बागमती प्रदेशमा चल्ने ट्याक्सीको भाडा समायोजन, ट्याक्सी व्यवसायीको भने विरोध
फाइल फाेटाे

बागमती प्रदेशमा ट्याक्सी सेवाको भाडादर समायोजना भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयमा पुस २० गते बसेको मन्त्रिस्तरीय बैठकले माघ १ गतेदेखि लागू हुनेगरी भाडादर समायोजन गर्ने निर्णय गरेको हो ।

परिमार्जित भाडादरअनुसार उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको सुरु ‘फ्लाग डाउन’ ६० रुपैयाँ कायम गरिएको छ । सुरुकाे एक किलोमिटर यात्रापछि प्रति दुई सय मिटरको नौ रुपैयाँ असी पैसाका दरले थप हुनेछ ।

प्रदेश सरकारले ट्याक्सीहरूलाई पूर्णरूपमा मिटरको प्रयोग गर्न निर्देशन दिएको छ । ट्याक्सी प्रयोग गर्ने सेवाग्राहीलाई सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बरसहितको विवरण भएको नेपाली तथा अंग्रेजी भाषामा लेखिएको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने छ । ट्याक्सीमा छुटेको सामान सेवा प्रदायकले सुरक्षित राखी नजिकको प्रहरीलाई सूचना दिनुपर्नेछ ।

नियमित रूपमा सरसफाइ गरी लैंगिक विभेदरहित सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले भाडा निर्धारण समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली २०७८ अनुसार उक्त भाडादर समायोजन तथा निर्धारण गरेको जनाएको छ । 

ट्याक्सी व्यवसायीको आपत्ति 

समायोजन गरिएको भाडादरकाे विषयमा ट्याक्सी व्यवसायीले भने विरोध जनाएका छन् ।उनीहरूले आफ्नो सुझाव अनुसार सरकारले भाडादर समायोजन नगरेको भन्दै आपत्ति जनाएका हुन् । 



नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय सचिव दिलिप श्रेष्ठले विगत ९ वर्षदेखि समायोजन नभएको ट्याक्सी भाडामा प्रदेश सरकारले जालझेल गरेको बताए ।

अहिलेको समायोजना भाडादर अनुसार ट्याक्सी सञ्चालन गर्ने हो भने यसअघिको भाडादरभन्दा कम हुन आउने उनको भनाइ छ ।



‘हाम्रो सुझावअनुसार भाडा समायोजन भएन । ट्याक्सीहरू अहिले पनि मिटरमा जान नमान्ने र नजिकको दूरीमा जान नमान्नुको कारण भनेको ‘फ्लाग डाउन’ नै हो’, श्रेष्ठले भने ।

अहिले कायम गरिएको भाडादर यसअघिको भन्दा तीन रुपैयाँ कमी हुन आएको उनी बताउँछन्।  

‘पहिला १४ रुपैयाँ ‘फ्लाग डाउन’ थियो । २०० मिटर पार गर्नासाथै कल सुरु हुन्थ्यो । पाँच कलमा एक किलोमिटर हुन्थ्यो,’ उनले भने, ‘अब ६० रुपैयाँले एक किलोमिटरसम्म चलाउनुपर्नेछ । त्यसपछि मात्रै २०० मिटरबाट ९ रुपैयाँ ८० पैसा लागू हुने भयो । यो रनिङ कलमा हाम्रो विमति होइन । सुरुको ‘फ्लाग डाउन’ मा मात्र हाम्रो आपत्ति हो ।’ 

भाडादर समायोजना गर्दा मन्त्रालयले आफूहरूलाई झुक्याएको उनको भनाइ छ । 

यस विषयमा ट्याक्सी व्यवसायीहरूले छलफल गरेर एक निष्कर्षमा पुग्ने बताएका छन् । 

मन्त्रालयसँग कुरा गर्दा ६० रुपैयाँ ‘फ्लाग डाउन’ र प्रति २०० मिटरमा ९.८० रुपैयाँ हुने भनिएको थियो । जसले गर्दा प्रति किलोमिटर ४९ रुपैयाँ हुन आउँथ्यो । तर, अब भने सुरुको एक किलोमिटर ६० रुपैयाँमै चलाउनुपर्ने हुन्छ । त्यसपछि मात्र प्रति २०० मिटरका दरले भाडा बढ्नेछ । 

आफूहरूले मन्त्रालयमा सुझाव दिँदा १५० रुपैयाँ ‘फ्लाग डाउन’ र डेढ किलोमिटरसम्म कायम रहने गरी तोकिएको उनले बताए । त्यसपछि प्रति २०० मिटरको राउण्डमा जानुपर्छ भन्ने आफूहरूको माग भएपनि एकदमै कम भाडादर कायम गरेर आफूहरूमाथि पुनः राज्यले अन्याय गरेको उनको भनाइ छ । 

भाडा समायोजन गर्न माग गर्दै ट्याक्सी व्यवसायीहरू लामो समयदेखि आन्दाेलन गर्दै आएका थिए। एक साता अघि मन्त्रालयसँग भएको छलफलपछि भने उनीहरूले आफ्नो आन्दोलन रोकेका थिए ।

नयाँ भाडादर आफूहरूलाई झुक्याउने र अवैध रूपमा चलाइएका एप्लिकेसनमार्फत् निजी गाडीको गैरकानुनी धन्दाको संरक्षण गर्न ल्याइएको उनको आरोप छ । ट्याक्सी भाडाको विषयमा राज्यले दीर्घकालीन समस्या समाधानको बाटोमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ । 

  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १३:५४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया