नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले कहीँ नभएको जात्रा केपी ओलीको पालामा भएको बताएका छन् । काठमाडाैंमा शुक्रबार आयाेजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको पालामा जात्रै जात्रा भएको बताए ।
‘पाँच वर्षपछि सकिने आयोजनाको आजै उद्घाटन गर्ने । ३०० अस्पतालका भवन आजै उद्घाटन गरिदिने । कहीँ नभएको जात्रा जस्तो सबै एकैदिनमा गर्न खोज्ने । कहीँ नभएको जात्रा केपी ओलीको पालामा भयो,’ अध्यक्ष नेपालले भने ।
पाँच दलले उठाएका काठमाडौं महानगरका मेयर र उपमेयरले काठमाडौंको विकासका लागि उत्कृष्ट विचार अघि सारेको बताए । ‘गठबन्धनका उम्मेदवार एकदमै राम्रो विचार भएका छन् । आफूले नसक्ने काम विज्ञमार्फत गर्छु भन्नुभएको छ । यो अत्यन्तै उत्कृष्ट विचार हो,’ अध्यक्ष नेपालले भने ।
सिंगो काठमाडौंलाई ध्यानमा राखेर स्मार्ट सिटी बनाउनुपर्ने उनको भनाइ छ । कतिपय कामहरू एउटै जिल्ला र पालिकाले मात्र गर्न नसक्ने भन्दै त्यसका लागि समन्वयकारी भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने बताए ।
गफ नभएर काम गरेर जनताको मन जित्नुपर्नेमा जोड दिए । गठबन्धन तर्फका उम्मेदवारलाई इमान्दार भएर जनताको काममा समर्पित हुनसमेत आग्रह गरे । दम्भले कहिल्यै पनि नहुने भन्दै गफ र दम्भका साथ अघि बढ्दा जनतालाई मूर्ख बनाउन मात्रै सकिने तर, काम गर्न नसकिने उनले बताए ।
काठमाडौंको लागि योजना बनाउँदा ५० वर्षलाई ध्यानमा राखेर बनाउनुपर्ने बताउँदै उनले फिलिपिन्सको विकासको मोडल समेत स्मरण गराए ।
फोहोरमैला व्यवस्थापनको समस्या काठमाडौंको मात्र नभएको भन्दै उनले भने, ‘यो समस्या काठमाडौंको मात्र होइन् । सबै सहरमा छ । यसलाई व्यवस्थापन गर्न कसरी सकिन्छ । त्यसका लागि अन्य देशमा के गरिरहेका छन् । त्यसलाई पनि अध्ययन गर्नुहोला ।’
लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षता जोगाउन पाँच दलीय गठबन्धनलाई मत हाल्न उनले आग्रह गरे । ओली नेतृत्वको गठबन्धनलाई मत हालेमा पुस्तौपुस्तासम्म पछुताउनुपर्ने अवस्था आउने उनले चेतावनी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।