फउल खेलिरहेका प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय पुरुष फुटबलमा मुख्यप्रशिक्षक अब्दुल्लाह अलमुताइरी विवाद र चर्चामा आउनु कुनै नौलो रहेन । टोलीको प्रशिक्षण सम्हालेदेखि नै उनी मैदानभित्र र बाहिरका गतिविधिले चर्चा र विवादमा छन् । 

अलमुताइरीकै कारण नेपाली फुटबल फेरि एकपटक तरगिंत भएको छ । विगतमा अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध उभिएका अलमुताइरी पछिल्लोपटक भने आफूले सधै समर्थकको आलोचनाबाट जोगाउने गरेको खेलाडीसँगको विवादमा तानिएका हुन् ।

उनले सार्वजनिकरूपमा खेलाडीको बचाउ गर्दै आएका थिए । अलमुताइरी आलोचना नै गर्नुपरे खेलाडीको नभइ आफ्नो गर्न बारम्बार आग्रह गर्थे । खेलाडी पनि उनलाई बुबा समान मान्थ्ये । 

तर, उनले अति नै माया गर्ने १० खेलाडीले नै बिहीबार पत्रकार सम्मेलन गर्दै अलमुताइरीको प्रशिक्षणमा खेल्न कठिन हुने बताए । खेलाडी र प्रशिक्षकबीचको सम्बन्धको विवाद उत्कर्षमा रहे पनि अभिभावक संस्था एन्फाले भने समाधान गर्न सकेको छैन । उसले यो विवादलाई समाधान गर्न खासै चासो पनि देखाएको छैन ।

कतार फुटबल संघको सहयोगमा नेपाली टोलीको प्रशिक्षण सम्हालेका अलमुताइरी पटक–पटक एन्फा नेतृत्वमाथि नै हाबी देखिन्छन् । यस्तो गम्भीर समस्यामा पनि एन्फा मौन बसेको देख्दा लाग्छ उसलाई आफ्ना खेलाडीको चिन्ताभन्दा पनि अलमुताइरीमाथि अनुसन्धान गर्दा दातृ निकाय रिसाउने डर छ ।  

खेलाडीले सार्वजनिक रूपमै प्रशिक्षकका बारेमा बोल्नुपर्ने अवस्था कसरी तयार भयो? यो प्रश्न गम्भीर छ । खेलाडीको भनाइ मान्ने हो भने एसियन कप छनोटको बन्द प्रशिक्षणमा रहेका आफूलाई एन्फा होस्टल कि होटलमा राख्ने भन्ने विषयले विवादको रूप लिएको देखिन्छ । 



खेलाडीको सुविधाका लागि विगतमा आवाज उठाउने गरेका अलमुताइरीले यसपटक एन्फा होस्टलमै बस्न खेलाडीमाथि दबाब दिएको खेलाडीले सार्वजनिक गरेका छन् । होटल कि होस्टल भन्ने विषयमा टोली कार्यवाहक कप्तान रोहित चन्दले होटलमा बस्नुपर्छ भनेपछि त्यहाँबाट विवादको सुरुवात भएको खेलाडीको दाबी छ । त्यतिबेला रोहित एक्लैले त्यो आवाज उठाएकाले उनी अलमुताइरीको पहिलो शिकार भए । र, उनले रोहितलाई प्रशिक्षण नै छाड्न लगाए । 

पछि अन्य ९ खेलाडीले रोहितले आफूहरूको साझा भनाइलाई राखेको भनेपछि अलमुताइरी बढी चिढिएको देखिन्छ । ‘तिमीहरू रोहितको टिमबाट खेल्ने कि मेरो टिमबाट?’ यस्तो प्रश्नसमेत अलमुताइरीले आफूहरूलाई गरेको खेलाडीको दाबी छ । 



‘जो रोहितको साथमा छ त्यो मेरो टिममा हुँदैन, तिमीहरू घर जान सक्छौ’ भनेपछि खेलाडीले प्रशिक्षण छाडेका थिए । यसरी प्रशिक्षण छाड्दा खेलाडीले पनि एन्फा नेतृत्वलाई भने औपचारिक जानकारी गराएनन् । न्यूनतम आवश्यकताका लागि होस्टलमा भन्दा होटलमा सहज हुने भएकै कारण आफूहरूले समान्य माग राखेको खेलाडीको भनाइ छ । 

यो व्यवस्थापकीय पक्ष हो । तर, यहाँ पनि अलमुताइरी घुसे । आफ्ना खेलाडीको सुविधाका लागि व्यवस्थापनसँग माग राख्नुको सट्टा उनले खेलाडीमाथि नै होस्टलमा बस्न बाध्य पार्न खोजेको देखिन्छ । 

राष्ट्रिय टोलीमा खेलाडीलाई राख्ने/नराख्ने अधिकार प्रशिक्षकमानिहीत हुन्छ । तर, प्रशिक्षकले सबै कुरामा नियन्त्रण गर्न चाहेको देखिन्छ । मिडियामा बोल्न नदिने, आफूले फेसबुकमा पोष्ट गरेका कुरा मात्र सेयर गर्न लगाउने गरेको खेलाडीले नै बताएका छन् । 

अलमुताइरीको प्रशिक्षणमा नेपाली टोलीले गत वर्ष पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो । यसले गर्दासमर्थकका माझ उनी थप लोकप्रिय भएका थिए । माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनलपछि अलमुताइरीले अचानक नेपाल नफर्किने घोषणा गरे । उनी त्यहीबाट कुवेत लागे । उनको अचानकको राजीनामाले नेपाली फुटबलमा तरंग नै ल्यायो । त्यसपछि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा अलमुताइरीसँग सम्झौता थप्न कतार गए । उनी दुई वर्षको सम्झौता थप गर्दै नेपाल फर्किएका थिए । 

राष्ट्रिय टोलीको नतिजाबाट केही सुखद संकेत दिएका उनी विवादबाट भने अलग हुन सकेनन् । एन्फाले पनि अलमुलाइरीलाई आफ्नो दायराभित्र राख्न सकेको छैन ।
कतार फुटबल संघले पठाएकाले पनि उनीमाथि लगाम लगाउन एन्फा नेतृत्वलाई समस्या भइरहेको अनुमान हुन थालेका छन् । 

‘ए’ डिभिजन लिग सकिएको केही समयमा नै अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षण डाक्दा संकटा क्लबका प्रशिक्षक विष्णु गुरुङलाई सहायक प्रशिक्षकको रूपमा टोलीमा बोलाए । विष्णुलाई एन्फाले नभइ अलमुताइरीको आग्रहमा टोलीमा समावेश गरिएको थियो । मिडियासँग बोलेकै बहानामा पछि उनले विष्णुलाई हटाए । 

बाहिर आएका घटनामा उनी पनि दोषी देखिन्छन् । तर, अलमुताइरी सबै घटना आफू सही भएको दाबी गर्छन् । आइतबार एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै क्याम्प छोडेका १० खेलाडीलाई पनि आफूले माफी दिएको र उनीहरूलाई कारबाही नगर्न आग्रह गरेका थिए । यो घटनामा पनि अलमुताइरीले सबै गल्ती खेलाडीको रहेको ठहर गरेका छन् । यसले पनि के प्रष्ट पार्छ भने उनी नेपाली समर्थकको भावनासँग खेलिरहेका छन् ।  

नेपालमा धेरै समर्थक यस्ता पनि छन् जो घटनाको धरातल नबुझेर आँखा चिम्लेर अलमुताइरीको हरेक निर्णयमा सहमति जनाइरहेका छन् । उनीहरू हरेक समय प्रशिक्षकलाई नै सही ठान्छन् । नेपाली समर्थकको मनोविज्ञान राम्रोसँग बुझिसकेका अलमुताइरीले यस घटनामा पनि त्यसको फाइदा राम्रोसँग उठाइरहेका छन् ।

यसपटक प्रशिक्षण सुरु गरेकै दिन पत्रकार सम्मेलन गरेर अलमुताइरीले नेपाल एशियन कपमा छनोट हुन सक्षम नभएको बताए । यो उनको रक्षात्मक चाल थियो । अहिले १० खेलाडीले क्याम्प छोडेपछि उनले १७ नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । प्रशिक्षण छाडेकालाई उनले टिममा नबोलाउने घोषणासमेत गरिसकेका छन् । त्यसमा एन्फाको पनि मौन सहमति देखिन्छ ।  

निरीह बनेको एन्फा

फुटबलमा देखिएका सम्पूर्ण विवाद समाधानको जिम्मेवारी एन्फाको हो । यसमा ऊ गम्भीर हुनैपर्छ । खेलाडीलाई अनुशासनको दायरामा राख्नुपर्नेमा कुनै दुईमत छैन । तर, एन्फाले अलमुताइरीलाई आफ्नो जिम्मेवारीमा राख्न सकेको छैन ।   

अहिले एन्फा नेतृत्वको ध्यान खेलाडी र प्रशिक्षकबीच देखिएको विवाद समाधान गर्नतर्फ पटक्कै गएको छैन । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा नै विवाद समाधान गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा नजिकिँदै गरेकाे एन्फा निवार्चनमा बढी ध्यान दिइरहेका छन ।  यसअघि पनि विवादमा पटकपटक एन्फा नेतृत्व चुकिसकेको छ । यसमा एन्फा नेतृत्वले आत्मसमीक्षा गर्न जरुरी छ ।  

  • प्रकाशित मिति : वैशाख २०, २०७९ मंगलबार १३:१३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया