logo-img

हनोइको ट्रेन स्ट्रिट : रेल्वे लिकमाथि चलेकाे दैनिकी

भियतनाम– हनोइको पुरानो क्वार्टर हुँदै गुज्रने एउटा स्ट्रिट छ, जसलाई मानिस ‘ट्रेन स्ट्रिट’ भनेर चिन्दछन् । संसारका अन्य स्ट्रिटभन्दा भिन्न लाग्ने यो स्ट्रिट हत्तपत्त खाली हुँदैन । हरपल रेल गुडेर होइन, खेल्ने केटाकेटीदेखि कपडा, बिस्कुन सुकाउने वृद्धवृद्धासम्मले सधैँ टनमन्न रहन्छ यहाँको रेल्वे ट्र्याक । 

साँघुरो गल्लीबीच रेल्वे ट्र्याक, दायाँबायाँ लहरै पुराना घर । यहाँका बासिन्दाका लागि आँगन–पिँढी नै यही ट्र्याक हो । अधिकांशको दैनिकी रेल्वे ट्र्याकभित्रै बित्छ ।



बस्ने, खेल्ने, घाम ताप्ने, गफ गर्नेदेखि नुहाउने, लुगा धुने, भाँडा माझ्ने, तरकारी केलाउनेसम्मका काम बाहिरै गरिरहेका देखिन्छन् यहाँका स्थानीय । यससँगै, पैदलयात्री, साइकल, मोटरसाइकल र स्ट्रिट व्यापारीसम्मले निर्धक्कसँग रेलको लिक प्रयोग गरिरहेका हुन्छन् । 



ट्र्याकको दायाँबायाँ थोरै मात्र स्पेस छन् । त्यही पनि त्यति सफा छैनन् । भुइँका नमिलेका ढुंगाहरुले हिँड्नै कठिन पारिदिन्छन् । घुमेर हेर्दा ट्रेन स्ट्रिटले भियतनामका अन्य गल्लीहरुकै झल्को दिन्छ, फरक छ त बीचमा एउटा रेल्वे ट्र्याक । 

यहाँ दिनको दुईपटक रेल आउँछ, दिउँसो साढे तीन बजे र बेलुकी साढे सात बजे । यहाँ रेल आउँदा कुनै ‘वार्निङ साइरन’ बज्दैन । तैपनि, रेल आउँदा कुनै हैरानी देखिन्न, मान्छेको भागदौड हुँदैन । 



रेल आउनुअघि नै सबै मानिस आ–आफ्नो घरभित्र पस्छन् । ट्र्याक सफा र शान्त देखिन्छ । यतिखेर कोही हतारमा गर्दागर्दैको काम छोडेर दौडेका देखिन्नन् । शान्त र नियमित अवस्थामै देखिन्छन् यहाँका बासिन्दा । तर, उनीहरुको समय व्यवस्थापन नै यस्तो छ कि, रेल आउने अवधिका लागि सबैले घरभित्र वा सडकदेखि पर अन्त कतैको काम तय गरिसकेका हुन्छन् । 

स्थानीयवासीको आन्तरिक समयचेतको उत्कृष्ट नमुना देखिन्छ यहाँ । जब रेल गुड्ने समय आउँछ, क्षणभरमै स्ट्रिटमा भिडभाड जमाउने सबै व्यक्ति र वस्तु हराउँछन् । केवल बाहिरबाट आएका जिज्ञासु पर्यटक देखिन्छन्, फाट्टफुट्ट । तर, नियमित दिनचर्या चलिरहेकै हुन्छ ।

रेल आउनुभन्दा निकै अघिदेखि नै रेल्वे ट्र्याकको कम्पन स्पष्ट देखिन्छ । त्यसपछि आउँछ, लामो, रातो–निलो रंगको रेल । स्ट्रिटलाई धुलो र धुवाँले भर्दै रेल जान्छ । 

लगत्तै, डुंगापछाडिको पानीजस्तै रेल्वे ट्र्याक क्षणभरमै भरिन्छ । बच्चाहरु खेल्न थाल्छन्, वृद्धाहरु ट्र्याकमा टुल–कुर्सी राखेर वरपरका गतिविधि नियाल्दै दिन काट्न बस्छन्, युवाहरु नियमित काममा व्यस्त देखिन्छन् । 

(तस्बिरहरुः इन्टरनेटबाट)

 

  • प्रकाशित मिति : पुस ७, २०७५ शनिबार २१:५२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया