पालिका प्रमुखमा महिलालाई उठाउन दलहरूको कन्जुस्याइँ

कैलालीमा यही ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा तीन दलीय गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । अघिल्लो चुनावमा जिल्लामा कांग्रेस र एमालेबीच टक्कर थियो । यसपालि भने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर एमालेसँग प्रतिस्पर्धा गर्दै छन् ।

१३ स्थानीय तह रहेको यहाँ मनोनयन दर्तासँगै उम्मेदवारहरू मतदाताको घरदैलोमा व्यस्त भइसकेका छन् । यसपालि पनि जिल्लाको अधिकांश पालिकामा प्रमुखमा पुरुष उम्मेदवार नै छन् ।

अघिल्लो निर्वाचनमा पनि उपमेयर र उपाध्यक्षमै सीमित पारिएका महिला यसपालि पनि नेतृत्व गर्ने अवसरबाट बञ्चित हुने भएका छन् । गठबन्धनबाट चुनाव लडिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जिल्लाको एक स्थानीय तहमा मात्र महिलालाई मेयरमा अगाडि सारेको छ । 

नेपाली कांग्रेसले जिल्लाको लम्कीचुहा नगरपालिकामा प्रमुख पदमा सुशीला शाहीलाई उम्मेदवार बनाएको हो । गठबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादीले भने प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएका छैनन् । यसअघिको निर्वाचनमा सबै स्थानीय तहमा उपप्रमुख महिला रहेकोमा यसपालि गठबन्धनले ६ वटा पालिकामा मात्रै महिलालाई उपप्रमुखमा अगाडि सारेको छ ।

गठबन्धनबाट धनगढीको मेयरमा कांग्रेसका नृपबहादुर वड पुनः दोहोरिएका छन् । अघिल्लो चुनावमा माओवादीबाट उपमेयरमा पराजय बेहोरेकी शान्ति अधिकारीले यसपल्ट गठबन्धनबाट पुनः उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छन् ।

जिल्लाको गोदावरी नगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका वीरेन्द्र भट्ट र उपमेयरमा एकीकृत समाजवादीकी रत्ना कडायतले उम्मेदवारी दर्ता गराएका छन् । भट्ट यसअघिको निर्वाचनमा एमालेका उम्मेदवार हरिसिंह साउँदसँग पराजित भएका थिए । कडायतले एमालेबाट उपमेयरमा जित हात पारेकी थिइन् ।



गठबन्धनले घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीका तर्फबाट खडक रावतलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ । त्यहाँ कांग्रेसबाट गुलियादेवी चौधरीले उपमेयरमा उम्मेदवारी दिएकी छन् । 

त्यस्तै, कांग्रेसबाट लम्कीचुहा नगरपालिकाको मेयरमा सुशीला शाही र माओवादीबाट जानकी सिंहलाई उपमेयरमा अगाडि सारिएको छ । गौरीगंगा नगरपालिकामा माओवादी केन्द्रले मेयर र कांग्रेसले उपमेयर पद पाएको छ । 



गठबन्धनले यहाँ माओवादी केन्द्रका तर्फबाट देवीदत्त कँडेललाई मेयर र भोजबहादुर बमलाई उपमेयरको उम्मेदवार बनाएको हो । टीकापुर नगरपालिकामा कांग्रेसबाट नवराज रावललाई मेयर र खडक शाहीलाई उपमेयरको उम्मेदवार बनाइएको छ । 

भजनी नगरपालिकामा माओवादीका तर्फबाट शेरबहादुर चौधरी मेयर र कांग्रेसको तर्फबाट गोकेन्द्र भण्डारीले उपमेयरको पदमा उम्मेदवारी दर्ता गरिसकेका छन् । 

चुरे गाउँपालिकामा समाजवादीबाट लोकबहादुर सारुमगर अध्यक्ष र कांग्रेसबाट धना थापालाई उपाध्यक्षको उम्मेदवार बनाइएको छ । जानकी गाउँपालिकामा कांग्रेसका तर्फबाट परशुराम महतो कठरियालाई अध्यक्ष र जयप्रकाश दहितलाई माओवादीको तर्फबाट उपाध्यक्षको उम्मेदवारमा उठाइएको छ । 

जोशीपुर गाउँपालिकामा कांग्रेसले बशराम कठरियालाई अध्यक्ष र माओवादीले दीर्घ बिनाडी उपाध्यक्षलाई उम्मेदवार बनाएको छ । कैलारी गाउँपालिकाको अध्यक्ष पदको लागि माओवादीबाट लाजुराम चौधरी र उपाध्यक्षका लागि कांग्रेसबाट भगवतीकुमारी चौधरी चुनावी मैदानमा छन् ।

मोहन्याल गाउँपालिकाको अध्यक्ष पदका लागि माओवादी केन्द्रबाट देवीदत्त उपाध्यायलाई अध्यक्ष र कांग्रेसबाट कमलबहादुर साउँद उपाध्यक्षको उम्मेदवार छन् ।  

वर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदका लागि कांग्रेसबाट शेरबहादुर कठरिया र माओवादीबाट गणेश गिरीलाई उपाध्यक्षमा उठाइएको छ । स्थानीय निर्वाचन ऐन २०७३ का अनुसार निर्वाचनमा दलले प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने व्यवस्था गरेको छ । दलले एकजना मात्र उम्मेदवारी दिएमा भने प्रावधान लागू नहुने व्यवस्था छ । जसकारण पनि कैलालीमा गठबन्धनका दलले महिलालाई प्राथमिकता नदिएको बुझ्न सकिन्छ ।

नेकपा एमालेले भने कैलालीले १३ वटै स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षमा महिलाको प्रतिनिधित्व गराएको छ । एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कुन्दकला राना थारूलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, एमालेले टीकापुर नगरपालिकाको मेयरमा श्याम खत्री र उपमेयरमा अनुपा केसी, लम्कीचुुहा नगरपालिकाको मेयरमा महादेव बजगाई र उपमेयरमा जुना चौधरी, घोडाघोडी नगरपालिकाको मेयरमा ममताप्रसाद चौधरी र उपमेयरमा करुणा बम बटालालाई चुनावी मैदानमा उतारेको छ । 

एमालेले गौरीगंगा नगरपालिकाको मेयरमा पदम सिंगाल र उपमेयरमा शान्ति सिंह, गोदावरी नगरपालिकाको मेयरमा गोकर्ण भट्ट र उपमेयरमा शारदा रोकाया तथा भजनी नगरपालिकाको मेयरमा हर्क बुढा र तुलसी चौधरीलाई उम्मेदवार बनाएको छ ।

एमालेबाट जानकी गाउँपालिकाको अध्यक्षमा टेकबहादुर बम र उपाध्यक्ष गीता चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा केशरबहादुर डगौरा र उपाध्यक्षमा रमादेवी भुल, कैलारी गाउँपालिकाको अध्यक्षमा झुमा चौधरी र उपाध्यक्षमा जालुराम चौधरी, तथा बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा कर्ण कुँवर र उपाध्यक्षमा इन्दु चौधरी चुनावी मैदानमा छन् ।

त्यस्तै, एमालेबाट मोहन्याल गाउँपालिकामा अध्यक्षमा धर्म थापा र उपाध्यक्षमा सरस्वती विष्ट रावल,  चुरे गाउँपालिकामा अध्यक्षमा चक्र बोगटी र उपाध्यक्षमा सरस्वती साउँदको उम्मेदवारी रहेको छ ।

  • प्रकाशित मिति : वैशाख १५, २०७९ बिहीबार १३:६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया