logo-img

चिनियाँ विदेशमन्त्रीलाई एमाले अध्यक्ष ओलीले के भने ?

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । 

तीन दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुअघि उनले नक्सालस्थित होटल मेरियटमा ओलीसँग भेटवार्ता गरेका हुन् ।

‘अध्यक्षज्यूले भेटमा पछिल्लो समयमा खासगरी बिआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ्स)सँग जोडिएर जुन आयोजनाहरू हामीले अघि बढाउन सहमति गरेका छौं, तिनीहरूलाई निरन्तरता दिनुपर्छ । तिनीहरूलाई छिटोभन्दा छिटो सम्पन्न गनुपर्छ भन्ने धारणा राख्नुभयो’, भेटवार्तामा सहभागी एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई भने । 

भेटमा द्विपक्षीय विषयका धेरै मुद्दामा छलफल भएको उनले जानकारी दिए ।

नेपालले फाइदा लिनसक्ने सडक, रेल, सिँचाइ, जलविद्युत उत्पादन, नाका निर्माण, स्वास्थ्य तथा शिक्षाका आयोजना छिटो अघि बढाउनु पर्ने धारणा अध्यक्ष ओलीले राखेका थिए । 

‘कोरोना महामारीपछि नेपालमा केही समस्या उत्पन्न भएका छन् । नाका बन्द भएका छन् । नाका खुल्नु पर्‍याे । नेपाली विद्यार्थी जो चीनमा अध्ययनरत थिए, कोरोनाका कारण उनीहरू फर्केर आए । छिटो उनीहरूलाई फर्काएर पढाइ सुचारु गर्नुपर्‍याे’, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने ।  



हुम्लाभन्दा पारी चीनमा करिब पाँच सय जना नेपाली अड्किएको बारेमा पनि ओलीले चिनियाँ विदेशमन्त्री समक्ष कुरा राखेका थिए । 

यसबारे सत्यतथ्य पत्ता लगाएर चीनमा नेपाली अड्किएर बसेको अवस्था हो भने छिटो फर्काउने व्यवस्था मिलाउन उनले अनुरोध गरेका थिए । 



जवाफमा चिनियाँ विदेशमन्त्री वाङले सहमति छिटो कार्यान्वयन तर्फ लैजाने प्रतिवद्धता दोहोर्‍याएका छन् ।

उनले ठूलो र सानो राष्ट्रको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने चीन र नेपालले देखाएको समेत बताए । 

  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १२:५५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया