छैनौं । निर्मलालाई न्याय दिलाएरै छोड्छौं ।’

नयाँ सिडिओको पनि उस्तै पारा  

उक्त घटनालाई संवेदनशिल मानेर छानविन नगरेको भन्दै गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारीको सरुवा ग¥यो । गृहमन्त्री खाँण्ले त्यहाँ नयाँ प्रमुख जिल्ला अधिकारीलाई पठाए । बाँके पठाउँदा उनले मुख्य गरेर दुई कार्यभार सुम्पेका थिए । 

गृहमन्त्री खाँणले निर्मला कुर्मी र नन्कुन्नी धोबीको घटनाबारे सत्यतथ्य छानविन गर्ने कार्यभार उनलाई सुम्पिएका थिए । त्यही बेला गृह मन्त्रालयमा आन्दोलनरत अधिकारकर्मीलाई चिनाउँदै यो विषयमा गम्भीर भएर लाग्नुपर्ने गृहमन्त्रीको निर्देशन थियो । त्यही कार्यादेश बोकेर बाँके पुगेका प्रजिअ सूर्यबहादुर खत्री अहिले भने यो विषयमा चासो नै दिँदैनन् । 

‘कार्यादेश पाएर बाँके पुग्नुभएका सिडिओ साप त उल्टै घटनाका मुख्य आरोपीसँग नै हिमचिम बढाइरहेको देखियो,’ रुबीले भनिन् । 

निर्णय नै गायब  

वेपत्ता भएपछि निर्मलाले भारत गएर दोस्रो विवाह गरिन् भन्ने हल्ला फैलाइयो । तर, जिल्ला प्रशासन कार्यालयले तत्कालिन समयमा गरेको छानविनपछि उनले दोस्रो विवाह गरेको प्रमाण देखिएन । त्यसपछि तत्कालिन प्रमुख जिल्ला अधिकारीले निर्मलाले दोस्रो विवाह नगरेको निर्णय नै गरे । 

 
अहिले फेरि उनले भारतमा दोस्रो विवाह गरेको र कालगतीले उतै मृत्यु भएको भन्ने नक्कली कागजात सार्वजनिक भइरहेको छ । ‘नक्कली कागजात सार्वजनिक भएपछि हामीले तत्कालिन सिडिओले गर्नुभएको निर्णय मागेका थियौं । तर, फाइल नै हरायो भन्दै अहिले दिन मानिरहेका छैनन्,’ रुबीले भनिन् । 
प्रमुख जिल्ला अधिकारी खत्रीले भने आफ्नो कार्यकालमा यस्तो निर्णय नभएको र आफूले समेत उक्त फाइल फेला नपारेको बताए ।

दोस्रो जाहेरी भएन दर्ता 

राष्ट्रिय महिला अधिकार मञ्च बाँकेको तर्फबाट मंसिर पहिलो साता निर्मलाको अपहरण र उनको सम्पत्ति छानविनको माग गर्दै प्रहरीको दोस्रो जाहेरी दिइएको थियो । हुलाकमार्फत दिइएको उक्त जाहेरी अहिलेसम्म पनि दर्ता नभएको रुबीको भनाइ छ । 

‘कार्यालयमा सिधै गएर जाहेरी दर्ता गर्ने त कुरै भएन, किनभने यसअघि पनि १५/२० वटा जाहेरी त च्यातिएर/फालिए/गायब पारियो । त्यसपछि हामीले हुलाकमार्फत दिएका थियौं । त्यो पनि दर्ता नै भएको छैन्,’ रुबीले भनिन् । 

‘आन्दोलन यत्तिकै रोकिँदैन’ 

धर्ना दिइरहेको समूहलाई आन्दोलन रोक्न तथा निमर्लाको न्यायका लागि उठेको आवाज दबाउन थुप्रै चुनौती तथा धम्की आयो । तर पनि त्यस्ता धम्की तथा चुनौतीसँग डराउने वा पछि नहट्ने सो समूहले जनाएको छ ।

‘यस्ता धम्की त कति आउँछन्, त्योसँग डरायौँ भने भोलि हजारौं निर्मलाको यस्तै हालत हुनेछ । जसरी भएपनि निर्मलालाई न्याय दिलाएर छोड्छौँ,’ रुबीले भनिन् । गृह मन्त्रालयले भने प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहेको छ । 

प्रतिवेदन सार्वजनिक गरेको खण्डमा आरोपितहरू थप सजग भएर प्रमाण नष्ट गर्ने वा लुकाउने खेलमा लाग्नसक्ने गृह मन्त्रालयका अधिकारीको तर्क छ । मन्त्रालयका अधिकारीहरूसँगको भेटमा अधिकारकर्मीले प्रतिवेदन सार्वजनिक गर्ने विषयमा जिज्ञासा राखेका थिए । तर, मन्त्रालयका अधिकारीले प्रतिवेदन सार्वजनिक गरेमा आरोपितहरू सजक हुने र प्रमाण नष्ट गर्नेतिर लाग्ने तर्क गरेको रुबीको भनाइ छ । 

गृह प्रवक्ता प्रदीपकुमार कोइरालाले उक्त घटनामा छानविन भइरहेको र प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनका लागि गृहकार्य अघि बढेको बताए ।  

न्याय माग्न ५०० किलोमिटर हिँडेर काठमाडौंमा

दिदीको न्यायका लागि संघर्षरत भाइ भन्छन्– प्रहरीले मृत्युलाई मजाक बनायो

जसको ५० करोडभन्दा बढीको सम्पत्ति हडप्न अपहरणपछि हत्या गरियो

निर्मला र नन्कुन्नीलाई न्याय दिन राज्यले गर्याे आनाकानी, पीडित न्याय माग्दै फेरि माइतीघरको चिसो छिँडीमा

  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ८:२९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया