logo-img

जनार्दन शर्मालाई महासचिवको रेसबाट हटाउन उनीनजिकका धेरैलाई केन्द्रीय सदस्य !

माओवादी अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले आइतबार पाँचवर्षे कार्यकालका लागि १३६ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाए । केन्द्रीय सदस्य घोषणामा आफूलाई खुलातर्फको २३औँ नम्बरमा राखेका प्रचण्ड सोमबारबाट अध्यक्ष निर्वाचित भइसकेका छन् ।  

आठौं महाधिवेशनबाट प्रचण्डले परिवारभित्रबाटै अन्य तीनजनालाई केन्द्रीय सदस्य बनाए । सोमबार दिनभर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचण्डको ‘परिवार मोह’कै चर्चा भयो । 

माओवादीमा प्रचण्ड मात्र होइन, धेरैका श्रीमान्–श्रीमती नै केन्द्रीय सदस्य बनेका उदाहरण छन् । अर्थमन्त्रीसमेत रहेका माओवादीका प्रभावशाली नेता जनार्दन शर्माले केन्द्रीय कमिटीमा पारिवारिक वर्चस्वमा अध्यक्ष प्रचण्डलाई पनि उछिनेका छन् ।

जनार्दन पछिल्लो समय अध्यक्ष प्रचण्डसँग नजिकमा छन् । महाधिवेशनको दौरान उनले प्रचण्डलाई प्रभावमा पार्न सकेको कुरा उनले आफ्ना आफ्ना धेरै नातेदारलाई केन्द्रीय सदस्य दिलाउन सफल हुनुले प्रस्ट पार्छ । 

अर्थमन्त्री शर्मासहित उनकै भाइ अनिल शर्मा र बहिनी नारायणी शर्मा केन्द्रीय सदस्यमा चयन भएका छन् । त्यस्तै, बहिनीज्वाइँ ओमनाथ ढुंगाना (ओम शर्मा) पनि केन्द्रीय सदस्यमा अटाएका छन् । उनी यसअघि पनि केन्द्रीय सदस्य थिए । अनिलचाहिँ आफूभन्दा सिनियर धेरै नेतालाई पन्छाएर केन्द्रीय कमिटीमा पर्न सफल भएका छन् । 

यसअघि पञ्चा सिंहलाई भ्रातृसंगठन अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने बेला केन्द्रीय सदस्य बनाइएका क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल केन्द्रीय कमिटीमा परेनन् । मल्ल प्रचण्डको सचिवालयमा कार्यरत छन् । अनिललाई अध्यक्षमा पराजित गरेका रञ्जित तामाङ पनि केन्द्रीय समितिमा परेनन् ।



शर्मालाई केन्द्रीय सदस्य बनाएपछि माओवादी पंक्तिमा असन्तुष्टि देखिएको छ । मल्लले ‘पार्टी बनाउनुस् कमरेडहरु’ भन्दै आइतबार नै सामाजिक सञ्जालमा लेखेका थिए । मल्ल पनि केन्द्रीय कमिटी सदस्यको दाबेदार थिए । यद्यपि, उनी केन्द्रीय सदस्यमा पर्न सकेनन् । उनले केन्द्रीय कमिटीका सदस्यहरुलाई बधाई दिँदै व्यंग्य र असन्तुष्टि मिश्रित स्टाटस लेखेका छन्,‘बधाई छ । पार्टी बनाउनुस् कमरेडहरु !’

शर्मालाई केन्द्रीय सदस्य बनाएकोमा माओवादी पंक्तिभित्र बहस सुरु भएको छ । 



कर्णाली प्रदेशको अध्यक्ष रहेकी बिमला केसी पनि केन्द्रीय सदस्य बनेकी छिन् । उनी पनि जनार्दनकी भाइबुहारी हुन् । उनलाई महेन्द्रबहादुर शाहीको नेतृत्वमा कर्णालीमा सरकार हुँदा कृषिमन्त्री बनाइएको थियो । साथै, उनले सरकारको प्रवक्ताको जिम्मेवारीसमेत पाएकी थिइन् । 

जगप्रसाद शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा र लुम्बिनी गौतम पनि उनका नातेदारभित्रकै सदस्य हुन् । यद्यपि, उनीहरु जनार्दनको जोडबलमा मात्र नभएर पार्टीभित्रको गरेको त्यागका आधारमा केन्द्रीय कमिटीमा परेको एकजना माओवादी नेता बताउँछन् ।

‘सबै नेतालाई परिवारसँग जोडेर हेर्न हुँदैन । उहाँसँग नाता जोडिएका धेरै नेता केन्द्रीय सदस्य बनेका छन् । केहीचाहिँ उहाँ (जनार्दन शर्मा)कै जोडलबमा प्रचण्डको सूचीसम्म पुगेका हुन्,’ ती नेता भन्छन् । 

कारण के ?

शर्मा माओवादीको यो महाधिवेशन सुरु हुनुपूर्व देखि नै महासचिवका लागि दाबी गर्दै आएका छन् । 

प्रचण्डकै अर्का नजिकका पात्र वर्षमान पुनले पनि महासचिवको दाबी छाडेका छैनन् । चीनमा उपचार गराइरहेका पुनले केही दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गरेका थिए । उनको सो भेटघाटलाई ‘प्रचण्डलाई दिइएको दबाब’का रुपमा राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । 

महासचिवका लागि अन्य नेताहरुको नाम पनि चर्चामा छन् । आफ्ना निकटका नेताहरुको व्यवस्थापन गर्ने चुनौती बोकेका प्रचण्डलाई यी दुई नेताको व्यवस्थापन झनै चुनौतीपूर्ण छ । 

चीनमा उपचारका क्रममा रहेका पुन मिलेसम्म भोलि मंगलबार डिस्चार्ज भएर नेपाल आउने तयारीमा छन् । माओवादी केन्द्रीय कमिटीमा आजै पदाधिकारीको नाम सुनाउने भनिएको थियो । पुनकै आगमनलाई लक्षित बैठक २५ गतेसम्मका लागि सारिएको चर्चा छ । 

प्रचण्डले केन्द्रीय कमिटी बैठकबाट बाहिरिँदै भनेका छन्,‘भोलि वर्षमानजी र ओनसरीजी पनि आउनुहुन्छ । त्यसपछि छलफल गरेर हामी टुग्याउँछौँ ।’

प्रचण्डको यो भनाइको तात्पर्य हो, उनी वर्षमानलाई चिढ्याउन चाहँदैनन् । वर्षमान आएपछि उनको सल्लाहमा महासचिव पदको टुंगो लगाउने तयारीमा प्रचण्ड छन् । 

महासचिवमा जनार्दनलाई नराख्नकै लागि उनको कोटामा धेरै केन्द्रीय सदस्य दिएर व्यवस्थापन गर्ने प्रचण्डको नीति हुन सक्छ । तेस्रो तहका नेताहरुलाई महासचिवमा राखेर जनार्दन र पुनलाई यो दौडबाट हटाउन पनि प्रचण्डलाई केन्द्रीय कमिटीको फ्लोरबाट दबाब छ । सोही कारण पनि उनले रोल्पा र जनार्दनका आफन्त व्यवस्थापन गरेको हुनसक्ने एक नेताको बुझाइ छ । 

महासचिवको दौडमा शक्ति बस्नेत र देव गुरुङको पनि चर्चा सुरु भएको छ । पम्फा भुसालले यसअघिदेखि नै महासचिव दाबी गरिरहेकी छिन् । त्यसकारण पनि माओवादी पदाधिकारीमा प्रचण्डको अन्तिम निर्णय केही आश्चर्यलाग्दो हुनसक्ने केही नेताको बुझाइ छ । 

  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार २२:१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया