प्रिमियर लिग : सिटी र लिभरपुलकाे महाभीडन्त
Photo- Sportco

इंग्लिस प्रिमियर लिग (इपिएल)मा यो सिजनकै सबैभन्दा ठूलो भीडन्त हुँदैछ र त्यसमा प्रतिस्पर्धा गर्दैछन् शीर्ष दुई टोली- म्यानचेस्टर सिटी र लिभरपुल ।

खेल नेपाली समय अनुसार सिटीको घरेलु मैदान इतिहाद स्टेडियमा राति सवा ९ बजेबाट सुरु हुनेछ । 

यसलाई इपिएलको अघोषित फाइनल मनिएको छ किनभने यो खेलको नतिजाले धेरै हदसम्म लिग कसले जित्ने छ भन्ने निर्धारण गर्नेछ । 

शीर्ष स्थानको सिटीले ७३ अंक जोडेको छ र यो दोस्रो स्थानको लिभरपुलको भन्दा मात्र एक अंकले बढी हो । अनि लिगमा यो सातापछि सात चरणका खेल मात्र बाँकी रहनेछन् ।

सिटीसँग खेल्नुअघि लिभरपुलले माथिल्लो डिभिजनमा लगातार १० खेल जितेको छ । तर, सिटीले भने पछिल्ला पाँच खेलमा पाँच अंक गुमाइ सकेको छ । 

फेब्रुअरीमा नर्विच सिटीलाई हराएयता सिटीले लगभग लय गुमाएको स्थिति छ । लिभरपुलले यो खेल जित्न सकेमा भने अक्टोबर १ यताकाे अंक तालिकामा ठोस अग्रता लिन सफल हुनेछ ।



इपिएलमा एउटा रमाइलो तथ्य के छ भने सिजनको अन्त्यतिर दुई शीर्ष टोलीबीचका पछिल्ला १० मध्ये सात खेलमा दोस्रोमा रहेको टोलीले जित निकालेको छ । 

लिभरपुल अहिले ऐतिहासिक सफलताको संघारमा छ, किनभने यस अगाडि नै लिग कप जितिसकेको यो टोलीसामु अझै थप तीन उपाधि जित्ने अवसर छ । 



सिटीसामु पनि तीन अवसर छन्- लिग, एफएकप र च्याम्पियन्स लिग ।

लिभरपुलको चुनौती पनि यी तीनै प्रतियोगितामा बाँकी छ । लिभरपुलका व्यवस्थापक योर्गन क्लोप मान्छन्, ‘अझै लामो बाटो तय गर्नु छ र यस्तो स्थितिमा टिमलाई उत्कृष्ट प्रदर्शनकै आवश्यकता पर्छ ।’ 

तथ्यांक विशेषज्ञहरूका अनुसार यदि आजको खेलमा सिटी विजयी रहे उसले लिग उपाधि जित्ने सम्भावना ८६ प्रतिशत हुनेछ । 

यदि लिभरपुलले आजको खेल जिते, उसको लिग उपाधि जित्ने सम्भावना भने ६८ प्रतिशतमात्र हुनेछ । यस्तो किन त ?

यो खेलपछिका बाँकी सात खेलमा जहाँ सिटीका प्रतिद्वन्द्वी सजिला छन्, तर लिभरपुलका विपक्षी टिम भने बलिया छन् । 

यसमध्ये सिटीको सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो- वेस्टह्याम ।

लिभरपुलले भने अझै म्यानचेस्टर युनाइटेड र टोटनहमजस्ता टोलीविरुद्ध खेल्नु छ । 

लिभरपुलका लागि पक्कै पनि अबका दिन सजिलो हुने छैन, जति सिटीका लागि हुने अनुमान गर्न सकिन्छ । 

अहिले तत्काल भने सबैको ध्यान आजकै खेलको ९० मिनेटमा हुनेछ, जसले निर्णायक अर्थ राख्नेछ । 

क्लोप मान्छन्, ‘पेप ग्वार्डिओला विश्व फुटबलकै एक सर्वकालीन महान प्रशिक्षकमध्ये एक हुन् ।’  

यता ग्वार्डिओला पनि के मान्छन् भने उनले आफ्नो प्रशिक्षक करिअरमा क्लोप जत्तिको राम्रो प्रशिक्षकको सामना गर्नु परेको छैन। 
 
यी दुई उत्कृष्ट टोलीबीचको भीडन्तमा के अनुमान गर्न सकिन्छ भने खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुनेछ । 

सिटी भर्सेस लिभरपुल ‘हेड टु हेड’

यी दुईले हालसम्म २१८ खेलमा एक अर्काको सामना गर्दा सिटीले ५८ र लिभरपुलले १०५ खेल जित्दा ५५ खेल बराबरीमा सकिएको छ । 

सिटी र लिभरपुलले पहिलोपटक सन् १८९३ मा एक अर्काको सामना गरेका थिए । लिग तत्कालीन डिभिजन-२ (हाल च्याम्पियनसिप) अन्तर्गत यो भेटमा लिभरपुल १–० ले विजयी भएको थियो ।

प्रिमियर लिग अन्तर्गतको पछिल्लो भेटमा दुवै टोलीले २-२ को बराबरी खेलेका थिए । 

सिटीले लिभरपुलविरुद्ध सन् १९०३ मा तत्कालीन लिग डिभिजन-१ (हाल प्रिमियर लिग) मा ३-२ को जित हात पारेको थियो । यो सिटीले लिभपुरविरुद्ध निकालेको पहिलो जित हो । 

सिटीले त्यसअघिका १० मध्ये ९ खेलमा पराजय र एक बराबरीको नतिजा निकालेको थियो । 

इतिहास लिभरपुलको पक्षमा भए पनि पछिल्ला पाँच भेटलाई हेर्दा भने सिटी बिलियो देखिन्छ । उसले समान दुई जित र बराबरीको नतिजा निकाल्दा एक पराजय बेहोरेको छ ।   
 

  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार १३:५२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया