दार्चुलामा कांग्रेस, डडेल्धुरामा एमाले र बाजुरामा माओवादी केन्द्र शून्य

स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएकामध्ये सुदूरपश्चिमका तीन जिल्लामा प्रमुख तीन दल शून्यमा झरेका छन् ।

नेपाली कांग्रेस दार्चुलामा, नेकपा एमाले डडेल्धुरा र नेकपा माओवादी केन्द्र बाजुरामा शून्य भएका हुन् । ९ पालिका रहेको दार्चुलामा नेकपा एमालले ५ र नेकपा माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको छ । दार्चुलामा नेपाली कांग्रेसले ३ उपप्रमुख पद जितेको छ ।

दार्चुलामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको थियो । नेपाली कांग्रेसले २०७४ मा जितेको दार्चुला सदरमुकाम रहेको महाकाली नगरपालिकामा यसपटक नेकपा एमालेले जित हासिल गरेको छ । 

दार्चुलामा महाकाली नगरपालिकासहित दुहुँ गाउँपालिका, ब्यास गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा नेकपा एमालले जित हासिल गरेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले दार्चुलाको लेकम गाउँपालिका, मार्मा गाउँपालिका, नौगाढ गाउँपालिका र अपिहिमाल गाउँपालिकामा जित हात पारेको छ । 

दार्चुला नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुको गृहजिल्ला हो । 

यसैगरी, नेकपा एमाले डडेल्धुरामा शून्य भएको छ । ०७४ को निर्वाचनमा डडेल्धुरा सदरमुकामसमेत रहेको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो । 



तर, यसपटक भने डडेल्धुरामा एमालेले केही वडामा मात्रै चित्त बुझाउनुपरेको छ । डडेल्धुराका ७ पालिकामध्ये ५ मा नेपाली कांग्रेस र २ पालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । डडेल्धुरा जिल्ला प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । 

जहाँ सदरमुकाम रहेको अमरगढी नगरपालिकासहित गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, पर्शुराम नगरपालिका र  भागेश्वर गाउँपालिकामा कांग्रेस विजयी भएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका र आलिताल गाउँपालिकामा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । 



सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा नेकपा माओवादी केन्द्र शून्यमा झरेको छ । ९ पालिका रहेको बाजुरामा अहिलेसम्म ७ पालिकाको अन्तिम मत परिणाम आएको छ । तीमध्ये ४ मा नेकपा एमाले र ३ पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ७ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रले उपप्रमुखसमेत जित्न सकेको छैन ।

बाजुरामा अन्तिम मत परिणाम आएकामध्ये ४ पालिकामा एमाले विजयी भएको छ । गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, जगन्नाथ गाउँपालिका र बडिमालिका नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

त्यसैगरी, बाजुराका ३ पालिकामा नेपाली कांग्रेसले नेतृत्व हात पारेको छ । कांग्रेसले हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र त्रिवेणि नगरपालिकामा जित हात पारेको छ । 

बाजुराका बाँकी २ पालिकामध्ये अहिले बुढीनन्दा नगरपाकिलामा मतगणना जारी रहेको छ । सो पालिकामा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा छ । त्यसैगरी, बुढिगंगा नगरपालिकामा विवादका कारण मतदान नै हुन सकेको छैन । बुढिगंगा नगरपालिकामा पनि नेकपा आमोवादी केन्द्र कमजोर अवस्थामा छ । सो पालिकामा ०७४ को निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको थियो ।

एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले भने दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बाजुरा र अछाममा खाता खोल्न सकेको छैन । कैलाली, कञ्चनपुर र बझाङका केही पालिकामा भने मतगणना जारी छ । नेकपा एसले बझाङ र कैलाली एक–एक पालिकामा अग्रता लिएको छ ।
 

  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १८:५७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया