logo-img

हात्तीले मारेका दुई महिलाको शव उठाउन स्थानीयको अवरोध

चितवन– माडीमा बुधबार दिउँसो एक ज‌ंगली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाको शव उठाउन स्थानीयले अवरोध गरेका छन् । उनीहरूले स्थायी सुरक्षाको माग गर्दै शव उठाउन नदिई सडक अवरुद्ध गरेका हुन् । 

उनीहरूले माडीमा रहेका चारवटा मध्यवर्ती सामुदायिक वनका कार्यालयमा समेत तालाबन्दी गरेका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले स्थानीयले स्थायी समाधानको खोजी गर्नुपर्ने माग गरेको बताए । उनले दसैँको समयमा पनि एक बालकलाई सोही हात्तीले आक्रमण गरी मारेको बताए । केही दिनअघि एक महिलालाई पनि सोही हात्तीले उचालेर फालिदिएको ढकालको भनाइ छ । 

दसैँअघिबाट दैनिक जंगली हात्तीले स्थानीयलाई त्रसित बनाउँदै आएको छ । ढकालका अनुसार माडीका विभिन्न क्षेत्रका बस्तीमा आएर हात्तीले भकारीको धान खाने, बारीको विभिन्न बाली खाने, जनतालाई त्रसित बनाउने गर्दै आएको छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले माडीवासीले आफ्नो रोहबरमा वार्ता हुनुपर्ने माग गरेपछि आफू वार्तामा जाने तयारीमा रहेको बताए । उनले जनताका मागलाई सकेसम्म सम्बोधन गरेर शव उठाउन लगाउने बताए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले हात्तीलाई बेहोस बनाउन प्राविधिक टोली हात्तीको खोजीमा लागिसकेको बताए । 

उनका अनुसार प्राविधिक पुरुषोत्तम पाण्डे र किरण रिजाल हात्तीको खोजीमा गइसकेका छन् । हात्तीलाई बेहोस बनाई दाह्रा काटेर छोड्न निर्देशन दिइएको ढकालले बताए । सो हात्तीको एउटा दाह्रा यसअघि नै भाँचिएको छ । निकुञ्जभित्र बेहोस बनाउन कठिन हुने भएकाले बस्तीमा आएसँगै डार्ट गरेर बेहोस बनाउने तयारी गरिएको छ । 

यसअघि विसं २०७० मा माडीमै ध्रुबे हात्तीले ६ जनाको ज्यान लिए पछि माडीवासी आन्दोलित भएका थिए । ध्रुबेलाई धपाउन गोली प्रहार गरिएको थियो । सो हात्तीले हाल जनतालाई दुःख दिएको छैन । 



माडीवासीले निकुञ्ज तथा वन संरक्षण ऐनको जनपक्षीय संशोधन हुनुपर्ने, घटनाका पीडितलाई राहत नभई पूर्ण क्षतिपूर्ति दिइनुपर्ने, जिउधनको सुरक्षा हुनुपर्ने, नागरिकको संविधानप्रदत्त हकको प्रत्याभूति हुनुपर्ने, जंगली जनावरको मानव बस्ती प्रवेश नियन्त्रण गरिनुपर्नेलगायतका मागसमेत राखेका छन् । 

बुधबार माडी नगरपालिका–९ स्थित रिउ खोला किनारमा घाँस काट्न गएका स्थानीय ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया तृष्णाकाली पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । निजहरूको शवलाई घरनजिकै राखिएको छ । शव उठाउन स्थानीयले अवरोध गरेका छन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आवको अहिलेसम्मको अवधिमा वन्यजन्तुबाट आठजनाको मृत्यु भइसकेको छ । 



  • प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार १३:४३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया