काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ।
शुक्रबार एक कार्यक्रमका बीच महानगरका मेयर विद्यासुन्दर शाक्यले आधुनिक शौचालयकाे उद्घाटन गरेका हुन् ।
एरोसानसँगको सहकार्यमा निर्माण गरिएको शौचालय ५ स्क्वायर फिटमा निर्माण भएको छ भने यसको लम्बाइ २८ फिट र चौडाइ १२ फिट रहेको छ ।
महिला पुरुष दुवैले प्रयोग गर्न मिल्ने यस शौचालयमा पुरुष युरिनल ४ वटा, क्युविकल २ वटा, महिलाका लागि २ वटा र एउटा समावेशी स्थान बनाइएको छ ।
उदघाटन कार्यक्रममा बोल्दै मेयर शाक्यले काठमाण्डौ महानगरको प्राथमिकता दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरण रहेको बताए ।
यो शौचालयबाट दुर्गन्ध नआउने र महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक सबैका लागि प्रयोगमैत्री भएको मेयर शाक्यकाे भनाइ छ ।
नवनिर्मित शौचालयमा आकाशे पानी संकलन, प्रशोधन र प्रयोग गर्न मिल्ने प्रविधि जडान गरिएको छ । यसमा स्वचालित प्रविधिमा आधारित फोहोर व्यवस्थापन प्रणाली पनि जडान गरिएको छ ।
यस्तै, यस शौचालयमा महिलाहरूलाई प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रविधिबाट पानी र झोल साबुन आउने प्रविधि, हात सुकाउने मेसिन (ह्याण्ड ड्रायर) जस्ता सुविधा जडान गरिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।