६ फागुन ०७३ मा जनयुद्धको आधार इलाका रोल्पाको लिबाङमा उभिएर प्रचण्डले भनेका थिए- ‘रोल्पाका जनताको सहयोग नभएको भए, रोल्पाको योद्धाहरूको बलिदान र तपस्या नभएको भए म पनि प्रधानमन्त्री बन्न संभव थिएन ।’
लिबाङमा आयोजित ‘रोल्पा महोत्सव’ उद्घाटनमा उपस्थित भएका प्रचण्डले त्यतिमात्र भनेनन् । आफू अप्ठेरोमा परेकोले रोल्पाली जनताको साथ माग्न आएको पनि बताएका थिए ।
त्यतिबेला प्रचण्ड प्रधानमन्त्रीको रूपमा दोस्रोपटक रोल्पाली जनताको अगाडि उभिएका थिए ।
‘म अप्ठ्याराेमा परेपछि हिजो युद्धको बेलामा पनि रोल्पामा नै आउने गर्थेँ । तपाईंहरूसँग बस्दै गर्दा थुप्रै अप्ठ्याराहरू गएको महसुस मैले गरेको थिएँ । यो परिवर्तनलाई कमजोर बनाउने तत्वको विरुद्ध खबरदारी गर्न फेरि रोल्पाली दिदीबहिनीलाई आग्रह गर्ने अवसरको रूपमा मैले यो मञ्चलाई लिएको छु’, उनले भाषणका क्रममा भनेका थिए ।
त्यतिबेला पनि देशमा स्थानीय निर्वाचनको रौनक थियो । स्थानीयसहित तीनै तहको निर्वाचन सम्पन्न गर्न रोल्पाली जनतालाई प्रचण्डले आग्रह गरेका थिए ।
सोही थलोमा प्रचण्ड आज फेरि पुगेका छन् । अहिले पनि देशभरिकै माहोल निर्वाचनकेन्द्रित छ । उनले त्यहाँ पुगेर ‘भ्यू टावर’को उद्घाटनदेखि लिबाङमा पुगेर जनसभालाई सम्बोधन गर्दैछन् ।
अप्ठ्याराेमा साथ खोज्दै रोल्पा ?
०७४ को निर्वाचनको मुखमा रोल्पा पुगेका प्रचण्डले रोल्पालीको साथ माग्न आएको स्वीकार गरेका थिए ।
‘संविधान कार्यान्वयनमा रोल्पालीको साथ सहयोग माग्न रोल्पा आएको छु’, प्रचण्डको प्रष्ट माग थियो ।
त्यतिमात्र होइन, प्रचण्डले आफूलाई रोल्पालीकै छोरा भएको पनि बताएका थिए। शान्ति प्रक्रियापछि प्रचण्डले बिर्सिएका रोल्पाली जनताका अघि उभिएर यसो भनिरहँदा उनले आफूलाई हक र जिम्मेवारी दुवै भएको स्वीकारोक्ति पनि गरेका थिए ।
१० वर्षसम्म चलेको जनयुद्धको आधार भूमिमात्र नभई युद्धका अवशेष अझै पनि भेटिन्छन्- रोल्पामा ।
रोल्पाका ढुंगामा माओवादी ‘जनयुद्ध’ का बेला नीला, राता रङले लेखिएका राज्यविरुद्धका नारा अझै पनि प्रशस्त देखिन्छन् ।
त्यहाँका ढुंगाहरूमा नेकपा माओवादी जिन्दावाद, प्रचण्डपथ जिन्दावाद, थबाङ रोल्पा सबैलाई स्वागत गर्दछ, संसारका मजदुर एक हौं लगायतका नाराहरू कोरिएका थिए ।
रोल्पाको होलेरीदेखि घर्तीगाउँ र त्यसको आसपास भएको उनको घुमघामलाई त्यतिबेला धेरैले हेरेका थिए । यसरी हेरेका थिए कि मानौं दश वर्षदेखि हराइरहेको सन्तान फर्किएको छ ।
आफू संकटमा परेपछि मात्र प्रचण्डले रोल्पा, रुकुमजस्ता जनयुद्धका आधार इलाकालाई सम्झने गरेका छन् ।
पाउलान् त साथ ?
रोल्पाबाटै राजनीति गरेर सत्तामा पुगेका नेतालाई रोल्पाका मानिसले कसरी हेर्छन् ? ‘जनयुद्ध’ देखि ‘गणतन्त्र’ सम्म आइपुग्दा रोल्पामा केकस्ता खासखास परिर्वतन देखिए ? रोल्पामा विद्रोहको झिल्को अझै बाँकी छ ? लगायतका कैयन प्रश्नहरू अहिले पनि अनुत्तरित नै छन् ।
सशस्त्र जनयुद्धमा सँगै रोल्पामा समय बिताएका धेरै नेताले प्रचण्डको साथ छाडिसके । निर्वाचन नजिकिँदा मात्रै रोल्पा पुग्ने गरेका प्रचण्डले यो पटक पनि जनतालाई आश्वासनको बीउ रोपेर फर्किने निश्चित छ ।
निर्वाचनको मुखमा प्रचण्डले दिने आश्वासन र रोल्पाली जनताले १० वर्षे युद्धमा गरेको संघर्षको तालमेल कतै देखिँदैन । अहिले पनि रोल्पाली जनताको जीवनस्तर प्रचण्डले देखाएको सपनाभन्दा निकै तल रहेको विश्लेषण हुँदै आइरहेकाे छ ।
मान्छेले बिर्सन चाहे पनि विगतले डसिरहन्छ । युद्धका घाउहरू बोकेर बाँचेको रोल्पामा युद्धका योद्धाहरूले नै स्थानीय तहदेखि केन्द्र सरकारसम्म नेतृत्व गरिसकेका छन्।
तिनको काँधमा देशकै सबैभन्दा ठूलो जिम्मेवारी थियो । तर, रोल्पाली जनताले भने अझै त्यसको अनुभव गर्न सकेका छैनन् ।
थवाङलाई कहिले सम्झन्छन् प्रचण्ड ?
कुनै समयमा माओवादी र थवाङ एउटै हो भन्दा पनि फरक पर्दैन थियो । सदरमुकामबाट २८ कोष टाढा दर्जनौं पहाड काटेर २ दिनको पैदल यात्रापछि पुगिन्छ- थवाङ।
हेलिकोप्टरबाट रोल्पा पुगेका प्रचण्ड राजधानी लिबाङमा आयोजित कार्यक्रममा सरिक भएर काठमाडौं फर्किँदैछन् ।
माओवादी जन्मिएको ठाउँ, हुर्किएको आँगन, जनयुद्धको जग हालेको भूमिकाका रूपमा परिचित थवाङका जनताले ०६४ सालको निर्वाचनमा ३ मतबाहेक सबै माओवादी केन्द्रमा खसालेका थिए ।
३९ जनाले देशको नाममा रगत बगाएको, सयौं घाइते, अपांग, टुहुरा, एकल महिलाको योगदान भएको इतिहास थवाङसँग जोडिएको छ ।
प्राय: मगर र दलितको बसोवास रहेको थवाङ स्वच्छ, इमान्दार, लगनशील, समाजप्रति समर्पणको भावना अनि बलिदानीपूर्ण इतिहासका कारण परिचित छ ।
इतिहासमै राजा र राज्यसत्ताबाट अलग हुन चाहन्थे- थवाङीहरू । शान्ति प्रक्रियापछि माओवादी चुनावमा सहभागी भएसँगै ०६४ मा ३ मत बाहेक सबै प्रचण्डलाई दिएका थिए ।
तिनै थवाङीहरूले ०७० सालको संविधानसभामा एकमत पनि खसालेनन् । २०३८ सालमा रित्तो मतपेटिका फिर्ता गरेको इतिहास छ- थवाङको । ०५६ मा भने हेलिकाेप्टरमा पुगेका २ जनाले मात्र मतदान गरेका थिए । ०५४ मा चुनाव नै भएन ।
दोस्रो संविधानसभाको निर्वाचनलाई पनि ‘थवाङ’ले पूरै बहिष्कारको नीति लिएको थियो ।
सत्तामा हुँदा के पायो रोल्पाले ?
नेपालमा कुनै बेला चरम युद्ध पनि भएको थियो र हजारौं मानिस मारिएका थिए। रोल्पा त्यसको उद्गम थलो थियो । तर, रोल्पाले राजनीतिक परिवर्तन भन्दा बाहेक केही पनि पाएको छैन ।
सत्ताको आँखाबाट नियाल्ने हो भने पनि शीर्षस्तरमा रोल्पाली नेताहरू पुगिसकेका छन् । उपराष्ट्रपति नन्दकिशोर पुन, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वऊर्जामन्त्री वर्षमान पुन रोल्पाकै हुन् । प्रचण्ड आफैं पनि पहिलोपटक रोल्पाबाटै निर्वाचित भएर संसदमा प्रवेश गरेका थिए ।
सत्तामा पुगेपछि पनि रोल्पाले केही नपाएको भन्दै त्यहाँका जनता निकै दुखी भएको स्थानीय बताउँछन् ।
अहिले माओवादी ‘जनयुद्ध’ को विरासत नै धरापमा परेको टिप्पणी भइरहँदा प्रचण्डले यो निर्वाचनमा एजेण्डा प्रस्तुत गर्दै रोल्पाली जनताको आँखामा ‘छारो’ हाल्न सफल देखिने बुझिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।