logo-img

मौन अवधिमा भोट माग्दै हिँड्ने रतुवामाईका मेयर रविन राईलाई स्थानीयले लखेटे [भिडियो]
मौन अवधिमा भोट माग्दै हिँड्न पाइँदैन : स्थानीय, मेयर राईको धम्की- आएँ त के गर्छौं

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितअनुसार स्थानीय कार्यपालिका र सोका सदस्यलाई पनि कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्नसमेत रोक लगाएको छ । 

त्यस्तै, आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन नहुने भनेको छ । 

तर, मौन अवधि जारी रहेको समयमा पनि मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई भने सरकारी स्रोत, सधान र सम्पत्तिको दुरुपयोग गरि लगातार निर्वाचन आचारसंहिताको धज्जी उडाइरहेका छन् । 

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मेयर राईले निर्वाचन आयोगलाई समेत चुनौती दिँदै लगातार आचारसंहिता उल्लंघन स्थानीयको आरोप छ । तर, निर्वाचन आयोगले हालसम्म उनीविरुद्ध कुनै ‘एक्सन’ लिएको छैन ।  

मेयर राईले नगरपालिका स्रोत, साधन र गाडीसमेत दुरुपयोग गर्दै मौन अवधि जारी रहेको समयमा पनि नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्दै हिँडेको पाइएको हो ।

मंगलबार मध्यरातिदेखि स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि लागू हुने मौन अवधि मंगलबार राति १२ बजेदेखि सुरु भएको हो । यो अवधिमा कुनै पनि उम्मेदवारको पक्षमा प्रचारप्रसार वा लविङ गर्न पाइँदैन । 



मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही गर्न सक्ने निर्वाचन आयोगलाई अधिकार छ । 

तर, रतुवामाईका मेयर राई भने आफूले मत माग्न पाउने भन्दै रातिराति टोलबस्तीमा पुगेको पाइएको हो । उनी बुधबार राति कांग्रेसका मेयर उम्मेदवार नागेश्वर सिंहको पक्षमा मत माग्दै हिँडेको भिडियोसमेत सार्वजनिक भएको छ । 



मंगलबार राति १२ बजेबाट सुरु भएको मौन अवधि ३० गते हुने स्थानीय निर्वाचनसम्म लागू हुने भए पनि मतदातालाई प्रभावमा पार्न आचारसंहिताविपरीत जनप्रतिनिधि नै भोट माग्दै हिँडेको भिडियो सार्वजनिक भएको हो ।

मेयर राई बिहीबार राति ५ नम्बर वडामा भोट माग्दै हिँडेका हुन् । त्यस क्रममा स्थानीयसँग मेयर राईको वादविवादसमेत भएको थियो ।

विवाद चर्कँदै गएपछि मेयर राईले स्थानीयलाई उल्टै धम्की दिएपछि स्थानीयले लखेटेका छन् । ‘के गर्न सक्छौ गर...’ भन्दै धम्की दिएपछि स्थानीयले सो स्थानबाट लखेटेका हुन् । राईले आफ्नो पदीय जिम्मेवारीको ख्यालसमेत नगरी  मत माग्न स्थानीयको घरघरमा पुगेको हुन् । 

राईले आफ्नै पार्टीका क्रियाशील सदस्यको घरमा भेला भएर भोट माग्दा आचारसंहिताविपरीत नहुने दाबी गरिरहेको देखिन्छ । उनले अरुले पनि आचारसंहिताविपरीत कार्य गरिरहेकाले आफूहरूले गर्दा केही नहुने पनि बताएका छन् ।

तपाईंले नै नियमविपरीत यस्तो काम गर्न मिल्छ ? भन्ने स्थानीयको प्रश्नमा धम्क्याउँदै राई भिडियोमा भनेका छन्,‘तिमीहरुलाई जवाफ दिनुपर्छ भन्ने छैन । आएँ त के गर्छौँ ? तिमीलाई सबै कुरा भन्नुपर्छ भन्ने छैन, के सोध्नु छ नगरपालिका आऊ...।’ 

सोही क्रममा एक जना कांग्रेसका कार्यकर्ताले स्थानीयलाई हात हाल्ने प्रयास गर्दा विवाद थप चर्किएको थियो । मेयरसहित कांग्रेस कार्यकर्ताको समूहले उल्टै धम्की दिएपछि उनीहरुलाई स्थानीयले लखेटेका थिए । 

मेयर राई मौन अवधि सुरु हुनअघि समेत लगातार आचारसंहिताविपरीत कांग्रेस उम्मेदवारको प्रचारप्रसारसहित मत माग्न हिँडिरहेका थिए । 

उनकै निर्देशनमा उपभोक्ता समिति गठन गरि विभिन्न स्थानमा कांग्रेस उम्मेदवारको पक्षमा मत माग्दै कच्ची सडकमा गिट्टी झारिएको थियो । 

यसरी लगातार निर्वाचन अयोगलाई नै चुनौती दिँदै आचारसंहितविपरीत काम गर्दै आएपछि मेयर राईलाई कारबाही गर्न विपक्षी दलहरुले माग गरेका छन् । 

यता प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कस्यप अधिकारीले मेयर राईले आचारसंहिता उल्लंघन गरेको पुष्टि भए नियम अनुसार कारबाही हुने दाबी गरे । 

‘हामी यो विषयमा तत्काल छानविन गर्छौँ’ उनले फरकधारसँग भने,‘त्यहाँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत कारबाही अगाडि बढ्छ ।’

उता, मुख्य निर्वाचन अधिकृतको कार्यालय रतुवामाईका प्रमुख राजु अधिकारीले मेयर राईका विषयमा उजुरी आइसकेकाले कानुनबमोजिम प्रक्रिया अघि बढ्ने बताएका छन् । 

भिडियो

  • प्रकाशित मिति : वैशाख २९, २०७९ बिहीबार १६:४७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया