मुद्दा दायर भएको ७ महिनापछि माधवसहितका १४ सांसदको रिटमा पूर्ण सुनुवाइको आदेश

माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको अन्तिम सुनुवाइका लागि पेस गर्नका लागि सर्वोच्च अदालतले आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको इजलासले आइतबार ओलीले दायर गरेको रिटलाई पूर्ण सुनुवाइमा लैजान आदेश दिएको हो । 

ओलले रिट दायर गरेको ७ महिनापछि पूर्ण सुनुवाइमा लाने आदेश भएको हो । मुद्दाको पक्ष र विपक्ष दुवैतर्फबाट लिखित जवाफ पेस भएको र अन्य मुद्दाको अङ्ग पुगेकाले फैसला केन्द्रीत सुनुवाइका लागि पेसी तोक्न आदेश भएको हो । 

ओलीले अन्तरिम आदेश माग गरेपनि पटक पटक सुनुवाइका लागि पेशी तोकिँदै मुद्दा धकेलिँदै आएको थियो । अब पूर्ण सुनुवाइपछि १४ सांसदको पद कायम रहने वा पदमुक्त हुने टुंगो लाग्नेछ ।

एमालेले २५ साउनको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सचिवालयले सो सूचना टाँस नगरेपछि माधव नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिए ।   

एमालेले वर्तमान नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरू माधवसहित मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनविरुद्ध मुद्दा दर्ता गरेको छ ।  





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १३:१४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया