नेपाली महिला भलिबल टोलीले बढाएको राष्ट्रको सान

नेपाली भलिबल टोलीले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा महिलातर्फको उपाधि हात पारेको छ ।  

ढाकाको मिरपुरस्थित सहिद सुरवार्दी राष्ट्रिय इन्डोर स्टेडियममा मंगलबार भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले लगातार दोस्रोपटक उपाधि उचालेको हो । 

२५–२३ ले आफ्नो पक्षमा पारेको नेपालले निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २६–२४ ले गुमाएको थियो । 

तेस्रो सेट २५–१५ ले नेपालले जित्दा चौथो सेट २२–२५ले आफ्नो पक्षमा पार्दै उज्वेकिस्तानले खेललाई पाँचौँ तथा अन्तिम सेटसम्म पुर्याएको थियो । निर्णायक पाँचौँ सेट १५–१०ले आफ्नो पक्षमा पार्दै नेपालले उपाधि रक्षा गर्यो । 

नेपालले यो प्रतियागिताभर उत्कृष्ट प्रदर्शन गर्यो । अपराजित रहँदै उपाधि रक्षा गरेको नेपालले लिग चरणमा श्रीलंकालाई ३–२ र माल्दिभ्स, आयोजक बंगलादेश र उज्वेकिस्तान र किर्गिस्तानलाई समान ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

श्रीलंकाविरुद्धको खेलमा नेपालले केही लय गुमाएको भए पनि त्यसपछिका खेलमा भने उसको प्रदर्शन उत्कृष्ट रह्यो ।
 
नेपालले प्रतियोगितामा सहभागी हुने अगाडि आफ्नो लक्ष्य उपाधि रक्षा गर्ने बताएको थियो त्यसमा ऊ सफल पनि भयो । लिग चरणमा सहजै पराजित गरेको उज्वेकिस्तानले फाइनलमा भने नेपाललाई कडा टक्कर दिएको थियो ।



फाइनल सोच अनुरुपको सहज नभए पनि नेपाली टोलीले अर्को एक अन्तर्राष्ट्रिय उपाधि घर भित्र्याएको छ । 

अन्य खेलले अन्तर्राष्ट्रिय प्रतियोगिताममा प्राय निराश बनाइरहँदा नेपाली महिला भलिबल टोलीले भने गर्व गर्न लायक प्रदर्शन गरिरहेको छ । 



नेपालले सेन्ट्रल जोनमा मात्र नभएर दक्षिण एसियाली क्षेत्रमा पनि आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएको छ । यसको राम्रो उदाहरण हो, दुई वर्षअघि नेपालमै भएको दक्षिण एसियाली खेलकुद (साग) ।

सागमा नेपाल स्वर्ण जित्नबाट वञ्चित भए पनि आफूभन्दा निकै बलियो टोली भारतलाई कडा टक्कर दिएको थियो । नेपाल ३–२ को सेटमा पराजित हुँदै रजतमै सीमित बने पनि त्यो नेपाली भलिबलका लागि एक ऐतिहासिक पदक नै थियो ।  

त्यही सागपछि एकैपटक नेपाली टोली अन्तर्राष्ट्रिय खेलका लागि बंगलादेशमा उत्रिएको थियो । छोटो समयको तयारीका बाबजुद पनि नेपालले उपाधि रक्षा गर्दै के सन्देश दिएको छ भने यदि राम्रो प्रशिक्षणको अवसर पाएको खण्डमा ऊ बलिया टोलीलाई पनि हराउन सक्षम छ ।

  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार १७:३८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया