मुलुकको अर्थतन्त्र गम्भीर संकटउन्मुख, मूल्यवृद्धि अझै बढ्ने

पछिल्लो समय मुलुकको अर्थतन्त्र ओरालो लाग्दै गएको छ । राष्ट्र बैंकको वित्तीय तथ्या‌ंक सूचकहरुले पनि मुलुकको अर्थतन्त्र संकटउन्मुख देखाएको छ । चालू आर्थिक वर्षको सुरुवातसँगै मुलुकको वित्तीय प्रणालीमा तरलता अभावले हाहाकार मच्चाएको छ । 

बजार तरलता अभाव हुनुमा सरकारले पुँजीगत खर्च गर्न नसक्नु तथा नेपालमा आयात अत्यधिक रुपमा बढ्नु मुख्य कारण रहेको राष्ट्र बैंकले बताउँदै आएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही दिनअगाडि आर्थिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बैंकहरुको ‘लिभरेज रेसियो’को विषय उठाउँदै मुलुकको अर्थतन्त्रमा ठूलो समस्या नआएको देखाउन खोजेका थिए । गभर्नर अधिकारीले उठाएको ‘लिभरेज रेसियो’को विषयले बजारमा अर्को तरंग पैदा भएको छ । 

गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रमा कुनै समस्या छैन भन्न बैंकहरुको ‘लिभरेज रेसियो’ किन देखाए त भन्ने प्रश्न उठ्न थालेको छ । गभर्नर अधिकारीले उक्त कार्यक्रममा ‘बासेल–३ कार्यान्वयनमा २, ३ आउँदा लिभरेज रेसियो भएको बताएका थिए । 

गभर्नर अधिकारीले मंसिर २३ गते बसेको अर्थसमितिको बैठकमा भने यो विषय उठान गरेका थिएनन् ।समितिलाई मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाको विषयमा जानकारी दिँदा लिभरेज रेसियोको कुरा नउठाएर किन उनले पत्रकारहरुसँग मात्रै उठाए भन्नेमा धेरैले जिज्ञासा राखेका छन् ।
 
गभर्नर अधिकारीले अर्थ समितिमा बजारका तरलताको विषयमा बोल्दै चालू आर्थिक वर्षको सुरुवातदेखि तरलतामा चाप परेको बताएका थिए । बैंकिङ प्रणालीमार्फत चार सय ११ अर्ब कर्जा प्रवाह हुँदा निक्षेप भने ६४ अर्बले मात्रै बढेको उनले बताएका थिए । कर्जा प्रवाह र निक्षेप बीचको ३ खर्बले बैंकिङ प्रणाली ड्राइभ अफ हुने स्थिति देखिएको उनको भनाइ थियो । 

‘साउन महिनादेखि मंसिरसम्ममा ४ सय ११ अर्बको कर्जा प्रवाह हुँदा ६४ अर्ब मात्रै निक्षेप वृद्धि भएको छ । यसरी प्रवाह भएको पैसा सबै देशबाहिर गयो,’ उनले भनेका थिए, ‘देशभित्र नै रहेको हुने थियो भने अहिलेको अवस्था आउने थिएन । अहिले कर्जा प्रवाह भएको ५० प्रतिशत आयातमा गएको देखिन्छ ।’

तर यता नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले गभर्नर अधिकारीले अर्थतन्त्रको सूचक राम्रो देखाउन बैंकको लिभरेज रेसियोको कुरा उठाउनु बेमौसमी बाजा जस्तै भएको टिप्पणी गरेका छन् । राष्ट्र बैंकले अहिलेकै अवस्थामा लिभरेज रेसियोसँग जोड्नुपर्ने अवस्था नआएको उनले बताए । 



नेपालको अर्थतन्त्र संकट आउँदा विभिन्न दृष्टिकोणबाट हेर्नुपर्ने भन्दै नेपालले यस्तो अवस्थामा राष्ट्र बैंक सतर्क हुनु आवश्यक भएको बताए । गभर्नर अधिकारीले लिभरेज रेसियोको कुरा बाहिर ल्याएर बासल थ्री प्रयोग गर्न खोजेको नेपालले बताए । 

तत्काल नै बासल थ्री लागू गर्ने अवस्था नभएको भन्दै उनले विस्तारै लगाउनुपर्ने अवस्था आउने बताए । 



पूर्वगभर्नर नेपालले मुलुकको पछिल्लो अर्थतन्त्र बाहिर हल्ला भएको जस्तो तहसनहस नै भएको अवस्था नभएको बताए । 

अहिलेको तरलतालगायत अन्य समस्याले मूल्य वृद्धि बढ्ने देखिएको उनले बताए । 

  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १८:३७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया