माओवादी बन्दसत्र : पाँच दिनपछि सकियो ‘दस्तावेज’ अध्याय, कस्तो सन्देश छाड्यो ?
प्रचण्डको दस्तावेजमा न्यौपानेको फरकमत, न्यौपानेसँग प्रचण्डको !

राष्ट्रिय सम्मेलन भनेर प्रचार गरिएको माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले पूर्वसन्ध्यादेखि नै फरक-फरक दृश्य प्रस्तुत गरिरहेको छ । माओवादी महाधिवेशनको उद्घाटन सत्र सकिएको आज ६ दिन भयो । पाँच दिन बन्दसत्र नै आयोजना भयो ।

बन्दसत्रस्थल हो राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हल ।

विशुद्ध प्राज्ञिक थलोमा पुगेका माओवादी नेताहरू ३२ वर्षदेखि पार्टीलाई हाँकिरहेका अध्यक्ष प्रचण्डको दस्तावेजमै ५ दिन रुमलिए । अध्यक्ष प्रचण्डले आगामी कार्यदीशासहितको दस्तावेज छलफलका लागि २५ वटा समूहलाई दुइ दिनसम्म अध्ययनका लागि ‘होमवर्क’ गराए ।

प्रचण्डको दस्तावेज अध्ययनपछि बल्ल पाँचौ दिनमा अध्यक्ष प्रचण्डले त्यसको जवाफ दिएका छन् । जवाफपछि अब पार्टीको विधान प्रस्तुत हुने र भोलि नै केन्द्रीय समिति निर्वाचित हुने प्रचण्डको उद्घोष छ ।

प्रचण्डको राजनीतिक दस्तावेजमाथि पार्टीका नेताहरूले सुझाव दिए । दुई नेताले त लिखित मत नै प्रस्तुत गरे । माओवादीमा वैचारिक नेताको छवि बनाएका राम कार्कीले प्रचण्डको प्रतिवेदनमाथि पुरक प्रस्ताव पेश गरे । अर्का नेता लेखनाथ न्यौपानेले फरकमत नै प्रस्तुत गरे ।

प्रचण्डको दस्तावेजमा न्यौपानेको फरकमत, न्यौपानेसँग प्रचण्डको !



प्रज्ञा भवनमा साँझ । महाधिवेशनमा बन्दसत्र सकेर स्थायी कमिटीका सदस्यहरू केहीबेर भेला भए । र निस्किए ।

अध्यक्ष प्रचण्ड निस्कने बेलामा महरा बाटो पन्छाउँदै निस्किए । प्रचण्ड त्यहाँबाट निस्कँदै गर्दा संचारकर्मीले सोधका थिए, ‘फरकमत समेटियो ?’



महाधिवेशन जारी हुँदैगर्दा संचारकर्मीले राखेको यो प्रश्नलाई उनले बेवास्ता गर्न सकेनन् । बरु, अर्थपूर्ण रुपमा फरकमत राखेका न्यौपानेलाई अर्थपूर्ण जवाफ दिए । उनको जवाफ थियो, ‘फरकमत समेटियो । एउटा फरक मतलाई सम्मान गर्ने भनियो अरु सबै समेट्ने भनियो ।’

उनको आशय राम कार्कीले प्रस्तुत गरेको पुरक प्रस्तावलाई सम्मान गर्ने र न्यौपानेको फरकमतलाई समेट्ने भन्दै घुमाउरो थियो ।

आफूसँग छलफल गरी फरकमत ल्याएका न्यौपानेसँग प्रचण्ड रुष्ट देखिएका हुन् । न्यौपाने केन्द्रीय कमिटीमा रहेर पनि फरकमतमाथि छलफल नगरेकोमा प्रचण्डको दुखेसो छ । एक नेताका अनुसार प्रचण्डले केन्द्रीय कमिटीमा छलफल गरेर मात्र दस्तावेजमा राख्ने नराख्ने मुड प्रचण्डले बनाएका छन् ।

न्यौपानेले फरकमत मात्र राखेका थिएनन् । पार्टीका नेताहरूको आचरण र सरकारी स्कुलमा नेताका छोराछोरीलाई पढाउनपर्ने प्रस्ताव पनि अघि सारेका थिए । यसअघि पनि अखिल क्रान्तिकारीको अध्यक्ष हुँदा उनले सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव अघि सारेका थिए ।

अहिले पनि उनले यो विषय उठाएपछि नेताका छोराछोरीको स्कुल पढाइबारे सामाजिक सञ्जालमा चर्चा हुन छाडेको छैन । शिक्षामन्त्री समेत रहेका माओवादी नेता देवेन्द्र पौडेल हिजो मात्रै अध्ययनका लागि अमेरिका गएको तस्विरको प्रयोग गर्दै यसबारे आलोचना भइरहेको छ । जसको कारण पनि न्यौपानेको फरकमतलाई प्रचण्डले रुचाएका छैनन् ।

स्पष्टीकरणका सन्देश

२५ वटा समूहले दुई दिनसम्म गरेको छलफल र अध्ययनपछि प्रचण्डलाई बन्दसत्रमा सुझाव दिइएको थियो । सोही क्रममा दुई नेताले पुरक र फरकमत राखेका थिए ।

प्रचण्डलाई महाधिवेशनको दुई दिनसम्म सुनाएका निश्कर्ष र सोधेका प्रश्नको जवाफ दिनु थियो । पार्टीमा पुँजीवादी चरित्र हाबी भएकोदेखि परिवारवादसम्मका विषय उठान हुँदैगर्दा प्रचण्डले सबैको टिपोट गरेका थिए ।

उनले समग्रमा आजको बन्दसत्रमा त्यसको जवाफ दिएका छन् । उनले विवादित अमेरिकी परियोजना एमसीसीदेखि आउँदो तीन तहको चुनावदेखि पूर्ण महाधिवेशनसम्मका विषयलाई आफ्नो सम्बोधनमा समेटेका छन् ।

उनले भनेका छन्, ‘दस्तावेजमा जे छ त्यही लाइनमा जान्छ एमसीसी ।’ अर्थात् उनले दस्तावेजमा भनेजस्तै संशोधनबिना एमसीसी परियोजना पास नहुने स्पष्ट पारेका छन् । तर, देउवाले महाधिवेशनको उद्घाटन सत्रकै मन्च प्रयोग गर्दै एमसीसी पारित गराइछाड्ने बताएका थिए । प्रज्ञा भवनमा अन्य गत ११ गते देउवाले हँसिलो अनुहारमा भनेका छन्, ‘एमसीसी राष्ट्रको विपरित छैन् । प्रचण्डजी, माधवजीहरूसँग छलफल भइरहेको छ । ’

प्रचण्डले आगामी निर्वाचनपछि पार्टीको पूर्ण महाधिवेशन गर्ने भन्दै यो पूरा नभएको पनि बताएका छन् ।

पार्टीको लागि जस्तोसुकै ‘त्याग गर्ने’ उत्तेजित भाषण

अघिपछि पनि प्रचण्ड आफ्नो भीडको माहोल तात्नेबित्तिक्र उत्साहित भाषण गर्ने गर्छन् । आज पनि त्यसको एक नमुना नेता कार्यकर्ताबीच प्रस्तुत गरेका छन्, प्रचण्डले ।

माओवादीको तितो-सत्य के हो भने,– ३२ वर्षदेखि पार्टीको नेतृत्व प्रचण्ड आफैंले गरिरहेका छन् । यो महाधिवेशनबाट पनि उनको नेतृत्व दोहोरिने पक्का छ ।

प्रचण्डको जीवनशैली जनयुद्ध सुरु गर्नेबेलाको भन्दा आकाश पातल फरक छ । त्यतिबेला उनी सेनासँग डराएर बंकरमा लुक्थे । अहिले चिल्लो कारमा खुमलटार टू कमलादी गरिरहेका छन् ।

तर, उनले प्रज्ञा भवनको अगाडि त्यो सबै दृश्य देखेकै नेताहरूमाझ भनेका छन्, ‘कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? चिल्लो गाडी छोड्न सक्ला त ? काठमाडौंको रमझम छोड्न सक्लान् त ? भनेर पनि भन्ने गर्छन्, म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरूसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन ।’

उनले यो पार्टीलाई क्रान्तिकारी बनाउन जस्तोसुकै त्याग, कष्ट र बलिदान गर्न तयार भएको उद्घोष गरे । यसअघि पनि पटक पटक अन्तिम अवसर भन्दै आएका प्रचण्डले यसलाई अन्तिम अवसरको रुपमा ब्याख्या गरिरहेका छन् । उनले भने, ‘यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।’

तर, उनले भनेजस्तो अब पुनः झुपडीमा बस्न र चिल्लो गाडी छाड्न भने सहज छैन् । किनभने उनी अहिले देशका पूर्वप्रधानमन्त्री समेत हुन् । सुरक्षाको दृष्टिकोणमा पनि उनीमाथि सुरक्षाकर्मी र गाडीको प्रबन्ध सरकार स्वयंले गराउँछ ।

कार्यकर्तालाई काठमाडौं नबस्न ह्वीप !

प्रचण्डले भन्दै आएका छन्, ‘गल्ती मबाट भएको छ । म आफैं सच्चिन जरुरी छ, त्यसको सुरुवात म बाटै हुन्छ ।’

उनले पार्टीका केन्द्रीय सदस्यहरू सबैलाई काठमाडौं नबस्न र जनताको घरमा फर्कन निर्देशन दिएका छन् । यो कति संभव छ ? उनलाई थाहा होला । तर, जनयुद्धको पृष्ठभूमिबाट आएको माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरू विलासिताको जीवन चलाइरहेका छन् ।

शान्ति प्रक्रियापछि माओवादी गाउँमा देखिन छाडेनन् भन्दै टोल टोलमा गफको विषय बनेको छ ।

बिहीबार कार्यकर्तालाई उत्तेजित बनाउँदै प्रचण्डले काठमाडौं नबस्न भन्दै गाउँ फर्किएर जनतासँग भिज्न निर्देशन भने दिएका छन् ।

सबैको ध्यान केन्द्रीय समितितिर !

अब माओवादीका नेता कार्यकर्ताको ध्यान, भोलि सार्वजनिक हुने केन्द्रीय कमिटीका सदस्यहरूमा छ । अध्यक्ष निर्विकल्प भएपनि अहिले नै बाँकी पदाधिकारी टुंगाउने प्रचण्डको तयारी छैन् । तर, केन्द्रीय कमिटीको भने भोलि निर्वाचित हुने उनले बताएका छन् ।

त्यसो त, २९९ जनाको केन्द्रीय कमिटीमा अटाउन देशभरबाट हजारौं आकांक्षी छन् । तीनको व्यवस्थापन अध्यक्ष प्रचण्डलाई सबैभन्दा बढी चुनौती देखिएको छ ।

विराटनगरमा भएको सम्मेलनकै शैलीमा प्रचण्डले केन्द्रीय कमिटीको नाम टुंगो लगाएर बाचन गर्नसक्ने नेताहरूको बुझाई छ । महाधिवेशन चलेदेखि नै खुमलटारमा नेताहरूको घुइँचो केन्द्रीय कमिटी र पदाधिकारीमा लविङ गर्नका लागि बढेको छ ।

  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार २१:४४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया