\
आइसिसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोली युएईसँग ४८ रनको पराजय बेहोरेको छ ।
१६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३५.१ ओभरमा अलआउट हुँदै १२० रनमा समेटियो ।
नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिँदा ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
युएईविरुद्धको खेलमा देखिएका नेपालका केही कमजोरी
ब्याटिङ
नेपालको परम्परागत कमाजोरी हो ब्याटिङ । युएईविरुद्धको खेलमा पनि त्यसले निरन्तरता पायो ।
१६९ रनको माध्यम लक्ष्य पछ्याएको नेपालले सुरुवातमै विकेट गुमाउन पुग्यो । नेपालले पहिलो विकेटका रूपमा ४.१ ओभरमा कुशल भर्तेललाई व्यक्तिगत ११ रनमा गुमाएको थियो ।
त्यस्तै, नेपालले दोस्रो विकेटमा आसिफ शेखलाई गुमायो । उनलाई गुमाउँदा नेपालले मात्रै १९ रन जोड्न सकेको थियो । खेलमा उनको ७ रनको योगदान रह्यो ।
८.५ ओभरमा दीपेन्द्रसिह ऐरीलाई व्यक्तिगत ४ रनमा रन आउटका रूपमा गुमाउँदा नेपालको खातामा मात्र २७ रन थियो ।
चौथो विकेटका लागि रोहितकुमार पौडेल र ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय साझेदारी गर्दै नेपालको आस जगाएका थिए ।
चौथो विकेटका रूपमा ज्ञानेन्द्र मल्ललाई गुमाउँदा २२.६ ओभरमा ८२ रन जोडेको नेपाल सामान्य स्थितिमा पुगेको थियो । ज्ञानेन्द्रले २८ रनको योगदान दिए ।
नेपालका लागि रोहितले सर्वाधिक ४६ रनको योगदान दिए । २९.४ ओभरमा उनलाई गुमाउँदा नेपाल १०७ रन जोडेको थियो ।
रोहित आउट भएपछि नेपालले मात्र १३ रन बनाउँदा ३ विकेट गुमायो । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ७, सोमपाल कामी र करण केसीले ६–६ रन जोडे ।
आरिफ शेख र कमलसिह ऐरी शून्य रनमा पेभिलियन फर्कंदा ११ बलको सामना गरेका सागर ढकाल शून्य रनमा अविजित रहे ।
नेपाललाई सस्तैमा समेट्न युएईका लागि बसिल हमिदले ४, जुनैद सिद्दिकीले ३, जाहोर खान र रोहन मुस्ताफाले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।
बलिङ
विगतदेखि नै नेपालको बलिङ राम्रो मानिँदै आएको छ । युएईजस्तो बलियो टोलीलाई १६८ रनमा समेट्नु कमजोर बलिङ होइन, तर नेपालले जस्तो सुरुवात गरेको थियो त्यसलाई निरन्तरता दिन भने सकेन ।
विशेष गरी नेपालले मध्यम ओभरमा कमजोर बलिङ गरेको थियो । एक समय १०.३ ओभरमा ३५ रन बनाउँदा ४ विकेट गुमाइसकेको अवस्थामा पाँचौ विकेटका लागि रोहन मुस्ताफा र चन्दनग्पोयल रिजवानले ७७ रनको महत्त्वपूर्ण साझेदारी गर्दै युएईको पारी उकासेका थिए ।
यही साझेदारी नेपालको हारको प्रमुख कारण बन्यो । दुवैले टोलीका लागि समान ४० रनको योगदान दिए ।
यी दुईलाई गुमाउँदा ३८.१ ओभरमा १३४–६ अवस्थामा रहेको युएईलाई नेपालले उत्कृष्ट पुनरागमन गर्दै ४६.१ ओभरमा १६८ रनमै समेटेको थियो ।
यदि नेपालले समयमै रोहन र नन्दनग्पोलको विकेट लिन सकेको भए युएईलाई अझै सस्तैमा समेट्न सक्थ्यो ।
नेपालका लागि सोमपाल कामीले ४, करण केसीले ३ तथा सागर ढकाल, सन्दीप लामिछाने र दीपेन्द्रसिह ऐरीले १–१ विकेट हात पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।