logo-img

नारायणहिटीको श्रीसदनमा रहेका वीरेन्द्र शाहका दस्ताबेज सूचीकरण सुरु

राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार संग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्ताबेज सूचीकरण सुरु गरेको छ । अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीनजना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको हो । 

दस्ताबेज सूचीकरणमा संग्रहालयका एक कर्मचारीको पनि सहभागिता छ । गत आर्थिक वर्षदेखि सूचीकरण सुरु गरिएको हो । अहिलेसम्म जन्मोत्सव, गद्दी आरोहण, पदक तथा विभूषणका एक हजार २७५ दस्ताबेज भेटिएको अभिलेख अधिकृत रञ्जु हाडाले जानकारी दिइन् ।

श्रीसदन लामो समय पूर्वराजा वीरेन्द्रको निजी निवासका रुपमा रहेको थियो । हालसम्म उपचार, बिन्तीपत्र, भ्रमण, उत्सव, प्रतिवेदन र राजदूतावाससम्बन्धी दुई हजार २६८ दस्ताबेज सूचीकरण गरिएको छ । 

राजनीतिक गतिविधि, स्वर्गारोहण, गुठी जग्गासम्बन्धी, भर्पाइ, रसिदलगायत दस्ताबेज एक हजार ३०३ फेला परेको छ । कर्मचारीको दरबन्दी, राजीनामा, नियुक्ति, व्यक्तिगत विवरण र बैंक स्टेटमेन्टका एक हजार ८८७ दस्ताबेज सूचीकृत गरिएको छ । 

दुई कोठाका दस्ताबेज अभिलेखीकरण गर्ने क्रममा नेपाली भाषाका ६५६ र अंग्रेजी भाषाका ८६५ पुस्तक फेलापरेका छन् । पुस्तक र दस्तावेजलाई चार भागमा विभाजन गरी सूचीकरण गर्ने काम जारी छ । 

अभिलेखीकरण सकिएपछि नारायणहिटीमै सुरक्षित राखिने वा अभिलेखालयमा ल्याएर संरक्षण गरिने भन्ने विषयमा छलफल भइरहेको अभिलेख अधिकृत हाडाले बताइन् । 





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १७:१९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया