logo-img

अब एनआरएनए निर्वाचन कुनै पनि हालतमा नराेकिने एनआरएनएकाे दाबी

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ताहरूले मार्च महिनाको तेस्रो साता तय गरिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

गैरआवासीय नेपाली संघको २१ र २२ मार्चमा तय गरिएको निर्वाचनको तयारीका लागि टिम बद्री केसीले शनिबार आयोजना गरेको अन्तरक्रियामा वक्ताहरूले संघको निर्वाचन हुन ढिला हुँदा अभियान नै गम्भीर दुर्घटना उन्मुख हुन लागेको भन्दै चिन्ता व्यक्त गरे ।

गैरआवासीय नेपाली संघको गत अक्टोबरका लागि तय भएको १०औं महाधिवेशन पटकपटक रोकिएपछि संघका अभियन्ताहरूले संघलाई विघटनको दिशामा लैजान खोजिएको भन्दै आक्रोश पाेखे । 



करिब ४० देशका राष्ट्रिय समितिका अध्यक्षहरूको उपस्थिति रहेको कार्यक्रममा बोल्ने वक्ताहरूले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित उच्चस्तरीय समितिका संयोजक शेष घलेले ६१ देशका महाधिवेशन प्रतिनिधि कटौती गर्न लागेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी डा. बद्री केसीले संघको निर्वाचनको प्रक्रिया अघि बढिसकेको बताउँदै उच्चस्तरीय समितिका दुईजना सदस्य निर्वाचन रोक्न लागिपरेको आरोप समेत लगाए । 

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संघको निर्वाचन प्रक्रियामा परराष्ट्र मन्त्रालयले हदभन्दा बाहिर गएर हस्तक्षेप गरेको कारणले बाध्य भएर पाटन उच्च अदालतमा जानुपर्ने बाध्यता आएको बताए । 



अदालतले चुनाव गराउन वर्तमान कार्यसमितिमा पूर्णअधिकार दिए पछि अध्यक्ष कुमार पन्तले सबै पक्षलाई समेटेर चुनाव बनाउन चाहनु भएको कारणले निर्वाचन गर्न ढिलाइ भएको उनकाे भनाइ छ ।

यस्तो छ निर्वाचन तालिका



गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिका गत साता सार्वजनिक भएको थियाे । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार मनोनयन दर्ताको ४ र ५ मार्चबाट सुरु हुने भएको छ । 

कार्यतालिकाअनुसार यही १७ देखि २२ फेब्रुअरीसम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिनेछ । २३ फेब्रुअरीमा मतदाता नामावली प्रकाशन, २४ देखि २७ फेब्रुअरीसम्म मतदाता नामावलीमाथि दाबी विरोध, आगामी २ मार्चमा दाबी विरोधमाथि निर्णय, ३ मार्चमा अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।

४ र ५ मार्चमा उम्मेदवारको मनोनयन पत्र दर्ता, ६ मार्चमा उम्मेदवारको पहिलो नामावली प्रकाशन, ६ देखि ७ मार्चसम्म उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोध, ८ मार्चमा उम्मेदवारको मनोनयपत्रको जाँच र उजुरीमाथि निर्णय र ९ मार्चमा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।

११ मार्चमा उम्मेदवारले मनोनय फिर्ता, १२ मार्चमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २१ मार्चमा बिहान १० बजेदेखि २२ तारिख बिहान ९ः५९ सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान समाप्त भएलगत्तै मतगणना गर्ने प्रमुख निर्वाचन अधिकृत भीमसेन बञ्जराले जानकारी दिए । संघको अध्यक्षका लागि मनोनयन पत्र दर्ता दस्तुर १० लाख तोकिएको छ ।

  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १३:३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया