एमालेले गर्‍याे निर्वाचन आयोगमा दल दर्ता

नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । 

शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । 

निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिए । 

उनले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरूलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गरे । 

उनले भने, ‘स्थानीय निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना निर्वाचन आयोगले जारी गरेको छ । र, हाम्रो पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनका लागि दल दर्ताका लागि आएका थियौं । दल दर्ता गरिएको छ । र, यसपटक स्वाभाविक रूपमा एउटा नयाँ प्रक्रिया हामीले आरम्भ गरेका छौं, निर्वाचन कानुन अन्तर्गत । अहिले देशभरि नै हामी निर्वाचन केन्द्रित एक प्रकारको प्रशिक्षण कार्यक्रम संचालन गर्दै अघि बढिरहेका छौं । नेकपा एमाले निर्वाचन तयारीमा जुटेको छ । र, अन्य दलहरूलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुनका लागि म अनुरोध गर्छु ।’

यसैबीच, निर्वाचन आयोगले शुक्रबार (आज) दिउँसोसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि ४० वटा दलले दर्ताका लागि निवेदन दिएको बताएको छ । 



निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्वाचन प्रयोजनका लागि हालसम्म ४० वटा दलले दल दर्ता गराएकाे जानकारी दिए ।

उनले हाल निर्वाचन आयोगमा १०९ वटा दल दर्ता भएको र यही फागुन १५ गते भित्र आयोगमा दर्ता भएको दलहरूले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सक्ने कानुनी व्यवस्था भएको पनि स्पष्ट पारे ।



प्रवक्ता शर्माले आयोगले स्थानीय तह निर्वाचनको कामलाई तीव्रताका साथ अघि बढाएको बताउनु भयो । सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेका लागि घोषणा गरेको छ । निर्वाचनको सोही मितिलाई मध्यनजर राखेर तयारीको कामलाई अघि बढाएको निर्वाचन आयोगले जनाएको छ ।

  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १४:५५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया