विद्यार्थी मृत्यु प्रकरण : तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको किटानी जाहेरी

मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्धाको किटानी दिएका छन् ।

तनहुँको भानु नगरपालिका ९ बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका-९ सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माविका सञ्चालक बाबुराम पौडेल, शिक्षक सरोज ओलिया र शिक्षक तीर्थ सेढाईंविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएका हुन् ।

लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले पीडित परिवारको मागबमोजिम किटानी जाहेरी लिएर अनुसन्धान अघि बढाएको बताए ।

कार्कीअनुसार किटानी जाहेरी परेका ३ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । 

लमजुङको सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित फ्युचरस्टारमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मंगलबार मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको थियो ।

होस्टेलमा बस्दै आएका सनिजलाई बोलाएर होस्टेल शिक्षकले पौडी खेल्न लगेको, र होस्टेलमा बसेका छोरालाई पौडी खेल्न जान स्कुल सञ्चालकले स्वीकृति दिएको पीडित परिवारले आरोप लगाएका छन् । 



बुधबारको सहमतिअनुसार प्रहरीले जाहेरी नलिएको भन्दै बिहीबार साँझदेखि उनीहरूले अनिश्चितकालीन बन्दको घोषणा गर्दै तनहुँको बाइसजाँगरमा बेंसीसहर–डुम्रे सडक अवरुद्ध गरेका थिए । 

शुक्रबार प्रहरीले जाहेरी लिएपछि पिडितले जिल्ला अस्पतालमा राखेको शव बुझेर आन्दोलन पनि फिर्ता लिएको पिडितका आफन्त गणेश श्रेष्ठले बताए ।



गत मंगलबार दिउँसो भएको घटनालाई लिएर आक्रोशित बाइसजाँगरका स्थानीयले विद्यालयको गेट, स्कुल बस र भ्यानमा तोडफोड गरेका थिए ।

विद्यालयको लापर्वाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै मंगलबार बाइसजाागरका स्थानीय तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, हवाईफायर र लाठी चार्ज गरेको थियो । 

स्थानीयले प्रदर्शन चर्काउने सूचना पाएपछि अप्रिय घटना हुन नदिने भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार बिहान ६ बजेदेखि राति ९ बजेसम्म स्कुल भएको सिउँडीबार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार ९:२३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया