उदयपुर सिमेण्ट : सुशासनलाई प्राथमिकता दिएर जीर्ण उद्योग उकास्दै महाप्रबन्धक न्यौपाने

नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित उदयपुर सिमेण्ट उद्योगको महाप्रबन्धकमा गोपीकृष्ण न्यौपाने नियुक्त भएको ११ महिना मात्रै हुँदै छ । बन्दप्रायः रहेको राष्ट्रिय गौरवको रुपमा रहेको सो उद्योगको महाप्रबन्धकमा न्यौपाने नियुक्त भएको छोटो अवधिमै उद्योगले आर्थिक उपार्जन गर्दै सुशासन कायम गर्न निकै महत्त्वपूर्ण प्रयास गरेको छ । 

२०४४ सालमा स्थापित उद्योग कम्पनी रजिस्ट्रारको कार्यालयमा अद्यावधिकसम्म पनि थिएन, न्यौपाने आएपछि १४ वर्षको साधारणसभा सम्पन्न गरेर स्थापनाकालदेखि गत आव २०७६–७७ सम्मको सम्पूर्ण विवरण अद्यावधिक गरिएका छ्न् । 

एउटा सामान्य भोल्टेज स्टेबलाइजरको केसमा सम्मानित अदालतको आदेशबाट लिलाम भएको २ कठा १७ धुर जग्गा समेत ३३ बिघा जग्गा फुकुवा गरी उद्योगको सम्पूर्ण जग्गा हालसाविक गराउन न्यौपाने सफल भएका छन् ।  लोडसेडिङको बखत उद्योगको लाइन गाउँघरमा पनि दिइरहदा करोडौँ रुपैयाँ डिमाण्ड शुल्क उद्योगले तिरिरहनुपर्ने अवस्थाको अन्त्य भएको छ । 

 

लोडसेडिङ अन्त्य भइसक्दा पनि विगतमा सो लाइन फेर्न तत्कालीन महाप्रबन्धकहरु असफल भएका थिए । यसबाट मासिक ५ लाखसम्म बचत भइरहेको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेल बताउँछन् । ‘अहिले विश्वमै कोइला आपूर्ति असहज अवस्थामा छ, भाउले आकाश छोएको छ, यस्तो विषम अवस्थामा पनि १८–१९ हजार रुपैयाँ मेट्रिक टन दरको कोइला नियमित आपूर्ति गराउन सक्नु निकै महत्त्वपूर्ण उपलब्धि हो,’ पोखरेलले भने, ‘एकदिन पनि कोइला अभावको कारण उद्योग बन्द गर्नुपरेको छैन ।’ 



पहिला आउने एक टन कोइलाले ३.७५ टनमात्र  क्लिंकर पकाउन पुग्ने गरेको, तर अहिले एक टन कोइलाले ५ टनसम्म पकाउन सकिने उनले बताए । ‘यो अर्को लागत खर्च कम गर्ने गरी भएको कुशल व्यवस्थापन हो, सबै कामदार कर्मचारीले महाप्रबन्धकको यो कार्यको खुलेर प्रशंसा गरेका छन्,’ पोखरेलले थपे, ‘अझ काम नलाग्ने भनी रिजेक्ट गरिएर थुपारिएको अवस्थाको कोइलासमेत पुनः प्रयोग गरिएको छ ।’ 

लगभग एक हजार मेट्रिक टन यस्तो कोइला राम्रो कोइलासँग मिश्रण गरी गुणस्तरलाई ध्यानमा राखी प्रयोग गर्ने गरेको गुणस्तर विभागमा काम गर्ने एक कर्मचारीले बताए । २९ वर्षदेखि यत्रतत्र छरिएर रहेका पत्रुहरुको व्यवस्थापन गरी ५ करोड ४९ लाख आय आर्जन गर्न पनि महाप्रबन्धक न्यौपाने सफल भएका छन् । 



अत्यन्त पारदर्शी ढंगले बोलपत्रको माध्यमबाट लिलाम गरिएको छ । त्यसैगरी, महाप्रबन्धक २०७७ माघ १ गते हाजिर हुनुअघि अवकाशप्राप्त कर्मचारी सबैको उपदान तथा औषधि उपचार खर्च र माघपछि अवकाश हुने कर्मचारीको औषधि उपचार खर्चसमेत करिब १० करोड रकम उपदान कोषमा जम्मा गरी भुक्तानी गर्ने कार्य पनि भएको छ । 

अब २०७७ माघपछि अवकाश हुने कर्मचारीहरुको उपदान पनि क्यूमा राखी यही महिनाको अन्त्यदेखि दिनेगरी रकमको व्यवस्थापन गर्न थालिएको छ । ‘हरेक जिएमको पालामा वर्षमा एक करोड जम्मा गरिदिएको भए अहिले अवकाश भएर जाने कर्मचारीलाई पाउने सुविधा लिएर जान सहज हुन्थ्यो,’ लामो समयदेखि क्लिंकर विभागमा काम गर्ने एक कर्मचारीले खुसी व्यक्त गर्दै भने, ‘अहिले त वर्षको एक करोड होइन, महिनाको एक करोड जम्मा भइरहेको छ, यो कर्मचारीको हितमा छ ।’

यसै अवधिमा कर्मचारी सेवासर्त विनियमावली बमोजिम ८५ जना कर्मचारीको स्तरवृद्वि भएको छ । इन्स्योरेन्सबाट कमिसन प्राप्त २ लाख २५ हजार कर्मचारी कल्याण कोषमा जम्मा गरिएको छ । ५ वर्षअगाडि क्लिन सेल ५.१ मिटर फेरेकोमा त्यसको पर्फर्मेन्स राम्रो देखिएकोले यस आवमा २० मिटर क्लिन सेल फेर्न टेण्डर गरी भारतको सिम्प्लेक्स कम्पनीमा मेनुफ्याक्चरिङ भइरहेको छ । आगामी फागुन–चैतभित्र उक्त सेल फेरेपछि अहिले भइरहेको इँटा झरिरहने रोग र हाइटेम्प्रेचर कण्ट्रोल भई ब्रेकडाउन कम हुनेछ । 

यसका लागि पहिले ५.१ मिटरमा भएको खर्चभन्दा लगभग २ करोड २० लाख कममा पूरै २० मिटर फेर्न लागिएको छ । महाप्रबन्धक न्यौपाने उद्योगमा आएपछि क्लिन सेलको जोइनिङमा देखिएको ग्याप मेण्टेनेन्स गरी उत्पादनलाई नियमित गरिएको छ । 

साउन, भदौ, असौज तीन महिना वर्षायाम भएकोले यसअघि उत्पादन हुने गरेको थिएन, उत्पादन भए पनि एकदमै कम मात्रामा हुने गरेको थियो । तर, सञ्चालक समितिले स्वीकृत गरेको यस आब २०७८–७९ को पहिलो ५ महिनामा ४४५०० मेट्रिक टन क्लिंकर उत्पादनको लक्ष्य राखिएकोमा ५२ हजार ४ सय ४० मे. टन उत्पादन भई लक्ष्यको तुलनामा करिब ११८.५ उपलब्धि हासिल भएको छ । 

त्यसैगरी सिमेण्ट बिक्रीतर्फ यो ५ महिनामा ६ लाख ५ हजार ८ सय ७९ बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखिएकोमा ६ लाख २६ हजार ३ सय ६०   बोरा बिक्री भई लक्ष्यको तुलनामा १०३ प्रतिशतभन्दा बढी नै उपलब्धि हासिल भएको छ । 

लक्ष्य पूरा भए पनि उत्पादन नियमित भएकोले आगामी हिउँदे सिजनमा र क्लिन सेल फेर्ने बेलामा समेत उद्योगको उत्पादन गैँडाछाप सिमेण्ट नियमित रुपमा बजारमा पठाउने योजना रहेको बिक्री विभाग प्रमुख राम जिसीले बताएका छन् ।

विगत लामो समयपछि यो मंसिर महिनामा क्लिंकर १५ हजार १० मेट्रिक टन उत्पादन भएको छ । आगामी दिनमा उत्पादनलाई नियमितता दिने लक्ष्यमा महाप्रबन्धक न्यौपाने लागिपरेको बिक्री विभाग प्रमुख राम जिसीले बताए । उनले भने, ‘गुणस्तरीय उत्पादन भएकोले गैँडाछाप सिमेण्टको लागि मार्केटको कुनै कमी छैन ।’

अब हिउँदमा माग ह्वात्तै बढ्ने भएकोले यो अफ सिजनमा उत्पादन गरेको क्लिंकर पिसेर सिमेण्ट उत्पादन गरेर बजारमा पठाउने योजना रहेको जिसीले बताए । महाप्रबन्धक न्यौपानेले छोटो अवधिमा मर्मतसम्भारलाई ध्यान दिई यसअघिको कोटेसन प्रथालाई निरुत्साहित गर्दै खरिद प्रक्रिया  बोलपत्रको माध्यमबाट मात्र गर्ने, बोलपत्रको समयलाई दृष्टिगत गरी सप्लाई नियमितताको लागि योजना बनाई अघि बढिरहेको जनाइएको छ । 

उद्योगमा कम खर्चमा भएकै मिल मेसिनरीको अधिकतम प्रयोग गर्नेगरी आरएसपी प्रविधिको जडान गरी हालको दैनिक ८ सय मेट्रिक टन उत्पादनलाई पूर्ण रुपमा प्राप्त गर्दै क्षमता विस्तार गरी दैनिक ११ सय मे. टन पुर्याउन आवश्यक पर्ने पुँजीका लागि उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा अनुरोध गरिसकिएको छ । अर्थ मन्त्रालय यसमा सकारात्मक रहेकोले छिट्टै नयाँ प्रविधिको जडान भई क्षमता बिस्तार हुँदा १५ प्रतिशतसम्म लागत घट्न सक्ने अनुमान गरिएको छ । 

अर्थ मन्त्रालयबाट ऋण सहयोग मागिएकोले बढीमा तीन वर्षभित्र फिर्ता गरिसक्ने योजनासहित फाइल अघि बढेको प्रशासन महाशाखा प्रमुख कमलराज पौडेलले बताए । यसरी १ वर्ष पनि नपुग्दै महाप्रबन्धक न्यौपानेको नेतृत्वमा भइरहेको प्रगतिले अब बन्द हुन्छ भनिएको उद्योगले पुनर्जीवन पाएको भन्दै कर्मचारी खुसी भएक छन् ।जागिर छाडेर जाने बेलामा पाउने सुविधा लिएर जान पाउने आशा बढेकोले सबै कामदार कर्मचारी खुसी रहेको ट्रेड युनियनका एक पदाधिकारीले बताए । 

एनएफआरएसअन्तर्गत वित्तीय विवरण तयार गर्न तीन–चार वर्षअघिदेखि अर्थ मन्त्रालयले निर्देशन दिए पनि उद्योग व्यवस्थापनले खासै महत्त्व दिएको थिएन । तर, महाप्रबन्धक न्यौपाने आफैँ लेखापरीक्षक व्यवसायी पनि रहेकाले उनले एनएफआरएस अन्तर्गत वित्तीय विवरण तयार गरि कर्मचारीको एक्चुरीमार्फत दायित्व र भेल्युएटरमार्फत सम्पत्तिको यथार्थ मूल्यांकन गराई पुरानो नोक्सानी शून्यमा झारी यस वर्षदेखि नै उद्योगलाई मुनाफामा लैजाने योजनामा रहेको जनाइएको छ ।  

‘एकातिर उत्पादन र बिक्री बढाइएको छ भने खर्चमा मितव्ययिता अपनाइएको छ,’ मर्मतसम्भार विभागका एक कर्मचारीले भने, ‘सकभर स्टोर्समा रहेका सामानहरुबाटै काम चलाएर नयाँ खरिदलाई निरुत्साहित गरिएको छ । 

यसमा उद्योगको सञ्चालक समितिले समयमा नीतिगत निर्णय गरेर सहयोग गरेको छ । क्रियाशील युनियनका पदाधिकारी र सदस्यको समेत सकारात्मक सहयोग, त्यो भन्दा बढी आमकर्मचारीहरुको ठूलो सहयोगले यो उद्योगले पुनर्जीवन पाउँदै गरेको प्रवक्ता लक्ष्मण पोखरेलले बताए । 

  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार १९:५९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया