देशको अर्थतन्त्रबारे बृहत्तर छलफल गरी साझा निष्कर्ष निकाल्छौँ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै समस्या समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लबको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अर्थतन्त्रलाई दुर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजी तथा सार्वजनिक क्षेत्र सबैको दायित्व भएको बताए । 

उनले देशको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा बृहत्तर छलफल आयोजना गरेर साझा निष्कर्ष निकालेर समाधानको उपाय खोज्ने पनि बताए । 

उनले भने, ‘यस विषयमा हामीले गम्भीर चर्चा गठबन्धनभित्र पनि गर्‍यौँ । मैले प्रधानमन्त्रीजीलाई यो विषयमा एउटा बृहत्तर छलफल आयोजना गरेर समीक्षा गर्न जरुरी छ र एउटा साझा निष्कर्ष निकालेर अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट रोक्नुपर्छ भन्नेमा हाम्रो सहमति पनि भएको छ । र, हामी छिट्टै त्यस्तो बैठकको आयोजना गर्ने र व्यापक विचार, विमर्श गरेर अर्थतन्त्रलाई सम्हालेर लैजानेतिर हाम्रो प्रयास जारी छ ।’

उनले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरू मिलेर जाने बताए । उनले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनलाई अगाडि बढाउन आफूहरू प्रष्ट रहेको बताए । उनले गठबन्धनको सम्बन्धमा कांग्रेस केन्द्रीय कमिटी बैठकले निर्णय गरेसँगै अब गठबन्धन हुने कि नहुने भन्ने दुविधा नरहेको बताए । 

अध्यक्ष प्रचण्डले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताए  । 'हामी मिलेर नै जान्छौँ । र आउने निर्वाचनलाई हामीले शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष रुपले सम्पन्न होस् र परिणामले राजनीतिक स्थायित्वलाई, राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न मद्दत गरोस् भन्नेतिर नै हाम्रो छ’ उनले भने ।



उनले माओवादी केन्द्रले देशमा आउने प्रत्येक राजनीतिक संकटलाई मोचन गर्न भूमिका खेलेको भए पनि त्यसअनुसार सबैले स्वीकार गर्न नसकेको दुखेसो गरे । पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको उनले दाबी गरे ।



  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १४:६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया