स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । घरेलु टोली बार्सिलोना गए राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब फ्रान्कफुर्टसँग ३–२ तथा समग्रमा ४–३ ले पराजित हुँदै बाहिरिएको हो ।
फ्रान्कफुर्टलाई जित दिलाउन फिलिप कोस्टिकले दुई तथा राफेल सान्तोसले एक गोल गरे । बार्सिलोनाका सर्जियो बुस्केट्स र मेम्फिस डिपाएले एक–एक गोल फर्काए ।
क्याम्प नोउमा खेलको चौथो मिनेटमै पेनाल्टीमार्फत कोस्टिकले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
३६ औं मिनेटमा सान्तोसले टोलीको अग्रता दोब्बर बनाए । ६७ औं मिनेटमा कोस्टिकले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्कफुर्ट ३–० ले अघि बढ्यो ।
थप गरिएको समयमा बुस्केट्स र डिपाएले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
थप गरिएको समयमै इभान एनडिकाले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो । फ्रान्कफुर्टको घरेलु मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।