एमालेबाट बुढीगंगा नगरपालिकाको प्रमुखमा ७ र उपप्रमुखमा ३ जना आकांक्षी

बाजुराको बुढीगंगा नगरपालिकाको नगर प्रमुखका लागि नेकपा एमालेबाट ७ जनाले आकांक्षा देखाएका छन् ।

नगर कमिटीले आकांक्षी उम्मेदवारको नामावलीमा ७ जना आकांक्षी देखिएको जनाएको छ ।  

आकाक्षा राख्नेमा नेकपा एमाले बाजुराका पार्टी सचिव भरत थापा,  नेता रामबहादुर बानियाँ, मीनबहादुर विष्ट, जहरसिंह थापा, चन्द्र थापा, हंस बहादुर सिंह र तुलाबहादुर थापा रहेका छन् । 

आकांक्षीमध्ये रामबहादुर बानियाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका दीपक विक्रम शाहसँग पराजित भएका थिए । 

पार्टी भित्रको अन्तरद्वन्द्व र अन्तरघातकै कारण बानियाँले चुनावमा पराजित हुनु परेको एमाले बाजुराले निष्कर्ष निकालेको थियो ।

अर्का आकाक्षी भरत थापा अघिल्लो चुनावमै उम्मेदवार बनेका थिए। अन्तिममा रामबहादुर बानियाँको नाममा सहमति भएपछि चुनावी दौडबाट उनी पछि हटेका हुन् । 



युवामाझ लोकप्रिय थापाले टिकट आफूले पाउनु पर्ने माग राख्दै आएका छन् । 

पार्टी संगठनका लागि निरन्तर खटिरहने छवि बनाएका बानियाँले पनि अन्तरघातले हराइएकोले यो पटक न्यायका लागि पनि आफूले टिकट पाउनु पर्ने दाबी गरेका छन्।



प्रदेश कमिटी सदस्य मीनबहादुर विष्ट एमालेका पुराना र पाका नेता हुन् । उनले पनि यस पटक बुढीगंगा नगरको नगरप्रमुख बन्ने इच्छा देखाएका छन् । 

आफ्नो अनुभव र पार्टीप्रतिको लगावलाई कदर गरी कार्यकर्ताहरूले आफूलाई सहयोग गर्नु पर्ने उनको भनाइ छ । 

यता, चन्द्र बहादुर थापा र जहरसिंह थापाले पनि आफूहरू बलियो र सबैलाई मिलाएर जान सक्ने बताएका छन् । 

यस्तै, नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तुलाबहादुर थापाले नगर प्रमुखको पदमा उम्मेदवारी घोषणा गरेका छन् । 

उनी शिक्षक पेसामा आवद्ध छन् । उनले शिक्षण पेसाबाट राजीनामा नदिएर नै नगर प्रमुखमा उम्मेदवारी घोषणा गरेका हुन् ।

यस्तै, उपप्रमुखमा तीन जनाले आकाक्षा राखेका छन् । जसमा माया कुँवर, देबु खाती र विमला थापा छन् । 

कुँवर २०७४ को स्थानीय तह निर्वाचनमा पराजित भएकी थिइन् । 

उम्मेदवारबीच सहमति नभए जिल्लामा पठाउने गरी गृहकार्य भइरहेको एमाले बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले बताए।

२०७४ को स्थानीय तह निर्वाचनमा बुढीगंगा नगरपालिकामा एमाले कांग्रेससँग २८५ मतले पराजित भएको थियो । 

प्रदेश र संघको निर्वाचनमा भने बाम गठबन्धन हुँदा एमाले कांग्रेसभन्दा करिब ३ हजार मतको फराकिलो अन्तरले विजयी भएको थियो । 

एमालेका तीन जना केन्द्रीय नेताहरूको गृहपालिका समेत रहेको बुढीगंगामा जनमतका हिसाबमा कांग्रेसभन्दा बलियो देखिए पनि चुनावमा भने हार बेहोर्ने गरेको छ । 

एमालेका राम्रो छवि भएका नेताहरूबीचको आन्तरिक द्वन्द्वकै कारण चुनावमा हार बेहोर्ने गरेको एमाले बुढिगंगाको निष्कर्ष छ ।

  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १२:४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया