एमाले एक्लै क्विन्टल हो भन्ने ओलीले ढक नपुगेर गोविन्दराज र कमल थापालाई बोक्दै हुनुहुन्छ : वर्षमान पुन

नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले संविधान र लोकतन्त्रको रक्षाको निम्ति वर्तमान गठबन्धन बनेको बताएका छन् ।

आइतबार १३३ औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले उपलब्धिको रक्षापछि गठबन्धनका दलहरू आपसमा प्रतिस्पर्धा गर्ने बताए ।

उनले नेकपा माओवादी कांग्रेसको आ–आफ्ना गन्तव्य भएको उल्लेख गर्दै अहिलेको अवस्थामा राजनीतिक एजेण्डाका आधारमा गठबन्धनलाई बुझ्न आग्रह गरे । उनले एमाले अध्यक्ष ओली वामपन्थी नभएको आरोप पनि लगाए ।

‘आजको एजेण्डामा केपी ओली वामपन्थी होइनन् । दक्षिणपन्थी हुन् । प्रतिगामी हुन् । त्यो एजेण्डा बोकेर हिँडेका छन् । तथ्यहरू छ । आज ओलीजीले लगाइराखेको आरोपमा कही हिच्किचाइराख्नुपर्ने, आत्तिनुपर्ने छैन । यसको अर्थ सधैँ कांग्रेस र माओवादीको एउटै विचार धारा हो, हामी सधै रहिराख्छौँ होइन । हामी संविधानको रक्षा, लोकतन्त्रको रक्षा, अहिलेका उपलब्धिहरूका रक्षापछि हामी प्रतिस्पर्धा गर्छौं' उनले भने ।

नेता पुनले एमालेले धार्मिक एजेण्डा बोकेर हिँडेको आरोप लगाए । एक्लै चुनाव लड्ने घोषणा गरेको एमालेले गोविन्दराज जोशी र कमल थापालाई लिएर हिँड्नुपर्ने अवस्था आएको उनले बताए ।

ओलीले बाहिर हुंकार गरेको भए पनि भित्रैबाट गलिसकेको र पराजित भइसकेको उनले बताए । ओली पराजित हुनु वामपन्थीहरूको एकताको ग्यारेन्टी भएको उनको भनाइ छ ।



‘उहाँ आफैँ आज धार्मिक एजेण्डा बोकेर हिँड्ने राजावादीहरूसँग तालमेल गर्दै हिँड्ने अवस्थामा पुग्नुभएको छ । हिजो उहाँले हुंकार गर्नुहुन्थ्यो । पाँच दल पाँच किलो म एक्लै एक क्विन्टल एमाले भन्नुहुन्थ्यो । आज कांग्रेसले कारबाही गरेको गोविन्दराजलाई लिएर केही ग्राम थप्दै हुनुहुन्छ । त्यहाँ ढक नपुगेर, वेट नपुगेर । त्यसैगरी राप्रपाबाट चोइटिएको सानो कमल थापाको गुटलाई लिएर उहाँले अलिअलि केही ग्रामहरू थपिराख्नुभएको छ,’ उनले भने ।

उनले माओवादी केन्द्रको प्रहार ओली प्रवृत्तिमाथि भएको भन्दै एमालेभित्रका क्रान्तिकारी, प्रगतिशील र देशभक्तमाथि नभएको स्पष्ट पारे । भविष्यमा प्रगतिशील र वामपन्थी शक्तिहरूको वैचारिक रूपमा ध्रुवीकरण हुने पनि उनले बताए ।



  • प्रकाशित मिति : वैशाख १८, २०७९ आइतबार १८:१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया