सुदूरपश्चिममा ४५ प्रतिशत नागरिकले लगाए कोरोना खोप
फाइल तस्वीर

सुदूरपश्चिम प्रदेशका ४५ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । प्रदेश सरकारले २० लाख नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन योग्य नागरिकको सूचीमा राखेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ९ लाख ६ हजार १ सय ७४ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने ७ लाख ५१ हजार ८ सय ११ दोस्रो मात्रा खोप लगाएको हो ।

‘पहिलो र दोस्रो गरी कुल १६ लाख ५७ हजार ९ सय ८५ मात्रा खोप पाएका छन्,’ निर्देशनालयका तथ्यांक सहायक डीएन गिरीले भने, ‘यस प्रदेशमा १९ लाख ४८ हजार ३ सय ८८ लाई खोप लगाउने लक्ष्य छ ।’ भारतबाट स्वदेश फर्किनेलाई सीमामै खोप लगाइँदै आएको गिरीले बताए ।

निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा धेरै दार्चुलाका बासिन्दाले कोभिड विरुद्धको खोप लगाएका छन् । दार्चुलामा पहिलो मात्रा ७१ प्रतिशत र दोस्रो मात्रा ६४ प्रतिशतले पाएका छन् । त्यस्तै, कञ्चनपुरका ५५ प्रतिशतले पहिलो मात्रा र कैलालीका ४५ प्रतिशतले खोप पाएका छन् ।

३ लाख बढी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने लक्ष्य

सुदूरपश्चिममा बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । बालबालिका कोरोना संक्रमणको जोखिममा रहेको भन्दै १२ वर्षदेखि १७ वर्ष मुनिका बालबालिकालाई मोडर्ना खोप अभियान चलिरहेको हो । विद्यालयलाई नै खोप केन्द्र मानेर खोप अभियान सञ्चालन भइरहेको छ ।

सुदूरपश्चिममा ३ लाख २७ हजार ४ सय ८१ लक्षित बालबालिका रहेको प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । जसमध्ये कैलाली र डडेल्धुराबाहेक ७ जिल्लाका २ लाख ९ सय ९७ बालबालिकालाई मात्रै अहिले मोडर्ना खोप लगाइँदै छ । कैलालीका १ लाख ८ हजार ४८५ र डडेल्धुराका १७ हजार ९ सय ९९ बालबालिकालाई भने फाइजर खोप लगाइने सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।



उनका अनुसार ७ जिल्लाका लागि २ लाख ११ हजार ३० डोज खोप उपलब्ध छ । उनले अनुमानित तथ्यांकका आधारमा खोप आएकाले अभाव भए थप खोप ल्याइने बताए । ‘अनुमानकै आधारमा हामीलाई खोप प्राप्त भएको छ । अझ कम भए थप खोप ल्याइने छ’ प्रवक्ता कार्कीले भने ।

इस्टमेटभन्दा ५ हजार खोप कम प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर वीरेन्द्र भट्टले बताए ।  ‘हामीलाई तथ्यांकअनुसार खोप प्राप्त भएको छैन । इस्टमेटभन्दा ५ हजार कम खोप प्राप्त भएको छ । त्यसैले कमलाई नै खोप लगाइन्छ’ उनले भने । 



कुन जिल्लामा कति बालबालिकालाई लगाइने लक्ष्य ?

प्रदेशमा कूल ३ लाख २७ हजार ४८१ बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने लक्ष्य दिइएको छ । कञ्चनपुरमा ६० हजार ३३५, डोटीमा २४ हजार ७३, बैतडीमा ३० हजार १३५ दार्चुलामा १४ हजार ८३८, बाजुरा १६ हजार ४२, बझाङमा २२ हजार ८२८, र अछाममा ३२ हजार ६९६ बालबालिका रहेका छन् ।

उनीहरुलाई मोडर्ना खोप लगाइँदै छ । यस्तै कैलालीमा १ लाख ८ हजार ४८५ र डडेल्धुरामा १७ हजार ९९९ बालबालिका छन् । उनीहरुलाई फाइजर खोप लगाइने जनाएको छ । डडेल्धुरामा भने यही पुस १२ गतेबाट खोप लगाइने बताइएको छ । कैलालीमा खोप लगाउने भन्नेबारे मिति नतोकिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार २०:०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया