इंग्लिस क्लब चेल्सीका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले आफूले हालै दिएको अन्तरवार्ता विवादमा तानिएपछि समर्थकसँग माफी मागेका छन् ।
गएको बिहीबार लुकाकुले स्काई इटालियासँगको कुराकानीमा स्टामफोर्ड ब्रिजमा असन्तुष्ट रहेको र इन्टर मिलान फर्कन चाहेको बताएका थिए ।
प्रशिक्षक थोमस टुचेलले लुकाकुको अभिव्यक्तिकाे कारण टोलीमा असर परेको भन्दै उनलाई आइतबार इङ्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुलविरुद्धको खेलमा टोली बाहिर राखेका थिए । उक्त खेल २-२ को बराबरीमा सकिएको थियो ।
‘मेरा लागि पछिल्लो केही दिन निकै कठिन रह्यो’, लुकाकुले भने, ‘के कारण म तनावमा छु सबैलाई थाहा छ । म कोरोना संक्रमणका कारण तनावमा थिए । टोलीबाट बाहिर रहँदा थप समस्या बढेको छ । अन्तरवार्ताका क्रममा बोलेको कुरालाई लिएर मलाई विवादमा तान्ने काम भयो ।’
‘मेरो आशय क्लब र समर्थकको चित्त दुखाउनु थिएन । उनीहरूले टोलीलाई राम्रो हुन्छ भनेर मलाई फिर्ता ल्याएका हुन् । म चेल्सीमा रहुन्जेल शतप्रतिशत प्रदर्शन गदैै टोलीलाई धेरैभन्दा धेरै सफलता दिलाउन प्रतिबद्ध छु । मेरो कारणले समर्थकमा पर्न गएको असरप्रति माफी माग्न चाहन्छु,’ लुकाकुले थपे ।
लुकाकुले आफूले धेरै समय मैदानमा बिताउन चाहे पनि उचित अवसर नपाउँदा निराश रहेको प्रतिक्रिया दिँदा आफ्नो भनाइको गलत व्याख्या गरिएको बताए ।
लुकाकु यसै सिजन इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानबाट चेल्सीमा फर्किएका हुन् । उनले जारी सिजन प्रिमियर लिगका मात्र आठ खेल खेल्दै पाँच गोल गरेका छन्।
अहिले लुकाकु टोलीको प्रशिक्षणमा सहभागी भइसकेको प्रशिक्षक टुचेलले जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।