logo-img

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : कुन दिन केमा व्यस्त रहे ?

भारतको बाटो हुँदै शुक्रबार नेपाल आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार दिउँसो स्वदेश फर्किए । उनी नेपाल आउनुपूर्वदेखि राजनीतिक वृत्तमा विभिन्न चर्चा भए । सो चर्चा अझै सेलाएको छैन । 

अझ, वाङले बिआरआईलगायत परियोजनासँग जोडिएका विषयलाई अघि बढाउन र त्यसलाई नियमित गर्न चीन सरकारका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाएका छन् । तर, वाङसँग शनिबार परराष्ट्र मन्त्रालयले नौवटा समझदारी भएको भन्दै विज्ञप्ति जारी गरेको थियो । उक्त विज्ञप्तिमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अघि सारेको बिआरआई परियोजनाबारे केही पनि उल्लेख छैन । 

विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायण खड्कासँग प्रत्यक्ष भेटवार्ता गरेका थिए । चीन नेपालबीच भएका सम्झौताहरूको कार्यान्वयन पक्ष कमजोर रहने गरेका अवस्थामा नेपाल चीनबीच भएका पछिल्ला सम्झौता कार्यान्वयन होलान् त ? भन्ने विषयमा समेत आशंका हुँदै आएको छ ।



भेटमा के भयो ? 

शुक्रबार



परराष्ट्रमन्त्री ना​रायण खड्काको निमन्त्रणमा वाङ शुक्रबार नेपाल आएका हुन । खड्कासहितको टिमले उनलाई विमानस्थलमा स्वागत गरेको थियो ।

दिल्लीबाट काठमाडौं आउने क्रममा नेपालको एयर स्पेसमा आधा घण्टा ‘नोटाम’ लागू हुने बताइएको छ । उक्त अवधिभर नेपालको आकाशमा कुनै पनि जहाज उड्न नपाउने जानकारी गराइएको थियो । 



उनको सुरक्षामा नेपाल प्रहरीको विशेष टोली तैनाथ खटिएको थियो । विमानस्थलबाट उनी सोझै बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा पुगे । शुक्रबार त्यसबाहेक अन्य कुनै औपचारिक कार्यक्रम तय भएका थिएनन् । 

शनिबार

शनिबार बिहानै वाङ हाइकिङका लागि काठमाडौंको उत्तरपश्चिम कुनामा रहेको शिवपुरी डाँडातर्फ लागे । बत्तिसपुतलीस्थित होटल द्वारिकाजबाट बिहान साढे ७ बजे निस्किएका वाङ गौशाला, ज्ञानेश्वर, केशरमहल, लैनचौर, सोह्रखुट्टे, बालाजु, नागार्जुन हुँदै गाडीमा तीनपिप्ले मुनि पुगेर डाँडातिर पैदल उक्लिएका थिए ।

अघिल्लोपटक नेपाल आउँदा उनी नगरकोटमा हाइकिङ गरेका थिए । अन्य देशको भ्रमण गर्दा उनी हाइकिङमा निस्कँदैनन् । तर, नेपाल भ्रमणमा आएका बेला उनी हाइकिङ गर्न छुटाउँदैनन् । नेपालका सुन्दर पहाडले उनलाई लोभ्याउने गरेको बताइन्छ । 

हाइकिङ सकेर वाङले शनिबार दिनभर सरकारी स्तरका भेट सम्पन्न गरे । परराष्ट्रमन्त्री खड्कासँग दिउँसो सिंहदरबारमा भेट भएको थियो । भेटपछि प्रतिनिधिमण्डलस्तरमा वार्ता र समझदारीपत्रमा हस्ताक्षरपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्री निवास बालुवाटार पुगे । साँझ प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्न बालुवाटार पुगेका थिए । त्यहाँ उनले प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणा गरेका थिए । 

पोखरा विमानस्थल चिनियाँ सहयोगमा बनाइएको हो । उनको स्वागतमा शनिबार साँझ ७ः३० बजे होटल द्वारिकाजमा रात्रिभोज आयोजना भएको थियो ।  

आइतबार

वाङ पूर्वनिर्धारित कार्यक्रमअनुसार शनिबार बिहान राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए । त्यहाँको शिष्टाचार भेटपछि वाङ सोझै होटल मेरियटमा पुगेका थिए । 

राजनीतिक वृत्तमा होटल मेरियटको भेटलाई महत्वका साथ हेरिएको पनि थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेट भयो । प्रचण्डको सचिवालयका अनुसार नेपाल–चीन सम्बन्ध र दुई देशबीचको हितलगायतका विषयमा छलफल भएको थियो । 

उता, एमालेका नेताहरुले पनि बिआरआई अघि बढाउन आग्रह गरेको बताएका छन् ।


 

  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार २१:५०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया