नेपाललाई सुन्दर र जनतालाई सुखी बनाउन चाहन्छौँ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा नेपालले देशलाई सबै खालका अन्याय, अत्याचार र शोषण, दमनबाट मुक्ति दिलाउन चाहेको बताएका हुन् । उनले देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरू आफूसँग रहेको समेत बताए ।

नेपालले यो देशलाई पिछडिएको अवस्थाबाट समुन्नत बनाउने पर्याप्त सम्भावना रहेको भन्दै देशमा नै नागरिकलाई खानका लागि चाहिने खाद्यान्नको आवश्यक परिपूर्ति पूरा गर्न सकिने बताए । उनले नेपालमा रहेको अर्थतन्त्रका क्षेत्रहरूमध्ये कृषि अत्याधिक महत्वपूर्ण भएकोले कृषिलाई सबैभन्दा बढी प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताए ।

‘हामी हाम्रो देश नेपाललाई गरिबी, अभाव र बेरोजगारीबाट मुक्त गराउन चाहन्छौँ । नेपाललाई शोषण, दमन, उत्पीडनबाट मुक्त गर्न चाहन्छौँ । देशलाई सबै खालका असहमानताहरूबाट, अन्याय, अत्याचार र थिचोमिचोबाट मुक्त गर्न चाहन्छौँ,’ उनले भने, ‘हामी हाम्रो देश नेपाललाई सुन्दर बनाउन चाहन्छौँ । नेपाली जनतालाई सुखी बनाउन चाहन्छौँ । हामी प्रत्येक नेपालीहरूको अनुहारमा उज्यालोपन देख्न चाहन्छौँ । मधुर मुस्कान देख्न चाहन्छौँ । प्रशन्न हृदयी भएको देख्न चाहन्छौँ । हामी प्राकृतिक सम्पदामा धनी देश हौँ,कृषि, पर्यावरण, वनजंगलको क्षेत्रमा धनी देश हौँ ।’

नेपालले कृषिमा लाग्दा इज्जत नघट्ने भन्दै सरकारले कृषिलाई बजारसँग जोड्न भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए । उनले सरकारले गुणस्तरलाई हेरेर छिटो र छरितो विज्ञान प्रविधिलाई कृषिमा जोड्नुपर्ने बताए ।

नेपालले नेपालमा पर्यटन, जलविद्युत् र कलकारखाना खोल्न बलियो सम्भावना रहेको तर यसमा गहिरो अध्ययन अनुसन्धान आवश्यक रहेको बताए । उनले प्रविधिको प्रयोगसँगै वातावरणलाई पनि त्यत्तिकै महत्व दिन आवश्यक रहेको बताए ।



 ‘कृषि क्षेत्रमा लाग्ने कुराले इज्जत घट्ने होइन, बढ्छ । यसले कृषि उद्योगको रूपमा अघि बढाउँछ । यी सबै उत्पादनलाई बजारसँग जोड्नका लागि बाटाघाटाको आवश्यक छ । भौतिक पूर्वाधारको विकासमा राज्यले दिनुपर्ने ध्यान । क्वालिटीको काम, छिटो छरितो काम । कम खर्चमा धेरै गर्न सकिने कामहरु होउन् । त्यसपछि मानिसहरुको शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्छ,’ नेपालले भने, ‘नेपालमा पर्यटन विकासको विशाल सम्भावना छ । जलविद्युत विकासको विशाल सम्भावना छ । उद्योगधन्दा, कलकारखानाहरू खोल्न सकिन्छ । यी सबै चिजको निम्ति हामीले गहिरो अध्ययन गर्नुपर्दछ । अनुसन्धान, खोज गर्ने र आधुनिक विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्छ ।’  



  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १४:२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया