ज्येष्ठ नागरिकको गुनासो : सामाजिक सुरक्षा रकम बुझ्न अझै सहज भएन

सामाजिक सुरक्षा रकम पाउन अझै सहज हुन नसकेको जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् । सरकारले सहजताका लागि बैंकबाट रकम बुझ्ने व्यवस्था गरे पनि सहज बन्न नसकेको उनीहरुको गुनासो छ । 

आइतबार धनगढीमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । ‘सरकारले बैंकमा स्वयं व्यक्तिको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता रकम दिने व्यवस्था गरेको छ’, धनगढीका ज्येष्ठ सदस्य कुलबहादुर हमालले भने, ‘तर, बैंकमा पुग्दा सहजै पाउने अवस्था हुँदैन । लामो समय लाइन लाग्नुपर्ने हुन्छ । त्यसले गर्दा समस्या हुन्छ ।’ ७० वर्षमाथिका मानिस शारीरिक रुपमा त्यसै पनि अशक्त भइसकेको हुँदा लाइन लाग्नुपर्ने समस्या हुने गरेको उनले गुनासो गरे । उनले सरकारले दिने ‘क’ र ‘ख’ वर्गको अपांगता परिचय पत्रमा पनि विभेद हुने गरेको बताए ।

यस्तै, अर्को ज्येष्ठ नागरिक धर्मानन्द अवस्थीले बैंकमा ज्येष्ठ नागरिकलाई छुट्टै काउन्टर नहुँदा समस्या हुने गरेको बताए । ‘बैंकमा राम्रो व्यवस्था हुँदैन । त्यसले गर्दा रकम बुझ्ने समस्या भएको हुन्छ । यसले गर्दा मजस्ता ज्येष्ठ नागरिकलाई सहिनसक्नु पीडा हुन्छ ।’

यस्तै, शारीरिक रुपमा अशक्त नन्दराज भट्टले तराईमा अपांगता भएको व्यक्तिका लागि सहज भए पनि पहाडमा समस्या हुने गरेको बताए । ‘तराईमा गोरुगाडामा भए पनि बैंकसम्म पुग्ने व्यवस्था हुन्छ’ भट्टले भने, ‘पहाडमा भने समस्या छ । त्यसको कुनै विकल्प रोज्न आवश्यक छ ।’

कार्यक्रममा अर्का शारीरिक रुपमा अशक्त भएका मानबहादुर बस्नेतले सरकारले दिने सामाजिक सुरक्षा भत्ताले जीवन निर्वाहमा अपुग हुने गरेको गुनासो गरे । ‘सरकारले दिने अपांग भत्ताले मात्र जीवन चल्दैन’, उनले भने, ‘शारीरिक रुपमा अपांग भएका व्यक्तिलाई आयआर्जनका कार्यक्रम दिन आवश्यक छ ।’

कार्यक्रममा धनगढीका विभिन्न वडासचिवले पनि आफ्नो समस्या व्यक्त गरेका थिए । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का वडा सचिव धर्मानन्द पाण्डेले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले हस्ताक्षरविना भत्ता नबुझ्ने गरी कानुनी व्यवस्था हुनुपर्ने बताए । 



कार्यक्रममा लक्ष्मी विकास बैंक धनगढी शाखाका प्रमुख दिवाकर जोशीले सामाजिक सुरक्षा रकम वितरणमा आफूहरुले व्यवस्थित गरिरहेको दाबी गरे । ‘त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण हुन्छ’, उनले भने । ‘वृद्ध आमाबुबाहरु एकै दिन आउँदा केही समस्या भएको हुन सक्छ ।’ उनले शारीरिक रुपमा अशक्त भएका अर्थात ९० वर्षभन्दा माथि उमेर भएकाहरुलाई घरमा पुर्याउन आफूहरु तयार रहेको बताए ।

धनगढी वडा नम्बर ६ का वडा अध्यक्ष भागिराम चौधरीले नागरिकता दिन र जन्मदर्ता गर्दा केही समस्या हुने गरेको धारणा व्यक्त गरे । 



कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रमाण पुगेमा कोही पनि व्यक्ति नागरिकताबाट वञ्चित नहुने बताए । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले सामाजिक सुरक्षाभत्ता दुरुपयोग हुने गरेको गुनासो आएपछि बैंकबाट मात्र भुक्तानीको व्यवस्था मिलाएको बताए । ‘सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको देशभरबाट गुनासो आयो । त्यसपछि सरकारले स्वयं व्यक्ति नै उपस्थित भए मात्र भत्ता बुझ्ने व्यवस्था गरेको हो ।’ 

उनले सामाजिक सुरक्षा भत्ता बुझ्दा भएका समस्या निराकरण गर्नका लागि स्थानीय सरकार बैंकको सहकार्य अगाडि बढ्न उनले सुझाए । कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मीना अर्यालले कार्यक्रममा स्वागत तथा उद्देश्यमाथि प्रकाश पारेकी थिइन् । पञ्जीकरण विभागको आयोजना र धनगढी उपमहानगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, वडा सचिव, जनप्रतिनिधि, प्रहरी र पत्रकारको उल्लेख्य सहभागिता रहेको थियो ।
 

  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १९:७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया