logo-img

मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत ३४ विद्यार्थीलाई सम्मान गरिँदै
दीक्षान्त समारोहबारेमा जानकारी दिँदै विश्वविद्यालयका पदाधिकारी । (तस्विरः पुनम विसी/फरकधार)

मध्यपश्चिम विश्वविद्यालयले विश्वविद्यालयमा अध्ययनरत ३४ विद्यार्थीलाई सम्मान गर्ने भएको छ । दोस्रो दीक्षान्त समारोहका अवसरमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई सम्मान गरिने भएको हो । 

विश्वविद्यालयको मानविकी र समाजशास्त्र, व्यवस्थापन, शिक्षा शास्त्र, विज्ञान तथा प्रविधि र इञ्जिनियरिङ संकायमा स्नातकोत्तर तथा स्नातक तह अध्ययन गरिरहेका ३४ जना विद्यार्थीलाई सम्मान गरिने विश्वविद्यालयका मानविकी तथा सामाजिक संकायका डीन तथा दोस्रो दीक्षान्त समारोहका प्रचारप्रसार उपसमिति संयोजक लीलाधर तिवारीले जानकारी दिए ।

कुलपति पदक, उपकुलपति पदक तथा सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदकले विद्यार्थी सम्मानित हुँदैछन् । मानविकी र सामाजिक शास्त्र संकायका तीन जना, व्यवस्थापन संकायका तीन जना, शिक्षा शास्त्र संकायका तीन जना गरी स्नातकोत्तर तह अध्ययन गरिरहेका कुल नौ विद्यार्थीलाई कुलपति पदक प्रदान गरिनेछ ।



यसैगरी मानविकी र सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा शास्त्र, विज्ञान तथा प्रविधि र इञ्जिनियरिङ संकायमा स्नातक तह अध्ययन गरिरहेका ४/४ जना गरी कुल २० जना विद्यार्थी उपकुलपति पदकले सम्मानित हुने तिवारीले जानकारी दिए ।

यसका साथै व्यवस्थापन संकायमा स्नातकोत्तर तह अध्ययन गरिरहेका दुई जना र स्नातक तह अध्ययन गरिरहेका तीन जना गरी कुन पाँच जना विद्यार्थीलाई सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक प्रदान गरिने तिवारीले जानकारी दिए ।

६ वैशाखका दिन आयोजना गरिएको विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको उपस्थिति रहने छ । यसका साथै विश्व नोवेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थी लगायत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सह–कुलपति देवेन्द्र पौडेल समेतको उपस्थिति हुने तिवारीले जानकारी दिए ।



यसैगरी दोस्रो दीक्षान्त समारोहमा विश्वविद्यालयका कुल पाँच सय १९ विद्यार्थी दीक्षित हुँदैछन् । मानविकी र समाजशास्त्र तर्फका एक सय ५२ जना, व्यवस्थापन संकायका एक सय २२ जना, शिक्षा शास्त्र संकायका ८५ जना, विज्ञान तथा प्रविधि संकायका १५ जना र इञ्जिनियरिङ संकायका एक सय ४५ जना विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले जनाएको छ ।

यसअघि विश्वविद्यालयले विसं. २०७४ साल १९ असारमा पहिलो दीक्षान्त समारोहको आयोजना गरेको थियो ।



  • प्रकाशित मिति : वैशाख ४, २०७९ आइतबार २०:१५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया