मकवानपुरको ४ स्थानीय तहमा सकियो मतगणना, को–को चुनिए ?

स्थानीय तहका लागि वैशाख ३० गते भएको मतदानको अहिले मतगणना भइरहेको छ । मकवानपुरको १० स्थानीय तहमध्ये ४ वटा गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । 

जिल्लाको इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाको मतगणना सकिएको छ । बाँकी ६ वटा पालिकाको मतगणना कार्य भइरहेको छ । 

कुन पालिकामा कसको जित ?

इन्द्रसरोवर 
जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । इन्द्रसरोवर गाउँपालिकामा एमालेका देवकृष्ण पुडासैनी विजयी भएका हुन् । इन्द्रसरोवर गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । इन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७ सय २२ मत ल्याएर जित हात पारेका हुन् । कांग्रेसका विश्व लामा ३ हजार ४ सय ७२ मत पाएर पराजित भए । निवर्तमान अध्यक्ष समेत रहेका एकीकृत समाजवादीका जीवन लामाले ४ सय ७९ मत ल्याएका थिए ।

उपाध्यक्षमा पनि एमालेकै उमाकुमारी लामाले जित हासिल गरेकी छन् । उनी ३ हजार ७ सय २५ मत पाएर विजयी भएकी हुन् । कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६ सय ५६ मत ल्याएर हार बेहोरेकी हुन् ।

भीमफेदी 
मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । उनले पाँचदलीय गठबन्धनको तर्फबाट माओवादीका अध्यक्ष उम्मेद्वार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हन् । 



लामा ५ हजार ५ सय ९१ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्याङ्तानले ५ हजार २ सय ९ मत प्राप्त गरेका थिए । 

उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार सञ्जीव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५ हजार ३ सय १५ मत प्राप्त गरे । एमालेकी पार्वती राना १६ मतान्तरले पराजित भएकी छन् । 
भीमफेदीका नवनिर्वाचित अध्यक्ष लामा सोही पालिकाको निवर्तमान अध्यक्षसमेत हन् ।



कैलाश
जिल्लाको कैलाश गाउँपालिकामा गठबन्धनका अध्यक्ष पदका उम्मेदवारले जीत हासिल गरेका छन् । मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्षमा लोकबहादुर मोक्तान निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मोक्तानले ४ हजार ८ सय ९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरेन्द्र रिजालले ४ हजार ९३ मत मात्र प्राप्त गरेका थिए । 

यस्तै, गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र)का  बालकुमार मल्ल विजयी भएका हुन् । उनले ४ हजार ८८ मत प्राप्त गरेर उपाध्यक्ष पदमा जित हासिल गरेका हुन् । त्यस्तै, उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सुकुमाया थिङले ३ हजार ९ सय ३७ मत प्राप्त गरेर हार बेहोरेकी थिइन् ।

राक्सिराङ
मकवानपुरको राक्सिराङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजकुमार मल्ल ५ हजार ४ सय ८१ मत सहित विजयी भएका हुन् । 
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बाबुलाल स्याङ्तानले ४ हजार ५ सय ७२ मत प्राप्त गरेर पराजित हुन् ।

उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका बनस्तम थिङ निर्वाचित भएका छन् । थिङले ४ हजार ८ सय ३९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १ सय २९ मत प्राप्त गरेर पराजित भएकी हुन् ।

  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार २१:३२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया