वीरेन्द्रनगर मेयर उम्मेदवार गिरीको वाचा - सेवा-सुविधा नलिई जनताको काम गर्छु

वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदका उम्मेदवार मुकुन्दश्याम गिरीले वीरेन्द्रनगरवासीको सेवाका लागि आफूले उम्मेदवारी दिएको बताउँदै जनताले निर्वाचित गराए पारिश्रमिक नलिएरै काम गर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट उम्मेदवार रहेका उनले जनताको सेवाको लागि उम्मेदवारी दिएको बताउँदै जनताको मतले विजयी हुनेमा ढुक्क रहेको बताए । 

निर्वाचित भएपछि आफूले नगरप्रमुखका हैसियतले कुनै पनि सेवा-सुविधाबापतको रकम नलिने उनले घोषणा गरे । वीरेन्द्रनगरमा चुनावी घरदैलो कार्यक्रममा रहेका उनले नागरिकसँग मत माग्दै गर्दा यस्तो वाचा गरेका हुन् ।

उनले भने, ‘म नागरिकको सेवाको लागि आएको हुँ । नागरिकको मतको कदर गर्दै नगरप्रमुखका हैसियतले पाउने सम्पूर्ण सेवा-सुविधाबापतको रकम नलिएरै सेवा गर्ने वाचा गर्दछु । तपाईंहरूको अमूल्य मतले विजयी गराइदिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’

वीरेन्द्रनगरमा राप्रपाले १२ कक्षासम्म निःशुल्क शिक्षालगायतको चुनावी संकल्प जारी गरेको छ । यसका साथै सुत्केरी महिलालाई तीन महिनासम्म मासिक तीन हजारका दरले सुत्केरीभत्ता दिने तथा सुर्खेत विमानस्थल विस्तार गर्ने राप्रपाको संकल्प छ ।

गिरी २०२९ सालदेखि राप्रपाको विद्यार्थी संगठनमा आवद्ध भएर राजनीतिमा प्रवेश गरेका हुन् । स्नातकसम्म अध्ययन गरेका गिरी २०३२ सालमा राप्रपाको विद्यार्थी संगठनको केन्द्रीय सदस्य र २०३४ मा केन्द्रीय उपाध्यक्ष भएका थिए ।



२०४३ मा लाटीकोइली गाउँ प्रधानपञ्च निर्वाचित भएका उनीसँग पञ्चायत व्यवस्थाको अन्त्यपछि राप्रपा जिल्ला कार्यसमिति सुर्खेतको सचीव भएर १० वर्ष काम गरेको अनुभव छ । 

तत्कालीन राप्रपा नेपालको केन्द्रीय समिति सह–महामन्त्री तथा राप्रपा एकीकरणपछि केन्द्रिय निर्देशन समितिको सदस्य तथा पछिल्लो अधिवेशनपछि उनी राप्रपाको केन्द्रीय समिति उपाध्यक्ष हुन् ।



तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनका बेला २०६१ मा गिरी वीरेन्द्रनगर नगरपालिकाको प्रमुख बनेका थिए ।

  • प्रकाशित मिति : वैशाख २३, २०७९ शुक्रबार १९:२१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया