logo-img

हात्तीअातंक
माडीवासीका मागमा प्रचण्डको चासो

चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको माडीमा जंगली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिएका छन् । सो क्षेत्रका सांसदसमेत रहेका दाहालले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतमार्फत माडीवासीका मागका विषयमा जानकारी लिएका हुन् । 

दुई दिनअघि जंगली हात्तीले दुई महिलालाई आक्रमण गरी मारेपछि बिहीबार बिहानैबाट माडीवासी आन्दोलित भएका थिए । दिनभरको प्रयासपछि साँझ वार्तामार्फत आन्दोलन स्थगित गराइएको थियो । प्रजिअ बस्नेतले भने, ‘अध्यक्ष दाहालले माडीवासीको मागका विषयमा जानकारी लिएर त्यसलाई पूरा गराउने प्रतिबद्धता जनाएका छन् ।’ 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालको टेलिफोनपछि प्रमुख जिल्ला अधिकारी बस्नेत आफैँ वार्तामा सहभागी हुन माडी पुगेका थिए । सम्झौतापछि सोको जानकारी आफूले दाहाललाई गराएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । 

सहमतिमा पीडित पक्षलाई तत्काल माडी नगरपालिकाबाट किरिया खर्चबापत २५ हजार उपलब्ध गराउने, क्षतिपूर्तिबापत राज्यले उपलब्ध गराउने रकम एक महिनाभित्र उपलब्ध गराउने, यसअघिका घटनाका क्षतिपूर्ति रकम पनि एक महिनाभित्र उपलब्ध गराउने, हात्तीलाई बस्ती प्रवेशमा रोक लगार्इ नियन्त्रणमा राख्ने सहमति भएको छ । 

यसैगरी, प्राविधिक टोलीले उक्त हात्तीको पहिचान गरी आवश्यकताअनुसार उनीहरूको सुझाबमा दाह्रा काट्नेलगायत काम गर्ने सहमति भएको छ । हात्तीलाई मार्नुपर्ने अवस्था आएमा जनप्रतिनिधि र निकुञ्जको समेत सिफारिसमा सम्बन्धित निकायमा अनुरोध गर्ने, निकुञ्ज ऐनलाई समयसापेक्ष परिमार्जन गर्ने सहमति भएको थियो । 

मृतक सुशीला भण्डारीका दुई छोरालाई शिक्षाका लागि माडी नगरपालिकाले पाँच लाख रुपैयाँ व्यवस्था गर्ने, अर्की मृतक कृष्णकली जैसी पौडेलका छोरालाई माडी नगरपालिकामा रोजगारीको व्यवस्थापन गर्ने सहमति भएको छ । 



बुधबार दिउँसो रिउ खोल किनारमा घाँस काट्न गएका स्थानीयवासी ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया कृष्णकली जैसी पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । 

यसैबीच, निकुञ्जले हात्ती नियन्त्रणका लागि प्राविधिक सहितको टोली परिचालन गरेको छ । आठजना प्राविधिकसहित २० जना सुरक्षाकर्मी परिचालन भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । हात्तीलाई डार्ट गरेर बेहोस् बनाउने, दाह्रा काट्ने र सेटेलाइट रेडियोकलर जडान गरी छाड्न निर्देशन दिइएको छ । 



प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार त्यसपश्चात पनि बस्ती पसेमा सो हात्ती मार्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । बिहीबार राति भने हात्ती बस्तीमा पसेको छैन । यो आर्थिक वर्षमा सो हात्तीले दुई महिलासहित तीनजनाको ज्यान लिइसकेको छ । हात्ती पर्साबाट आएको बताइएको छ ।

  • प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार १४:४४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया