बलात्कारपछि फरार अभियुक्त पाँच वर्षपछि पक्राउ

बाजुरामा एकल महिला बलात्कार गरी फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको जगन्नाथ गाउँपालिका–५ तल्लो काप्रीका ३२ वर्षीय नवराज शाही रहेका छन् ।

गाउँघरमा नै लुकिछिपी बसेको भन्ने सुराकीका आधारमा उनलाई आइतबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक चर्तुभुज ओझाले जानकारी दिए ।  

शाही १३ पुस २०७४ को राति कोही नभएको मौका छोपी एकल महिलालाई बलात्कार गरेर फरार थिए । पीडित महिला बस्नका लागि समेत घर नभएर दुई छोराछोरी जेठाजुको घरमा बस्दै आएकी थिइन् । सोही मौकामा शाहीले ती महिलालाई बलात्कार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

‘अभियुक्त नेत्र भन्ने नवराज शाही प्रहरीले खोजतलास गर्दासमेत फेला नपरी जिल्ला तथा मुलुक बाहिर विभिन्न स्थानहरूमा लुकिछिपी बस्दै आएको भन्ने बुझिएको थियो । प्रहरीको टोलीले उनलाई विशेष सुराकीको आधारमा ५ वर्षपछि फक्राउ गर्न सफल भएको छ,’ डिएसपी ओझाले भने ।

शाहीलाई बाजुरा जिल्ला अदालतको ३ भदौ २०७६ को फैसलाले २ वर्ष ६ महिना कैद सजाय तोकेको थियो । त्यसपछि उच्च अदालत दिपायलले पनि ३० मंसिर २०७७ मा अभियुक्त शाहीलाई २ वर्ष ६ महिना कैद तोकेको थियो । 

उनलाई सोमबार जिल्ला अदालतको अनुमति लिएर जिल्ला कारागार चलान गरिएको छ । 





  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार १२:४२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया