logo-img

चिनियाँ विदेश मन्त्री वाङ र प्रचण्डबीच के भयो कुराकानी ?

चिनियाँ विदेश मन्त्री वाङ यी र पूर्वप्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । विदेशमन्त्री यी र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच आइतबार काठमाडौंस्थित मेरियट होटलमा भेटवार्ता भएको हो । 

भेटवार्तामा विदेशमन्त्री यीसँगै उनका तर्फबाट प्रतिनिधिमण्डल र अध्यक्ष दाहालका तर्फबाट पनि प्रतिनिधिमण्डल सहभागी भएको थियो । 

भेटवार्ताको क्रममा माओवादी केन्द्रले बीआरआई परियोजना लगायतका परियोजनालाई कार्यान्वयनका निम्ति आवश्यक पहलकदमी लिनुपर्ने कुराको चर्चा गरेको माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जानकारी दिए । 

त्यस्तै, दुई देशबीचको व्यापार घाटालाई सन्तुलित बनाउन व्यापार नाकाहरूलाई नियमित गर्न प्रयास बढाउनुपर्ने विषय राखेको उनले बताए । 

‘हाम्रो पार्टीको तर्फबाट दुई देशबीचको ऐतिहासिक सम्बन्धहरूको बारेमा, दुई पार्टीहरूका बीचका सम्बन्धहरूका बारेमा चर्चा भयो । कोभिडको महामारीमा चीन सरकारको तर्फबाट गरिएको सहयोग, नेपालको पूर्वाधार निर्माणलगायतका विकास प्रयासहरूमा चीनका तर्फबाट गरिएका सहयोगका निम्ति धन्यवाद ज्ञापन गर्ने कुरा भयो । त्यसैगरी बिआरआईलगायतका जो परियोजनाहरू छन्, त्यसको कार्यान्वयनका निम्ति आवश्यक पहल बढाउनको निम्ति लिने पहलकदमीको बारेमा चर्चा भयो,' उनले भने । 

उनका अनुसार पछिल्लो महामारीलगायतका केही सन्दर्भहरूका कारणले व्यापार घाटा बढ्दै गइराखेको दुई देशबीच त्यसलाई सन्तुलित गर्न विषयमा पनि कुराकानी भएको छ । 'त्यसमा एउटा सकारात्मक परिणामका निम्ति व्यापार नाकाहरूलाई नियमित गर्ने, सहजीकरण गर्ने र त्यसलाई सन्तुलित गर्नका निम्ति प्रयास बढाउने बारेमा हाम्रो तर्फबाट चर्चा गरियो । र त्यो अनुसार उहाँहरूसँग पनि कुरा भयो’ उनले भने ।



माओवादी केन्द्रले नेपालमा चीन विरोधी गतिविधि हुन नदिन पार्टीको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने पनि बताएको छ । त्यसैगरी, चिनियाँ पक्षले दुई देशबीचको पुरानो र ऐतिहासिक सम्बन्धको चर्चा गर्नुका साथै नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिस्ट पार्टी बीचको सम्बन्धबारे पनि चर्चा गरेको नेता बस्नेतले बताए । नेपालको सबै राजनीतिक दलहरूसँग चीनको सम्बन्ध सुदृढ हुँदै गएको कुरा चिनियाँ पक्षले राखेको उनले बताए । 

‘उहाँहरूले पनि दुई देशबीच पुरानो र ऐतिहासिक सम्बन्धको, दुई पार्टी बीचको सम्बन्धबारेमा चर्चा गर्नुभयो । हाम्रो पार्टीको अध्यक्षलाई चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ जनताको एउटा असल मित्रको रुपमा उहाँहरुले चित्रण पनि गर्नुभएको थियो । त्यस अतिरिक्त उहाँहरुले नेपालका सबै राजनीतिक पार्टीहरू सँगको सम्बन्ध सुदृढ हुँदै गइराखेको र राम्रो हुँदै गइराखेको बारेमा चर्चा गर्नुभएको थियो,' उनले भने ।



आफ्ना तर्फबाट वान चाइना पोलिसी र नेपालको भूमि चीनविरोधी कुनै पनि गतिविधिको निम्ति प्रयोग हुन नदिने, नेपालको तर्फबाट गर्दै आएको प्रतिबद्धताहरूलाई अझ व्यावहारिक रूप दिनको निम्ति पार्टीको तर्फबाट पनि आवश्यक सकारात्मक भूमिका निर्वाह गर्ने बारेमा चर्चा भएको उनले बताए ।

चिनियाँ विदेश मन्त्रीले चीन र नेपालबीचको सम्बन्ध छिमेकीका रूपमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेको माओवादी केन्द्रका नेता बस्नेतले बताए ।

  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १४:३४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया