एनआरएनएले पशुपति क्षेत्रमा वृद्धाश्रम बनाउने

गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्षहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ दिलाएका छन्।
 
सोमबार अपराह्न संघको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा.बद्री केसी तथा रविना थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ दिलाएका हुन् । नेपाल आउन नसकेका नवनिर्वाचित पदाधिकारीहरुले जुमबाटै शपथ लिएका थिए ।
   
गत शनिबार र आइतबार होटेल हिमालयमा आयोजित संघको दशौँ महाधिवेशनमा तीनजना अध्यक्षलगायत १०० भन्दा बढी पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको थियो। तीनैजना अध्यक्षहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका थिए । कार्यक्रमको सञ्चालन नवनिर्वाचित महासचिव गौरीराज जोशीले गरेका थिए ।
 
पशुपति क्षेत्रमा एनआरएनएले वृद्धाश्रम बनाउने

नवनिर्वाचित अध्यक्ष कुल आचार्यले नेपाल सरकार तथा पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरी एउटा वृद्धाश्रम बनाउन प्रस्ताव राखेका थिए ।  

उनले राखेको कम्तीमा १०० कोठा रहेको अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न वृद्धाश्रम बनाउने प्रस्तावलाई कार्य समितिको पहिलो बैठकले पारित गरेको छ ।  आचार्यले आफ्नो तर्फबाट उक्त परियोजनाका लागि एक करोड प्रदान गर्ने घोषणा पनि गरे ।

उक्त वृद्धाश्रमका लागि उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव गौरी जोशी तथा कोषाध्यक्ष सुनिल साहले २५, २५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए। त्यस्तै, अर्का महासचिव डा. केशव पौडेलले १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे । पहिलो बैठकबाटै उक्त परियोजनाका लागि ३ करोडभन्दा बढी रकमको प्रतिबद्धता व्यक्त गरिएको छ ।

अर्का नवनिर्वाचित बद्री केसीले यो कार्यकालमा स्मार्ट एप प्रयोग गरेर ‘क्राउड फन्डिङ’ गर्ने जनाए । उनले कुल परियोजना लागतको ३३–३३ प्रतिशत रकम उठाउने जिम्मा तीनैजना अध्यक्षले लिने बताए।  उक्त बैठकले वृद्धाश्रम बनाउनका लागि सकभर पशुपति क्षेत्रमै जग्गा उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने भन्ने प्रस्ताव पनि पारित गरेको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएपछि रकम उठाउन सुरु गर्ने उनले बताए । संघको केन्द्रीय सचिवालयले उक्त परियोजनाको लागि १५ देखि १७ करोडसम्म लागत लाग्न सक्ने अनुमान गरेको छ ।  



यसअघि सोमबार दिउँसो निवर्तमान अध्यक्ष कुमार पन्तले नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा. बद्री केसी तथा रविना थापालाई खादा र माला लगाइदिएर पद बहाली गराएका थिए ।

उनले तीनैजना अध्यक्षहरुलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे ।



आइतबार राति संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरेपछि संघका पदाधिकारीले सोमबार बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए ।

  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार २१:१८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया