नगरकोटीलाई मन पर्ने पाँच ‘लेडिज’
तस्वीर: कुमार नगरकाेटीकाे फेसबुकबाट ।

काठमाडाैं/ नेपाली उपन्यास लेखनमा फ्यान्ट्यासीमा गज्जब प्रयोग गर्ने कुमार नगरकोटी साहित्यका पाठकलाई चिनाइरहनु पर्ने नाम होइन । उनको नाम नै एउटा स्टाइल बनेको छ, त्यसैले बारम्बार प्रयोग गरिन्छ– द नगरकोटियन स्टाइल ।

नगरकोटी अनेक विषयमा चर्चामा रहन्छन्ः कहिले मदिरा, कहिले सेक्स त कहिले घाट । आफ्नै संसार बनाएर नयाँ पात्रहरु सिर्जना गर्ने यी नगरकोटीलाई प्रभाव पारेका महिला पात्र को हुन् त ? फरक धारको जिज्ञासामा नगरकोटीले आफूलाई प्रभावमा पारेका पाँच महिला पात्रको नाम लिए र ती पात्र मन पर्नुको कारण सुनाए :

१. द्रौपदी —महाभारत

महाभारतकी द्रौपदी मलाई अहिलेकै पात्र जस्ती लाग्छिन्, पोस्ट मोडर्न । उनको बोल्ड अवतार, कौरवहरुप्रतिको बदलाको भावना ड्यान्जरस लाग्छ । रामायणकी कमजोर पतिव्रता सीताभन्दा ठिक विपरित द्रौपदी कति बोल्ड छिन् भने युधिष्ठिर–भिमलाई पनि थर्काउन पछि पर्दिनन् । अहिले हाम्रो युगलाई पनि यस्तै बोल्ड लेडी चाहिएको छ ।

२. लेडी म्याकवेथ—म्याकवेथ

शेक्सपियर सुन्दर र सानदार पात्र सिर्जना गर्छन्, उनको सिर्जना लेडी म्याकवेथ मलाई औधी मन पर्छिन् । उनको जुन मनोविज्ञान छ, त्यो निकै लोभलाग्दो छ । श्रीमानको भाईसँगको सम्बन्ध, श्रीमानलाई मार्न उनले गरेको षडयन्त्रलगायतका विषयले यो लेडीलाई साइकोलोजिकल्ली निकै रहस्यमयी देखाइएको छ । यो त तगडा लेडी पनि हो, मलाई यस्तै तगडा लेडी मन पर्छन् ।



३. सकम्बरी—शिरीषको फूल

पारिजातकी उत्कृष्ट क्रियसन हुन्, सकम्बरी । शिरीषको फूल 'पढ्दा आई फेल इन लभ विथ सकम्बरी ।' उसको जीवन दर्शन र त्यो रुढ तर मायालाग्दो चरित्रले कसलाई पो नलोभ्याउला र ? आई लभ सकम्बरी, सी ईज बोल्ड एन्ड ब्युटिफुल इनफ ।



४. भर्जिनिया उल्फ—द आवर्स

सिनेमा द आवर्समा निकोलस किडम्यान कवि भर्जिनिया उल्फको भूमिकामा छिन् । यो सिनेमा हेरिरहँदा म भर्जिनिया उल्फको सिनेम्याटिक चरित्रको प्रेममा परेँ । यी अष्ट्रेलियन नायिकाले उल्फको भूमिकामा काम गर्न नाकको सर्जरी पनि गरेकी हुन् भन्ने मलाई थाहा भयो । अनि लाग्यो– ओहो ! कत्रो लगाव सिनेमाप्रति, उल्फप्रति । फिल्ममा उनले भर्जिनिया र आफू दुवैको जीवन उतारेकी छिन् । बडा आनन्द आयो मलाई यो फिल्म हेर्दा ।

५.लोलिता—लोलिता

यी फिक्सनल लेडी मलाई निकै इनोसेन्ट लाग्छिन् । भर्खर १६ वर्ष पुगेकी लोलिताका अनलिमिटेड सपनाहरुले मलाई मोहनी लगायो । उसको त्यो निर्दोष अनुहार अनि स्वतन्त्र हुन खोज्ने नेचरले उसको जीवनप्रतिको अनुराग व्यक्त गर्छ । लोलितामाथि बनेका धेरै सिनेमामध्ये मलाई स्टान्ली कुब्रिकले निर्देशन गरेको सिनेमा मन पर्छ । मान्छेहरु उसलाई ‘सेक्सी’ पात्र भन्छन् तर म उसलाई भर्खरै जीवनमा पाइला टेक्न थालेकी युवतीको सपनाहरुको फेहरिस्त भन्छु ।

  • प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार २३:७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया