सुदूरपश्चिममा ओलीको पार्टी भुइँमा पछारिएको छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पार्टी भुइँमा पछारिएको आरोप लगाएका छन् । आइतबार कञ्चनपुरमा भएको कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । 

उनले सुदूरपश्चिममा आफ्नो पार्टी एक नम्बर बनेको दाबी गर्दै उनले भने, ‘समाजवादी पार्टी यहाँ एक नम्बरमा, माओवादी दोस्रो, कांग्रेस तेस्रो र केपी ओलीको पार्टी भुइँमा पछारिएको छ ।’ नेपालले सुदूरपश्चिम प्रदेशमा  मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्नेमा जोड दिए ।

‘हाम्रो पार्टी यहाँ ठूलो पार्टी हो, त्यसैले हाम्रो दाबी हो । नभए पनि केही छैन, सत्ताका लागि हामी मरिहत्ते गर्दैनौँ,’ उनले भने,’ ‘पद भएन भने पनि केही छैन, तर ठूलो पार्टीको दाबी हुने नै भयो, भएन भने पनि केही नमान्नुहोला ।’

आफ्नो पार्टीको ध्यान अब चुनावमा केन्द्रित भएको उनले बताए । अहिले किसानले अन्नबाली भित्र्याउने बेला भए जस्तै चुनावको फल भित्र्याउन सबैले लाग्नुपर्ने नेपालको भनाइ छ । एमाले अध्यक्ष केपी ओली विदेशीको दलाल भएको उनले आरोप लगाए ।
 
‘अब हेर्दै जानुहोला केपी ओलीको के हालत हुन्छ ? उनी कुबाटोमा लागेका छन् । उनी अहिले बर्बराएर गाली गलौजमा उत्रिएका छन्,’ उनले भने,’ कुबाटोको बाटोमा लागेको नेताको पछि लाग्ने कार्यकर्ताको पनि भविष्य हुँदैन । कुबाटो छोडेर क्रान्तिकारी पार्टीको साथमा आउनुहोस् ।’

अध्यक्ष नेपालले कांग्रेससहितका दलबीच आगामी चुनावमा गठबन्धन हुने बताए । उनले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कायकर्तालाई निर्देशन समेत दिए । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ, त्यसका लागि वडा तहसम्म संगठन विस्तार गरेर अगाडि बढ्न आवश्यक छ,’ उनले भने ।  

कार्यक्रममा कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर, पाँचजना वडाध्यक्ष र २२ जना वडा सदस्यहरूले एमाले छाड्दै समाजवादीमा प्रवेश गरेका थिए । अध्यक्ष माधवकुमार नेपालले मेयर अशोक चन्दसहित पाँच अध्यक्ष, कार्यपालिका सदस्य र सदस्यहरूलाई टीका लगाएर समाजवादीमा प्रवेश गराए । 



नगरप्रमुखसहित वडा नम्बर ३ का अध्यक्ष तिलक ठकुल्ला, ४ नम्बरका अध्यक्ष भास्कर भट्ट ७ नम्बरका वीरबहादुर डगौरा, ८ नम्बरका दुर्गासिंह भण्डारी र १० नम्बरका केशव रावल र वडा नम्बर १० का वडा सदस्य डम्मर भट्टले एमाले परित्याग गरेका हुन् ।

१० वडा रहेको वेदकोट नगरपालिकामा ८ वडा एमालेले जितेको थियो । अहिले ८ मध्ये ५ वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । कार्यपालिका सदस्यहरू तारा रैका, निर्मला विष्ट चौधरी, माया बोहरा, दलवीर टमाटा, चेतराम कामी, पिंकी दमाईं पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।



  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार १८:१५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया